गण्डकी, कास्की पोखरा-३३, गैरागाउँ जामुनाबोटमा जन्मिनुभएको दीपेन्द्र अधिकारी गीत लेखनमा सक्रिय हुनुहुन्छ । उहाँका एक दर्जनभन्दा बढी गीत श्रोता-दर्शकमाझ आएका छन् । उहाँका ‘मनमोहक पोखरा’, ‘मामा-भान्जीको चुलबुल’ ‘जीवनको रेल’, ‘तिमीनै छौ यो मनमा’, ‘तल-तल’लगायतका गीत श्रोता-दर्शकमाझ लोकप्रिय छन् । लामो समयदेखि जापानमा बस्दै आउनुभएका उहाँ टोकियोमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विदेशमा रहेर पनि उहाँले गीत लेखनलाई आफूलाई संलग्न गराइरहनुभएको छ । श्रोता-दर्शकको माया र रचनात्मक सुझावले थप लेख्न प्रेरणा दिने बताउनुहुने गीतकार दीपेन्द्र अधिकारीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशं :-
यति बेला के गर्दै हुनुहुन्छ ?
अहिले तत्काल बुबा बिमारी भएकाले अकस्मात् नेपाल आएको छु । अस्पतालमा बुबासँग र घरमा आमासँग सकेसम्म धेरै समय बिताउने, उहाँहरूका कुरा सुन्ने र अन्तरंग कुराकानी गर्ने गरिरहेको छु । साथै उता जापानमा रहेका आफ्ना जिम्मेवारीसँग नियमित सम्पर्कमै रहने गरेको छु । अनि, यसैबीच फुर्सद्को समयमा नयाँ गीतहरू रेकर्डिङका लागि अगाडि बढाउँदै र भर्खरै रेकर्ड तयार भएका गीत संकलन गर्ने काम गरिरहेको छु । यसै क्रममा आमाले लेख्नुभएको गीतको पनि रेकर्डिङ सकिएको छ । अब उहाँको गीतलाई श्रोता-दर्शकमाझ कसरी प्रस्तुत गर्ने भन्ने तयारी गर्दैछु । पुस्तक पढ्ने र नयाँ सिर्जनाबारे सोच्ने क्रम पुरानै दैनिकी जस्तै बनेको छ ।
मनोरञ्जन मात्रका लागि गीत त लेख्दिन, तर केका लागि लेख्छु एउटै उत्तरमा समेट्न अलि गाह्रो हुँदो रहेछ । कहिलेकाँही मनमा गुम्सिएका भावनाले शब्द खोज्छन्, अनि तिनै शब्दशब्द मिलेर गीत बन्नखोज्दा रहेछन् । कहिले मुख गुनगुनाउछ, कहिले खुट्टा चल्छन्, कहिले बस्दा हात आफैं टेबुललाई तवेला बनाउँदै स्वतस्फूर्त शब्द गुनगुनाउँछन् । कसरी कतिखेर त्यो गीतको मुड केका लागि आउँछ पत्तो नभए पनि आफ्ना अनुभूति अरूको मनसम्म पुर्याउने उद्देश्यले लेख्छु । तत्काल समाजमा घटेका घट्नाहरूसँग तुलमा गरेर जनचेतनाका लागि लेख्छु । यसरी लेखेको कुनै पंक्तिमा श्रोताले आफ्नै कथा भेट्नुभयो, आफ्नो खुशी वा पीडाको आवाज सुन्नुभयो भने त्यो मेरा लागि ठूलो उपलब्धि ठानेर गीत लेख्द छु ।
गीत लेखनमा कसरी आउनुभयो ?
