काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको कार्यशैलीमा आमूल परिवर्तन गर्दै नागरिकसँग टुटेको विश्वास पुनःस्थापित गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
१५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले कांग्रेसलाई इतिहासको गौरवमा मात्रै निर्भर नभई नयाँ युगअनुसार नागरिकको भरोसाको केन्द्र बनाउने घोषणा गर्नुभएको हो।
उहाँले पार्टीको संगठन सञ्चालन र कार्यशैलीमा तत्काल रूपान्तरण ल्याउने बताउनुभयो। विगतका कामप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट टाढिएका पूर्वसमर्थक, शुभचिन्तक तथा नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा जोड्नु आफ्नो प्राथमिकता हुने उहाँको भनाइ छ।
युवापुस्तालाई पार्टीतर्फ आकर्षित गर्न कांग्रेसको परम्परागत भाष्य र कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभापति थापाले पार्टीलाई युवा, किसान, उद्यमी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको आवाज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
किसानका मुद्दा उठाउने, उद्यमीलाई अवसरको प्रत्याभूति दिलाउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भविष्यप्रति भरोसा जगाउने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्ने उहाँले बताउनुभयो।
यस्तो रूपान्तरण भाषणबाट मात्रै सम्भव नहुने उल्लेख गर्दै थापाले पार्टीका हरेक तहका नेता–कार्यकर्ताको आचरण र कार्यशैलीमा व्यवहारमै परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “हामी आफ्नो काम गर्ने शैली बदल्नेछौँ। हामीसँग रहेका साथीहरूको विश्वास अझ बलियो बनाउनेछौँ। साथै, विगतमा नेपाली कांग्रेसलाई माया गरेर पनि हाम्रा कामप्रति असन्तुष्टि जनाउँदै टाढिनुभएका समर्थक र शुभचिन्तकहरूलाई पुनः पार्टीमा जोड्नेछौँ। कांग्रेसको कार्यालय र परिवार उहाँहरूलाई आफ्नै घरजस्तो लाग्ने वातावरण बनाउनेछौँ।”
कांग्रेसको गौरवशाली इतिहास भए पनि त्यसैको भरमा बस्न नहुने उहाँको भनाइ छ। “हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अघि बढ्नेछौँ,” उहाँले भन्नुभयो।
सभापति थापाले पार्टीमा जिम्मेवारी पाएका र नपाएका सबै नेता–कार्यकर्ताको समान महत्त्व रहेको उल्लेख गर्नुभयो। निर्वाचनमा पद प्राप्त गर्न नसकेका तथा महाधिवेशन प्रक्रियामा सहभागी नभएका साथीहरूलाई समेत समेटेर अघि बढ्ने उहाँले बताउनुभयो।
महाधिवेशनको प्रतिस्पर्धाबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र बृहत् एकताका लागि आह्वान गर्नुभयो। योग्य नेता–कार्यकर्ताले पद प्राप्त नगरेकै आधारमा उनीहरूको भूमिका र महत्त्व कम नहुने भन्दै उहाँले सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाउने प्रतिबद्धता जनाउनुभयो।
नागरिकसँग गुमेको विश्वास फर्काउनु नै आफ्नो नेतृत्वको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै थापाले त्यसका लागि पार्टीको कार्यशैलीमा परिवर्तन आजैबाट सुरु हुने बताउनुभयो।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं