ललितपुर । नेकपा (एमाले) ले पार्टीको विधानअनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयन कोटाबाट १३ जना नेतालाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य दलबाट एमाले प्रवेश गर्नुभएका एक जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी विधानअनुसार १० प्रतिशत मनोनयन प्रक्रिया पूरा भएको जानकारी दिनुभयो। उहाँका अनुसार मनोनयनमा विभिन्न भूगोल र पृष्ठभूमिका नेताहरूलाई समावेश गरिएको छ।
मनोनीत हुने महिलाहरूमा भोजपुरकी सृजना राई, रुपन्देहीकी सावित्रा अर्याल, कञ्चनपुरकी इन्दु कडरिया विष्ट, नवलपुरकी सीता पंगेनी, भारत प्रवासकी सीता अधिकारी र कास्कीकी डा. पुष्पा केसी भण्डारी रहनुभएको छ।
त्यसैगरी पुरुषतर्फ तेह्रथुमका तेजमान कन्दङ्वा, ताप्लेजुङका टंक आङ्बुहाङ, रोल्पाका नवीन रोका, स्याङ्जाका मीनप्रसाद गुरुङ, दोलखाका नवल पाण्डे र रुपन्देहीका तेजेन्द्र केसी मनोनीत हुनुभएको छ। अन्य दलबाट एमाले प्रवेश गर्नुभएका सिरहाका धर्मनाथप्रसाद साहलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरिएको छ।
उपमहासचिव भट्टले बैठकमा मनोनयनका अतिरिक्त सैद्धान्तिक, वैचारिक तथा राजनीतिक विषय र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिबारे विस्तृत छलफल भएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “आजको बैठकमा केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल भयो। महिलातर्फ ६ जना र पुरुषतर्फ ६ जना गरी १२ जना मनोनयन गर्ने निर्णय भएको छ। अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका धर्मनाथप्रसाद साह पनि केन्द्रीय कमिटीमा जोडिनुभएको छ।”
पार्टीका विभिन्न विभाग, मञ्च तथा समग्र कार्यविभाजनसम्बन्धी विषयमा आवश्यक गृहकार्य भइरहेको उल्लेख गर्दै उहाँले त्यसपछि स्थायी कमिटीको अर्को बैठकको मिति तय गरिने बताउनुभयो।
बैठकमा पार्टीभित्र विभिन्न विचार आउनु स्वाभाविक भएको उल्लेख गर्दै भट्टले छलफलपछि अध्यक्षले अन्तिम निर्णय गर्ने र त्यसको कार्यान्वयन हुने बताउनुभयो।
उहाँले पार्टीभित्र कुनै विवाद नरहेको दाबी गर्दै भन्नुभयो, “पार्टीभित्र विभिन्न विचार आउनु स्वाभाविक हो। ती विषयमा छलफल गरेर अध्यक्षले अन्तिम निर्णय सुनाउनुहुन्छ र त्यसको कार्यान्वयन हुन्छ। मलाई बैठकमा त्यस्तो केही भएको जस्तो लागेन। कुनै विवाद थिएन। स्थायी कमिटीका सदस्यहरू पनि सर्वसम्मतिबाट चयन भएका हुन् र आजको मनोनयनसम्बन्धी निर्णय पनि सर्वसम्मतिबाटै भएको हो।”
पत्रकारहरूको जिज्ञासामा उपमहासचिव भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच मनोनयनका विषयमा कुनै मतभेद नरहेको स्पष्ट पार्नुभयो। नेतृत्व परिवर्तन र गुटबन्दीबारे बाहिर आएका चर्चा तथ्यहीन रहेको उहाँको दाबी छ।
बैठकका निर्णयहरू सर्वसम्मत रूपमा पारित भएको उल्लेख गर्दै उहाँले पार्टीको सैद्धान्तिक तथा वैचारिक कार्यदिशा र सांगठनिक सुदृढीकरणका विषयमा छलफललाई निरन्तरता दिइने बताउनुभयो।






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब