काठमाडौं । नेपालमा रग्बी खेलको विकास तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दुईवर्षे ‘एभरेष्ट रग्बी लेगेसी’ अभियान घोषणा गरिएको छ । हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट (एचएसएम) अन्तर्गतको ‘प्ले रग्बी नेपाल’ले नेपाल रग्बी संघसँगको सहकार्यमा सन् २०२६ नोभेम्बरदेखि २०२८ अप्रिलसम्म सञ्चालन गर्ने गरी अभियान सार्वजनिक गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टका अध्यक्ष विनोद तामाङले अभियान घोषणा गर्नुभएको थियो भने बागमती प्रदेशका आर्थिक मामिलामन्त्री सरल सहयात्रीले उद्घाटन गर्नुभएको थियो ।
तीन चरणमा सञ्चालन हुने अभियानमार्फत्् सातै प्रदेशमा रग्बीको पहुँच विस्तार गर्ने, निरन्तर रग्बी खेलेर विश्व कीर्तिमान कायम गर्ने तथा सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी-वान रग्बी आयोजना गर्ने लक्ष्य राखिएको छ ।
अभियानको पहिलो चरणमा ‘सात प्रदेश, सात अभियान’ नारासहित देशव्यापी रग्बी यात्रा सञ्चालन गरिनेछ । यसअन्तर्गत प्रत्येक प्रदेशमा दुईदिने रग्बी तथा सामुदायिक महोत्सव आयोजना गर्ने आयोजकको योजना छ ।
प्रदेशअनुसार फरक विषयलाई प्राथमिकता दिएर सञ्चालन गरिने अभियानमा मधेसमा लैंगिक समानता तथा महिला रग्बी, लुम्बिनीमा शान्ति तथा पर्यटन, गण्डकीमा हरित रग्बी तथा जिम्मेवार पर्यटन, कर्णालीमा जलवायु कार्य, कोशीमा युवा नेतृत्व, सुदूरपश्चिममा प्रकृति तथा जैविक विविधता र बागमतीमा राष्ट्रिय एकता तथा रग्बीको दीर्घकालीन विरासतलाई जोड दिइनेछ ।
दोस्रो चरणमा प्रदेशस्तरमा सञ्चालित अभियानलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य राखिएको छ । यस चरणअन्तर्गत सन् २०२७ अप्रिलमा सबैभन्दा लामो समयसम्म निरन्तर रग्बी खेल सञ्चालन गरी विश्व कीर्तिमान कायम गर्ने योजना आयोजकले बनाएको छ ।
त्यसैगरी, तेस्रो चरणमा सन् २०२८ अप्रिलमा सगरमाथा क्षेत्रमा उच्च हिमाली उचाइमा टी-वान रग्बी प्रतियोगिता आयोजना गरिनेछ । उक्त प्रतियोगितामार्फत् गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने लक्ष्यसमेत राखिएको छ ।
अभियानले रग्बी खेलको प्रवर्द्धनमा मात्र सीमित नभई युवा सशक्तीकरण, महिला सहभागिता, पर्यटन विकास, सांस्कृतिक आदानप्रदान, जलवायु कार्य तथा वातावरणीय सचेतनालाई समेत प्राथमिकता दिने अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार अभियानले नेपाललाई जिम्मेवार साहसिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
अभियान घोषणा कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, एसिया रग्बीका उपाध्यक्ष तथा राखेपका पूर्वसदस्य-सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा, अष्ट्रेलियाका कार्यवाहक राजदूत ग्रेग क्लेवन, कर्णाली प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष प्रमोद हमाल तथा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्कीलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी अधिकारीहरूले अभियानको सफल कार्यान्वयनका लागि सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?