लेखन मेरा लागि पहिलेदेखि नै रुचिको विषय थियो, तर मार्गदर्शनको अभावमा त्यसले आकार लिन सकेको थिएन । कहिलेकाँही एक–दुई शायरी लेख्थे, फेरि ती त्यसै हराउँथे । यस्तै चलिरहँदा अकस्मात् परिवारमा परेको बज्रपातले मलाई झसङ्ग बनायो । त्यसपछि मनका पीडा–भावनालाई कतै न कतै शब्दमा उतार्न आफ्नै मनले भन्न थाल्यो । करिब छ-सात वर्षअघि विभिन्न गुरुले मुक्तक, कविता लेख्न सिकाउनुभयो । कसैले लेख लेख्न उत्प्रेरित गर्नुभयो, कसैले मुक्तकका भावलाई विस्तार गर्दै गीतको लयमा ढाल्न सिकाउनुभयो । मनमा आएका अनुभूतिलाई शब्दमा परिणत गर्दै जाँदा मेरो पहिलो गीत ‘मनमोहक पोखरा’ तयार भयो । त्यही गीतमार्फत गीत लेखनमा मेरो यात्रा सुरु भयो । घरदेश र परदेशबीचको दूरी, परिवारको माया, भेटघाट र बिछोडका अनुभवले एकपछि अर्को गीत लेख्न प्रेरित बनायो । खासमा मेरो गीत लेखनको आधार जीवनका वास्तविक भोगाइ, परदेशीका पीडा, मानिसप्रतिको संवेदना र प्रकृतिप्रतिको प्रेम नै हुन्छन । यसै अवसरमा लेख्न सिकाउने, हौसला दिने र बाटो देखाउने सम्पूर्ण गुरुहरूप्रति आदरपूर्वक नमन गर्न चाहन्छु ।
तपाईं केका लागि गीत लेख्नुहुन्छ ?
यो पनि संवेदनशील प्रश्न लाग्यो । मनोरञ्जन मात्रका लागि गीत त लेख्दिन, तर केका लागि लेख्छु एउटै उत्तरमा समेट्न अलि गाह्रो हुँदो रहेछ । कहिलेकाँही मनमा गुम्सिएका भावनाले शब्द खोज्छन्, अनि तिनै शब्दशब्द मिलेर गीत बन्नखोज्दा रहेछन् । कहिले मुख गुनगुनाउछ, कहिले खुट्टा चल्छन्, कहिले बस्दा हात आफैं टेबुललाई तवेला बनाउँदै स्वतस्फूर्त शब्द गुनगुनाउँछन् । कसरी कतिखेर त्यो गीतको मुड केका लागि आउँछ पत्तो नभए पनि आफ्ना अनुभूति अरूको मनसम्म पुर्याउने उद्देश्यले लेख्छु । तत्काल समाजमा घटेका घट्नाहरूसँग तुलमा गरेर जनचेतनाका लागि लेख्छु । यसरी लेखेको कुनै पंक्तिमा श्रोताले आफ्नै कथा भेट्नुभयो, आफ्नो खुशी वा पीडाको आवाज सुन्नुभयो भने त्यो मेरा लागि ठूलो उपलब्धि ठानेर गीत लेख्द छु ।
कस्ता खालका गीत लेख्न मन पराउनुहुन्छ ?
रियल दुःखपीडा समेटेर साथै माया, परिवार, परदेश, प्रकृति र मानवीय सम्बन्धका गीत लेख्न मन पर्छ । प्रेमभित्र भेटको खुशीसँगै प्रतीक्षा, विश्वास र जिम्मेवारीका धेरै कथा हुन्छन् । सरल शब्दमा गहिरो अनुभूति व्यक्त गर्न सकिने गीततर्फ मेरो रुचि बढी छ । भाइरल हुने रहरभन्दा गीतले कसैलाई सान्त्वना देओस्, सम्बन्धको महत्त्व सम्झाओस् र जीवनप्रति आशा जगाओस् भन्ने चाहना हुन्छ । मेरा गीतका शब्दमा कुनै कथा, जीवनको भोगाइ वा सन्देश समेट्ने प्रयास गरिरहेको हुन्छु । पछाडि फर्केर आफ्नै गीतहरू सुन्दा वियोगान्तका गीतहरू प्रायः लेख्दोरहेछु । हुन त सिक्दै गरेको गीतकार हूँ । गीतका शब्दले बोक्ने भाव, तिनको गहिराइ र लयसँगको सम्बन्ध बुझ्न त मलाई अझै कति धेरै बाँकी छ । हरेक नयाँ गीत मेरा लागि सिकाइको एकपछि अर्को ठूलो अवसरको रूपमा लिँदै झन्–झन् सन्देसमूलक गीतहरूमै रूचि बढ्दो छ ।
श्रोता-दर्शकमाझ यहाँका गीत ?
धेरै नै लेखिए पनि हालसम्म सार्वजनिक भएका मेरा गीतहरूको संख्या एक दर्जनभन्दा बढी छ । जस्तो कि ‘मनमोहक पोखरा’, ‘मामा–भान्जीको चुलबुल’ ‘जीवनको रेल’, ‘तिमी नै छौ यो मनमा’, ‘तल–तल’लगायत छन् । मेरा गीत डिए क्रिएशन युट्युब च्यानलमार्फत हेर्न सक्नुहुन्छ ।
संगीत के रहेछ ?
धेरै नसोची मनबाट उत्तर दिनुपर्दा, मेरा लागि संगीत भनेकै मनहरूको सामुहिक उपचार हो । सरल भाषामा भन्नुपर्दा संगीत मानवीय अनुभूतिलाई जोड्ने भाषा हो । बोली नबुझे पनि धुनले मन छुनसक्छ । संगीतले सम्झना ब्युँझाउँछ, दुःखमा साथ दिन्छ र खुशीलाई अझ उज्यालो रमाइलो बनाउँछ । शब्द, स्वर र धुन मिल्दा एक व्यक्तिको निजी अनुभूति धेरैको साझा अनुभूति बन्नसक्छ । मलाई संगीत मान्छेले बोल्ने भाषाभन्दा माथिको, जीवन र प्रकृतिसँग गाँसिएको अनुभूति हो जस्तो लाग्छ । विभिन्न ध्वनि, कम्पन र स्वरको मधुर मिलनमा संगीत जन्मिन्छ । चराचुरुंगीको चिरबिर, खोलाको सुसाइ र हावामा पातहरूको सरसराहटमा समेत म संगीतको आभास पाउँछु । त्यसैले मेरा लागि संगीत सुन्ने कुरामात्र होइन, मनले महसुस गर्ने र जीवनसँग जोडिने माध्यमको रूपमा लिनेगरेको छु । संगीत मेरा लागि जीवनमा नभइनहुने मीठो अम्मल हो ।
अहिलेको गीतसंगीतको अवस्थालाई कसरी नियाल्नुभएको छ ?
अहिले सिर्जना गर्ने र श्रोतासम्म पुग्ने अवसर धेरै फराकिलो भएको छ । नयाँ पुस्ताको प्रयोग र ऊर्जालाई सकारात्मक रूपमा हेर्छु । हरेक पुस्ताले आफ्नो समयको संगीत बनाउँछ, त्यसलाई खुला मनले सुन्न र रचनात्मक संवाद गर्न सक्नुपर्छ । लोकप्रियता सर्जकका लागि महत्त्वपूर्ण हुन्छ, सँगसँगै शब्द, धुन र प्रस्तुतिको गुणस्तरमा ध्यान दिनु आवश्यक छ । हरेक गीतले गम्भीर सन्देश दिनैपर्छ भन्ने होइन, रमाइलो गराउनु संगीतको सुन्दर पक्ष हो । तर, मनोरञ्जन दिँदादिँदै पनि मनछुने, अर्थ बोकेका, समय बितेपछि सम्झन सकिने गीतहरू अझ धेरै बन्दिए हुन्थ्यो । यति हुँदाहुँदै केही खट्किने पक्ष छन् । कहिलेकाँही छिटो चर्चामा आउने होडमा अर्थ र भाव कमजोर भएका गीतले बढी ठाउँ पाइरहेका हुन् कि जस्तो लाग्छ । ती समयका चलन हुनसक्छन्, तर गीतसंगीत हाम्रो संस्कृति, पहिचान र अनुभूतिलाई पुस्ताबाट पुस्तासम्म पुर्याउएर जीवन्त राख्ने बलिया माध्यम हुन् । त्यसैले नयाँ प्रयोगसँगै कलात्मकता, संवेदनशीलता र सांस्कृतिक जिम्मेवारीलाई अघि बढाउँदै जानुपर्छ भन्ने लाग्छ । अघिल्ला पुस्ताहरूको मिहिनेत, लगाव हाम्रा पुस्ताले भोग चलन गर्यो । अब गीतसंगीतलाई थप उचाइमा पुर्याउनु हाम्रो दायित्व हो जस्तो लाग्छ ।
दीपेन्द्र अधिकारी के हो ?
दीपेन्द्र अधिकारी एउटा सरल जीवनबाट सिक्दै गरेको एउटा सामान्य मानिस हो । कसैको छोरो, कसैको बुबा, कसैको जीवन साथी र आफ्नो जिम्मेवारी इमानदार भई पूरा गर्न प्रयासरत व्यक्ति हो । परदेशमा परदेशीसँग परिवार बनाएर पनि नेपाल भुल्नै नसक्ने एउटा पूर्ण नेपाली हूँ कि जस्तो लाग्छ यदि कसैले मलाई त को होस् भने भने । क्यारियर छोटै समयको भए पनि गीतकारका रूपमा मेरा शब्दले र मानिसका रूपमा मेरो व्यवहारले परिचय बनाओस् भन्ने चाहन्छु । मैले दिएको माया, गरेको कामबाट मानिसले सम्झिए भने त्यही मेरा लागि अर्थपूर्ण परिचय हुनेछ ।
अन्त्यमा ?
सर्वप्रथम त मलाई खोतलिदिएर मेरा कुरा राख्ने ठाउँ स्पेस बनाइदिनुभएकोमा तपाईं र हिमालय टाइम्स परिवारप्रति आभारी छु । हरेक वर्ष नेपालले कुनै न कुनै प्राकृतिक विपत्ति र मानवीय क्षतिको पीडा भोगिरहनुपरेको छ । हाम्रै मानवीय कमजोरीका कारण निम्तिएका दुःखद् परिस्थितिदेखि जेन–जी आन्दोलन, हालैको भोटेकोशीको हिमाली सुनामी तथा म्याग्दीलगायत पश्चिम नेपालमा बाढीपहिरो र डुबानमा ज्यान गुमाउनुभएकाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । आफन्त गुमाउनुभएका परिवार, घाइते तथा अपांगता भएका व्यक्तिहरू, सन्तान र सहारा गुमाउनुभएका वृद्ध बुबाआमालगायत पीडामा रहनुभएका सबैको जीवनमा आउँदै गरेको दशैँले सान्त्वना, साहस, आशा र उत्साहा ल्याउन सकोस् । सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् । एकअर्काको दुःखमा साथदिन सकौ, कसैले आफूलाई एक्लो र असहाय महसुस गर्न नपरोस् । हृदयदेखि यही कामना गर्दै भगवान् पशुपतिनाथसँग प्रार्थना गर्दछु । साथै, मेरा सिर्जना सुन्नुहुने, प्रतिक्रिया दिनुहुने र साथ दिनुहुने सबैप्रति आभारी छु । मेरा शब्दलाई गीतको रूप दिनुहुने संगीतकार, गायक, वाद्यवादक तथा सम्पूर्ण सहकर्मीप्रति सम्मान व्यक्त गर्छु । श्रोता-दर्शकको माया र रचनात्मक सुझावले थप लेख्न प्रेरणा दिन्छ । नेपाली गीतसंगीतसँग जोडिएर आफ्ना अनुभूति बाँडिरहन पाऊँ भन्ने चाहना छ ।







उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब