काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको पुरानो इतिहासको ब्याज खाएर मात्रै अघि बढ्न नसकिने बताउनुभएको छ। उहाँले जनसरोकारका मुद्दा सम्बोधन गर्दै कांग्रेसलाई नागरिकको भरोसाको केन्द्र बनाउन नयाँ इतिहास रच्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको परम्परागत कार्यशैली परिवर्तन गर्दै पार्टी रूपान्तरणको अभियान आजैबाट सुरु गर्ने घोषणा गर्नुभएको हो।
कांग्रेसको गौरवशाली इतिहास भए पनि विगतको महिमामण्डन गरेर मात्रै बस्न नहुने उहाँको भनाइ छ। महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न तथा पार्टीलाई समयानुकूल बनाउन उपयोग गरिने उहाँले बताउनुभयो।
सभापति थापाले कांग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने पार्टीका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको गौरवशाली इतिहास छ। तर हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ। हामी यस्तो कांग्रेस बनाउनेछौँ, जसलाई किसानले आफ्नो आवाज उठाउने पार्टीका रूपमा, उद्यमीले गुमेको अवसर फर्काउने पार्टीका रूपमा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो परिवारको भरोसाका रूपमा चिनुन्।”
यस्तो पार्टी भाषणबाट नभई कामबाट निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “त्यसका लागि हाम्रो काम गर्ने शैली बदल्नुपर्छ, र त्यो परिवर्तन आजैबाट सुरु गर्नुपर्छ।”
थापाले पार्टीको पुनःसंरचना र नागरिकको विश्वास पुनःआर्जन मौखिक प्रतिबद्धताले मात्रै सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आचरण र कार्यशैलीमा सुधार ल्याउँदै कामबाट परिणाम देखाउन आग्रह गर्नुभयो।
कांग्रेसलाई आम नागरिकको भरोसाको केन्द्र बनाउन पार्टी सञ्चालनका हरेक कार्यपद्धतिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सभापति थापाले १५औँ महाधिवेशनबाट प्राप्त जनमतलाई मुलुक र जनताको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :