‘फूलको सपना’ साहित्यकार विष्णु केसीको पुस्तक हो । विधागत रूपमा यो हाइकुसङ्ग्रह हो । शब्दार्थ प्रकाशन चाबहिल काठमाडौँ प्रकाशक भएको यस पुस्तक सानो स्ट्यान्डर्ड साइज भनिने पकेट साइजमा प्रकाशित भएको छ । पुस्तकको आवरण कलात्मक छ र बीचमा शीर्षक अनुकूलको चित्राङ्कन गरिएको अर्थात् यहाँ फुलेका फूलहरू देखाइएको छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक छ भने तल हाइकुकार केसीको नाम अङ्कित छ । पृष्ठावरणमा लेखकको फोटो र भूमिकाकार डा.शैलेन्दुप्रकाश नेपालको भनाइ राखिएको छ । यसै पृष्ठमा प्रकाशक संस्थाको नाम, लोगो राखिएको छ । प्रथम संस्करणका रूपमा २०८२ सालमा प्रकाशित भएको यो पुस्तक १००० प्रति प्रकाशित भएको जनाइएको छ ।
सर्वाधिकार लेखकमा छ भने डिजाइन समन श्रेष्ठले गर्नुभएको छ । टचटोन प्रिन्टिङ प्रेस प्रालिमा मुद्रण भएको यस पुस्तकमा भूमिकाखण्ड र पाठ्यखण्ड गरी १३२ पृष्ठ छन् । पुस्तकको मूल्य ३०० रुपैयाँ राखिएको छ । हाइकु जापानको मौलिक विधा मानिन्छ र नेपालमा पछि आएर प्रचलनमा रहेको हो भनिन्छ तर कतिपय हाइकुकारले यो नेपालको मौलिक विधा हो भनेर दाबी गरेका पनि छन् । यसमा अनुप्रासमेत मिलाएर नाम परिवर्तन गरी सुसेली भन्ने गरेका छन् । सुसेली हाइकुअन्तर्गनको विधा हो अथवा नेपालको छुट्टै मौलिक विधा हो भन्ने तर्कवितर्कता रहला तर जे भए पनि सुसेलीको मान्यता दिनेहरूले ‘नमः शिवाय, ओम नमो भगवते, वासुदेवाय’ जस्ता हाम्रा वैदिक मन्त्रहरूलाई हाइकुकै समानस्तरमा राखेर यो हाम्रो मौलिक विधा हो भन्ने दाबी गरेका छन् ।
यसको निवारण भोलिका दिनहरूमा हुँदैजाला तर हाइकुमा भने अनुप्रास हुँदैन र ५-७-५ को नियमानुसार यसको रचना भएको हुन्छ । पहिलो हरफमा ५ अक्षर दोस्रोमा सात अक्षर र तेस्रो हरफमा पुनः ५ अक्षरको संरचनामा हाइकुको रचना गरिन्छ । साहित्यका सबै विधालाई बुझेर, चिनेर र यिनै कुराहरूको प्राध्यापन गर्दै आउनुभएका डा.केसीलाई यसबारे जानकारी नहुने कुरै छैन । उहाँले यही मान्यतामा रहेर हाइकुको रचना गर्नुका साथै सङ्ग्रह नै प्रकाशन गर्नुभएको छ ।
यस सङ्ग्रहको भूमिकाखण्डमा डा.शैलेन्दुप्रकाश नेपालको ‘हाइकुमा जीवनको रङ’ शीर्षकको भूमिका छ । त्यसपछि हाइकुकार डा.विष्णु केसीको ‘हाइकुमा फुलेको मन’ शीर्षकको लेखकीय छ । त्यसपछि हाइकुहरू प्रस्तुत भएका छन् । यस सङ्ग्रहमा ५८५ वटा हाइकुहरू सङ्ग्रहित छन् । सङ्ग्रहको अन्तिममा हाइकुकार केसीको स्रष्टा परिचय दिइएको छ । त्यसो त उहाँका प्रकाशित पुस्तकहरूको सूची लामो छ ।
उहाँका गीतसङ्ग्रहतर्फ तीनवटा, कविता र काव्य पाँचवटा, बालकविता सङ्ग्रह तीनवटा, बालकथासङ्ग्रह आठवटा, बालनाटक दुईवटा, निबन्धसङ्ग्रह दुईवटा, समालोचना सङ्ग्रह पाँचवटा गरी साहित्यतर्फ २८ वटा र पाठ्यपुस्तक सातवटाका साथै उहाँका सम्पादित कृति १४ वटा रहेको उल्लेख छ । वहाँले विभिन्न एक दर्जन जति मानसम्मान र पुरस्कार प्राप्त गर्नुभएको उल्लेख छ । यसैगरी उहाँ सातवटा विभिन्न सङ्घसंस्थाहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र सदस्यको हैसियतमा संलग्न रहनुभएको छ । यसरी विभिन्न विधागत लेखनमा संलग्न रहँदै आउनुभएका वरिष्ठ साहित्यकार केसीको यो हाइकुसङ्ग्रह हो । उहाँले विषयगत रूपमा हेर्दा फरकफरक विषयलाई समेटेर यो हाइकुसङ्ग्रह तयार पार्नुभएको छ । प्रेम, प्रणय, समाज चित्रण, राजनीति, दर्शन, व्यङ्ग्य, प्रकृति चित्रणलगायत विविध विषय सङ्ग्रहमा समेटिएका छन् ।
पातलो ओठ
गतिलो हाउभाउ
तिम्रो जवानी
तिमी छौ र त
म पनि बाँचेको छु
नत्र के हुन्थ्यो
यस्ता प्रेम प्रणयका प्रत्यक्ष अभिव्यक्तिदेखि
बादल हट्यो
आकाश खुल्ला भयो
हामी स्वतन्त्र
जस्ता प्रकृति चित्रणका साथै प्रेमको समेत सन्दर्भलाई समेटेर लेखिएका हाइकुसमेत यस सङ्ग्रहमा छन् । यस सङ्ग्रहका लागि वरिष्ठ साहित्यकार डा.विष्णु केसीलाई धेरैधेरै बधाई छ । साथै उहाँको पुस्तकको सफलताको कामनाका साथै उहाँबाट आगामी दिनमा पनि यस्ता कृतिहरू प्राप्त भइरहून् लेखनीले निरन्तरता पाइरहोस् । हार्दिक शुभकामना ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :