जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताउनुभएको छ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानको मूल मर्मअनुसार प्रदेश तहमा प्रहरी प्रशासनसम्बन्धी अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितका नौबुँदे राष्ट्रिय सूत्रलाई नेपालको राजनीतिको मूल मन्त्र बनाउनुपर्ने उहाँको भनाइ छ।
नेता निधिले संविधानको प्रभावकारी कार्यान्वयनबाट मात्रै जनताको अधिकार सुरक्षित हुने र संघीयता संस्थागत हुने बताउनुभयो। उहाँले कार्यकर्ताहरूलाई आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै २०८७ सालको आम निर्वाचनअघि नै स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी गर्न आग्रह गर्नुभयो।
स्थानीय तहमा भइरहेको विकास निर्माण तथा बजेट विनियोजनको अधिकारले संघीयताको सार्थकता पुष्टि गरिरहेको उहाँले जिकिर गर्नुभयो। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रेस स्वतन्त्रता तथा नागरिक सचेतना आवश्यक रहेको पनि उहाँले बताउनुभयो।
निधिले भन्नुभयो, “हामीले लोकतन्त्रको रक्षाका लागि अघि सारेको नौबुँदे राष्ट्रिय सूत्र नै विवाद र समस्या समाधानको अचुक उपाय हो। भारतजस्तो छिमेकी मुलुकमा जस्तै नेपालमा पनि केन्द्रीय प्रहरी र प्रदेश प्रहरीबीच स्पष्ट कार्यविभाजन हुनुपर्छ। संविधानले दिएको अधिकार कार्यान्वयन गराउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बेला आएको छ।”
विशेषगरी मधेस प्रदेशमा प्रहरी प्रशासन हस्तान्तरणमा भइरहेको ढिलाइप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। संविधानले प्रदेशको आफ्नै प्रहरी संगठन हुने व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन नसक्नु दुःखद् भएको उहाँको टिप्पणी छ।
धर्मनिरपेक्षताबारे गलत व्याख्या गरेर भ्रम सिर्जना गर्नेहरूबाट सचेत रहन आग्रह गर्दै निधिले धार्मिक स्वतन्त्रता सबैको साझा मान्यता हुनुपर्ने बताउनुभयो। संविधानको मर्मअनुसार सबै नागरिकको धार्मिक स्वतन्त्रताको सम्मान गर्दै अघि बढ्नुपर्ने उहाँको धारणा छ।







तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त
नागरिकको विश्वास नै प्रहरीको वास्तविक
यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल