नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले निजामती प्रशासन स्थायी सरकार भएकाले कानुन र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो। तर सरकारले प्रशासनलाई मन्त्रीहरूको निर्देशन पालना गर्ने निकायका रूपमा मात्रै अघि बढाउन खोजेको उहाँको आरोप छ।
कानुन कार्यान्वयन गर्ने कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रीहरूले अनावश्यक निर्देशन पालना गर्न दबाब दिइरहेको उहाँले बताउनुभयो। यसले राज्यको शासकीय क्षमता कमजोर बनाउने उहाँको दाबी छ।
महासचिव पोखरेलले सरकारले निजामती कर्मचारीको अवकाश उमेर ५५ वर्ष कायम गर्ने गरी कानुनको मस्यौदा अघि बढाएर प्रशासनमा अन्योल सिर्जना गरेको आरोप पनि लगाउनुभयो। औसत आयु बढिरहेको अवस्थामा अवकाश उमेर घटाउने प्रस्ताव उपयुक्त नभएको उहाँको भनाइ छ।
उहाँका अनुसार अवकाशसम्बन्धी प्रस्ताव र भविष्यको अनिश्चितताका कारण कर्मचारी प्रशासनमा त्रासको वातावरण सिर्जना भएको छ। यही कारण वरिष्ठ कर्मचारीहरूले धमाधम राजीनामा दिन थालेको दाबी गर्दै उहाँले यसले राज्यको प्रशासनिक क्षमता कमजोर बनाउने बताउनुभयो।
उहाँले भन्नुभयो, “निजामती प्रशासनलाई कठपुतली बनाउने प्रयत्न भइरहेको छ, आदेशपालकका रूपमा। वास्तवमा निजामती प्रशासनलाई स्थायी सरकारका रूपमा बुझ्ने गरिन्छ। निजामती प्रशासन कानुनअनुसार चल्नुपर्दछ। तर सुरुमै प्रधानमन्त्रीले निजामती प्रशासनलाई हाम्रा मन्त्रीहरूलाई सिकाउनु पर्दैन, उनीहरूले भनेको काम गरे पुग्छ भन्ने प्रकारको ठाडो आदेश दिने खालको काम भइरहेको छ।”
महासचिव पोखरेलले कानुनअनुसार काम गर्नुपर्ने प्रशासनलाई मन्त्रीहरूको निर्देशन मान्न मात्रै दबाब दिनु उचित नभएको बताउनुभयो। उहाँले प्रशासनलाई कमजोर बनाउने उद्देश्यसहित अवकाश उमेर घटाउने गरी कानुनको मस्यौदा अघि बढाइएको आरोपसमेत लगाउनुभयो।
“औसत उमेर बढेर ७२ वर्ष पुगिसक्यो। ५५ वर्षमा मानिसलाई अवकाश दिने खालको कानुन मस्यौदा गरेर अगाडि बढ्न खोजिएको छ। अहिले कर्मचारी प्रशासनमा एक प्रकारको सन्त्रास मच्चिएको छ। भविष्य के हुने हो भन्ने अन्योलमा वरिष्ठ कर्मचारीहरूले धमाधम राजीनामा दिन थालेका छन्,” उहाँले भन्नुभयो।
प्रशासनिक क्षमता कमजोर हुँदा राज्यको शासकीय सामर्थ्यमा असर पर्ने उल्लेख गर्दै उहाँले राज्य कमजोर हुनु अन्ततः राष्ट्र कमजोर हुनु भएको बताउनुभयो।
महासचिव पोखरेलले निजामती प्रशासनलाई कानुनी व्यवस्था र संस्थागत मर्यादाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको