काठमाडौं । एसियाडमा नेपालले करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीमार्फत् दुईवटा कांस्य पदकमात्र जित्न सफल भयो । यससँगै ४५ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल पदक तालिकाको ३६औँ स्थानमा सीमित भयो । पहिलोपटक स्वर्ण जित्ने र दोहोरो अंकमा पदक ल्याउने लक्ष्यसहित अगाडि बढेको ‘मिसन २०२६’ यसपटक पूर्ण रूपमा असफल साबित भएको छ ।
यसपटक नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गरे पनि अधिकांश खेलमा प्रदर्शन निकै कमजोर रह्यो । करातेमा एरिका गुरुङलगायतबाट उच्च आशा राखिए पनि उनीहरू पदकविहीन बने । बक्सिङ, उसु र जुडोजस्ता खेलहरूबाट ठूलो निराशा हात लाग्यो भने केही खेलमा नयाँ राष्ट्रिय कीर्तिमान बन्नुबाहेक समग्र नतिजा फितलो नै रह्यो ।
एसियाडमा देखिएको यो कमजोरी केवल खेलाडीको क्षमताको अभाव नभई समग्र खेल प्रणालीको त्रुटि रहेको विश्लेषकहरूको ठहर छ । ठूला प्रतियोगिताका लागि गरिने तयारी कागजी योजनामै सीमित रह्यो र बजेट अभाव तथा ढिलासुस्तीको समस्या दोहोरिरह्यो । एसियालीस्तरका खेलाडीसँग निरन्तर प्रतिस्पर्धा गर्ने अवसरको अभावले गर्दा नेपाली खेलाडीहरू दबाबमा पर्ने गरेका छन् ।
यसैबीच, सरकारले २०औँ एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली खेलकुदमा पदक जितेका खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो ।
जसअनुसार २०औँ एसियन गेम्समा कांस्य पदक जितेका कराते खेलाडी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरिनेछ । खेलकुद विकास नियमावलीअनुसार एसियन गेम्सको व्यक्तिगत प्रतिस्पर्धामा कांस्य पदक जित्ने खेलाडीले १३ लाख रुपैयाँको आधा र उनका प्रशिक्षकले दुई लाख ६० हजार रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ । त्यस्तै, सामूहिक प्रतिस्पर्धामा कांस्य पदक जित्ने खेलाडीले जनही तीन लाख ९० हजार रुपैयाँ र प्रशिक्षकले दुई लाख ६० हजार रुपैयाँ पाउने व्यवस्था छ । सोझै सहभागी हुने खेलकुद प्रतियोगिताहरूको हकमा उल्लिखित रकमको आधा पुरस्कार रकमको व्यवस्था गर्ने भनिएकाले आधा रकम पुरस्कार दिइने जनाइएको छ ।
यसअनुसार करातेका तेन्जिङ शेर्पाले १३ लाख रुपैयाँको आधा ६ लाख ५० हजार रुपैयाँ तथा उहाँका प्रशिक्षकले एक लाख ३० हजार रुपैयाँ पाउनेछन् । महिला कबड्डी टोलीका खेलाडीले जनही एक लाख ९५ हजार रुपैयाँ र प्रशिक्षकले एक लाख ३० हजार रुपैयाँ पाउनेछन् । सहायक प्रशिक्षक एवं व्यवस्थापकलाई एक लाख ३० हजार पुरस्कार दिने व्यवस्था छ ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :