ललितपुर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै असमझदारी नरहेको स्पष्ट पार्नुभएको छ। उहाँले नेतृत्वबीच मतभेद रहेको भन्दै बाहिर आएका टिप्पणी प्रायोजित भएको हुन सक्ने बताउनुभयो।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक समापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता विश्वकर्माले पार्टी नेतृत्व पूर्ण संवाद र समझदारीका साथ अघि बढिरहेको बताउनुभयो।
शीर्ष नेता र पदाधिकारीहरू निरन्तर संवादमा रहेको उल्लेख गर्दै उहाँले कुनै विषयमा बुझाइको भिन्नता भए पनि छलफलबाटै त्यसलाई स्पष्ट पार्न सकिने बताउनुभयो। नेतृत्वबीच मतभेद रहेको भन्ने भ्रममा नपर्न उहाँले आग्रहसमेत गर्नुभयो।
नेता विश्वकर्माका अनुसार तीन दिनसम्म चलेको स्थायी कमिटी बैठकले विधानले तोकेको सीमाभित्र रहेर केन्द्रीय कमिटीमा १२ जना सदस्य मनोनयन गर्ने निर्णय गरेको छ। मनोनयन गरिएका सदस्यमा समावेशी सन्तुलन कायम गर्दै ६ जना महिला र ६ जना पुरुष रहेका छन्। अन्य दल परित्याग गरी एमालेमा समाहित हुनुभएका धर्मनाथप्रसाद साहलाई पनि केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो।
बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्ययोजनाबारे छलफल भएको उहाँले बताउनुभयो। वडा अधिवेशन, पालिका अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने पूर्वतयारीका विषयमा छलफल गरी आवश्यक निष्कर्ष निकालिएको उहाँको भनाइ छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएका सांगठनिक प्रस्तावमाथि छलफल गरी सर्वसम्मत निर्णय गरिएको पनि नेता विश्वकर्माले बताउनुभयो।
उहाँले भन्नुभयो, “स्थायी कमिटीको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ। आजको बैठकबाट केन्द्रीय कमिटीमा मनोनयन गर्नुपर्ने ६ जना महिला र ६ जना पुरुष गरी १२ जना सदस्यको मनोनयन सर्वसम्मतिले निर्णय गरेका छौँ। उहाँहरूको नाम प्रवक्ताले सार्वजनिक गरिसक्नुभएको छ। अर्को पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका धर्मनाथप्रसाद साह पनि केन्द्रीय कमिटीमा जोडिनुभएको छ।”
बैठकमा वडा अधिवेशन, राष्ट्रिय कार्यकर्ता भेला र पालिका अधिवेशनलगायतका विषयमा छलफल भएको उल्लेख गर्दै उहाँले बाँकी विषयमा छलफल गर्न अध्यक्षले उपयुक्त समयमा पुनः बैठक बोलाउने जानकारी दिनुभयो।
“हामी समझदारी र सर्वसम्मतिका आधारमा निर्णय गर्दै अघि बढ्नेछौँ। पदाधिकारी र स्थायी कमिटीका नेताहरू विभिन्न विषयमा निरन्तर सम्पर्क र संवादमा हुनुहुन्छ। नेतृत्वबीच छलफल र विमर्शबाटै निर्णयहरू अघि बढ्ने हुन्। कतै बुझाइमा एकरूपता नभए पनि संवादबाटै त्यसलाई स्पष्ट पार्न सकिन्छ,” उहाँले भन्नुभयो।
नेता विश्वकर्माले एमाले नेतृत्वबीच मतभेद रहेको भन्ने विषयलाई प्रायोजित रूपमा अघि सारिएको हुन सक्ने आफ्नो बुझाइ रहेको पनि बताउनुभयो।
स्थायी कमिटीको बैठक तत्कालका लागि सम्पन्न भए पनि पार्टीको आवश्यकता र उपयुक्त समयलाई ध्यानमा राखेर अध्यक्ष ओलीले अर्को बैठक आह्वान गर्ने उहाँले जानकारी दिनुभयो। आगामी बैठकबाट बाँकी सांगठनिक कार्यसूची तथा जिम्मेवारी बाँडफाँटसम्बन्धी विषय टुंगो लगाइने उहाँको भनाइ छ।







यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले