भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विकास र समृद्धिका लागि पत्रकारिता तथ्यमा आधारित, निष्पक्ष र खोजमूलक हुनुपर्ने बताउनुभएको छ। गुगलमा उपलब्ध सूचनामा मात्र भर नपरी घटनास्थलमै पुगेर वास्तविकता बुझ्न आग्रह गर्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र जनताका वास्तविक समस्या बाहिर ल्याउने भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो।
क्रियाशील पत्रकार मञ्च भक्तपुरको १६औँ वार्षिक साधारण सभा, छैटौँ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री थापामगरले प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्य चिर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले संघीय सरकार र स्थानीय तहसँगको समन्वयमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढिरहेको जानकारी दिनुभयो। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो।
तीनै तहका सरकारबीच समन्वय र सहकार्यबाट मात्रै विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।
मुख्यमन्त्री थापामगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकको घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको दाबी गर्नुभयो। भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
विकासमा स्थानीय तहको भूमिका
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पत्रकारिता दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्ने माध्यम बन्नुपर्ने बताउनुभयो। समाचार संकलन र लेखनमा तथ्यको सत्यापन तथा निष्पक्षतालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पछिल्लो १० वर्षमा सूर्यविनायक नगरपालिकाले विकासका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभयो।
स्थानीय तहको विकासमा पुर्याएको योगदानको कदर गर्दै मञ्चले नगरप्रमुख थापालाई सम्मान गरेको थियो। यसैगरी भक्तपुर अस्पतालको विकास तथा बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि योगदान पुर्याएको भन्दै प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको थियो।
पत्रकारलाई स्वास्थ्य उपचारको व्यवस्था
कार्यक्रममा स्वास्थ्य सचिव डा. गौतमले बागमती प्रदेशले पत्रकारका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको जानकारी दिनुभयो। त्यसका लागि नेपाल पत्रकार महासंघको सिफारिस आवश्यक पर्ने उहाँले बताउनुभयो।
मञ्चले भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका अग्रज पत्रकार तथा नयाँ पत्रिका दैनिकमा कार्यरत टेकराज थामीलाई मरणोपरान्त क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नगद पाँच हजार रुपैयाँसहितको पुरस्कार उहाँकी पत्नी तथा पत्रकार कालिका खड्कालाई हस्तान्तरण गरिएको थियो।
त्यसैगरी कान्तिपुर टेलिभिजनमा कार्यरत तथा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई स्व. लक्ष्मीमाया कासिछ्वा क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। उहाँलाई पनि नगद पाँच हजार रुपैयाँ प्रदान गरिएको थियो।






एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग
सिद्धार्थ बैंकको मोबाइल एपमा ‘एनपीएल
बागलुङमा बोलेरोको ठक्करबाट चार वर्षीय
बहसमा बेनी बजार : सदरमुकाम
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता,
बडादशैँ २०८३ को शुभकामना