काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने सार्वजनिक चर्चालाई निराधार भन्दै खारेज गर्नुभएको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीको शीर्ष नेतृत्वबीच कुनै प्रकारको मनमुटाव नरहेको स्पष्ट पार्नुभएको हो।
पछिल्ला केही दिनयता एमालेभित्र अध्यक्ष ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजी भइरहेका थिए। बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै ओलीले त्यस्ता चर्चामा रत्तिभर सत्यता नरहेको दाबी गर्नुभयो।
महासचिव पोखरेलले अध्यक्षको फोनसमेत नउठाएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा ओलीले त्यस्तो विषयलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, “बिल्कुलै सत्यता छैन। उहाँले फोनसमेत उठाउनुभएन भन्ने कुरा पनि सुनियो। तर यस्ता कुरालाई अनावश्यक रूपमा विवादको विषय बनाउनु उचित हुँदैन। उहाँसँग मेरो कुनै मनमुटाव छैन। फोन उठाउनुभएन भन्ने कुरालाई मात्रै आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन। राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन।”
अध्यक्ष ओलीले पार्टी सञ्चालन र नीतिगत विषयमा शीर्ष नेतृत्वबीच निरन्तर समन्वय तथा सौहार्दपूर्ण संवाद कायम रहेको पनि उल्लेख गर्नुभयो।







आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा