काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा आयोजित प्रदर्शनका क्रममा प्रहरीले व्यापक धरपकड गरेको छ । मतदाता नामावली पुनरीक्षण (एसआईआर) का क्रममा ठूलो धाँधली भएको आरोप लगाउँदै आयोजना गरिएको विरोध प्रदर्शनलाई थिच्न भारतीय प्रशासनले कडा सुरक्षा कदम चालेपछि नयाँ दिल्ली दिनभर तनावग्रस्त बन्यो ।
प्रहरीले सर्वसाधारण र प्रदर्शनकारीलाई कार्यक्रमस्थल पुग्न नदिन राजधानीभर व्यापक घेराबन्दी गरेको थियो । त्यसक्रममा आम आदमी पार्टीका संयोजक एवं दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, केरलका पूर्वमुख्यमन्त्री पिनाराई विजयन, अखिल भारत विद्यार्थी संगठन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा तथा चर्चित युट्युबर ध्रुव राठीसहित १५ सयभन्दा बढी अभियन्ता र प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको छ ।
कक्रोच जनता पार्टी (सिजेपी) को मुख्य आह्वान र विभिन्न विपक्षी दल एवं नागरिक संगठनहरूको समर्थनमा सुरु भएको यो आन्दोलन दबाउन दिल्ली प्रहरीले कडा रणनीति अपनाएको थियो । प्रहरीले सुरक्षाको कारण देखाउँदै र विगतका प्रदर्शनहरूमा नियम उल्लंघन भएको दाबी गर्दै जन्तरमन्तरमा भेला हुने अनुमति दिएको थिएन । अनुमति नमिले पनि प्रदर्शन जारी राख्न खोज्दा कन्नाट प्लेस, धौलाकुवा र जन्तरमन्तर वरपरका क्षेत्रहरूबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
विपक्षी नेताहरू केजरीवाल र बनर्जी जन्तरमन्तरतर्फ मार्च गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । आम संयोजक केजरीवाल आफ्ना पार्टीका शीर्ष नेता तथा राज्यसभा सांसद सञ्जय सिंहसहित कार्यकर्ताहरूसँग अघि बढ्दै गर्दा प्रहरीले उनीहरूलाई जबरजस्ती तानेर गाडीमा हालेको थियो । त्यस्तै, तृणमूल कांग्रेसकी प्रमुख बनर्जी प्रदर्शनमा सहभागी हुन निस्किनेबित्तिकै नियन्त्रणमा लिइएको थियो ।
राजधानीमा अभूतपूर्व सुरक्षा घेराबन्दी
आन्दोलनलाई सुरुमै निस्तेज पार्न प्रहरीले अपनाएको शैलीलाई लिएर चौतर्फी विरोध भएको छ । प्रदर्शनको अग्रपंक्तिमा रहेका कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के, पार्टीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांकालाई प्रहरीले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । मुम्बईबाट दिल्ली पुगेका दिप्के जहाज अवतरण हुनासाथ विमानभित्रै छिरेको प्रहरी टोलीबाट पक्राउ परेका हुन् ।
दिप्केले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै सरकारको यो कदमको तीव्र आलोचना गर्नुभएको छ । ‘शान्तिपूर्ण प्रदर्शनलाई दबाउन सरकारले प्रहरी प्रशासनको नांगो दुरुपयोग गरेको छ’, उहाँले भिडियोमा भन्नुभएको छ, ‘हामी यहाँ गिरफ्तार हुनै आएका हौँ, हामी तपाईंहरूसँग डराउँदैनौँ ।’ सिजेपीले आधिकारिक विज्ञप्ति जारी गर्दै विमानभित्रै छिरेर गरिएको यो कारबाहीलाई मानिसहरूको आवतजावत गर्ने स्वतन्त्रताको खुला उल्लंघन र तानाशाहीपूर्ण कदमको संज्ञा दिएको छ ।
उता चर्चित युट्युबर ध्रुव राठीलाई गुरुग्रामको सेक्टर ५६ स्थित निवासबाटै शनिबार बिहान ५० जना जति प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो । यस्तै, सिजेपीकी कानुनी टोली प्रमुख रत्ना सिंहलाई बिनाकुनै कागजात वा लिखित आदेश घरभित्रै नजरबन्द गरिएको छ । सिंहले प्रहरीले केवल ‘माथिको आदेश छ’ भन्दै आफूलाई घरबाट बाहिर निस्कन नदिएको र कानुनी आधार मिचेको आरोप लगाउनुभएको छ ।
धरपकड र गिरफ्तारीका बाबजुद आन्दोलन रोकिएको छैन । दिप्के पक्राउ पर्नुअघि नै पूर्वरेकर्ड गरिएको भिडियो सन्देशमार्फत आन्दोलनको नेतृत्व हस्तान्तरणको घोषणा गर्नुभएको थियो । जसअनुसार अहिले सीजेपीका संगठन विभाग प्रमुख अजिन्क्य शिन्देले जन्तरमन्तरमा आन्दोलनको नेतृत्व गरिरहनु भएको छ । ३५ वर्षीय शिन्देले सुरक्षा प्रतिबन्धको आडमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले जनतालाई आन्दोलनमा सहभागी हुनबाट रोक्न खोजेको आरोप लगाउनुभएको छ ।
नयाँ दिल्ली जिल्लालाई २० वटा अपरेसनल जोनमा विभाजन गरी ठूलो संख्यामा प्रहरी र र्यापिड एक्सन फोर्स (आरएएफ) तैनाथ गरिएको छ । पक्राउ परेकाहरूलाई राख्न छत्रसाल स्टेडियम, राजीव गान्धी स्टेडियम, यमुना स्पोर्टस् कम्प्लेक्ससहित विभिन्न सामुदायिक भवनहरूलाई अस्थायी हिरासत केन्द्र बनाइएको छ । धौलाकुवा, कन्नाट प्लेस र रेलवे स्टेसनवरपर काँडेतार र ब्यारिकेड लगाएर जाँच गरिनुका साथै ड्रोनबाट गस्ती गरिएको छ, जसका कारण मेट्रो र सर्वसाधारणको आवागमनमा ठूलो असर परेको छ ।
आयोग र सरकारविरुद्ध चर्कियो आन्दोलन
यति ठूलो सुरक्षा कडाइ र धरपकडका बाबजुद पनि राजधानीका विभिन्न स्थान र जन्तरमन्तरमा ठूलो संख्यामा मानिसहरू उपस्थित भई नाराबाजी गरिरहेका छन् । आन्दोलनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको तत्काल राजीनामा माग गरेका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संशोधन (एसआईआर) प्रक्रियाका क्रममा लाखौँ वास्तविक मतदाताको नाम नियतवश हटाइएको र धाँधली गरिएको आरोप सिजेपी र विपक्षी दलहरूले लगाएका छन् । निष्पक्ष चुनाव गराउनुपर्ने संवैधानिक निकाय सत्तापक्षको इसारामा चलेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन् ।
अर्कोतर्फ, निर्वाचन आयोग र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले भने मतदाता नामावली पुनपरीक्षण प्रक्रिया पूर्णतया पारदर्शी रहेको र कुनै पनि किसिमको गडबडी नभएको दाबी गर्दै आएका छन् । उनीहरूले विपक्षीहरूको आरोपको खण्डन गर्दै आन्दोलनलाई राजनीति प्रेरित भनेका छन् । तर, दिल्लीमा भएको यो कठोर कारबाहीको बाछिटा अन्य शहरहरूमा पनि परेको छ । प्रहरीका अनुसार छुट्टाछुट्टै समूहमा आएका करिब ५०० जनालाई नियन्त्रणमा लिइएको छ भने पूर्व-आपराधिक पृष्ठभूमि भएका करिब ५० जना र कन्नाट प्लेस क्षेत्रबाट मात्रै थप २०० जना पक्राउ परेका छन् । दिल्लीबाहेक भारतका अन्य विभिन्न प्रमुख शहरहरूमा पनि निर्वाचन आयोगविरुद्ध विरोध प्रदर्शनहरू सुरु भएका छन् । शीर्ष नेताहरू प्रहरी हिरासतमा रहे पनि अजिन्क्य शिन्देको नेतृत्वमा जन्तरमन्तरमा धर्ना र नाराबाजी जारी नै रहेको छ ।






भारतीय महिला क्रिकेट टोलीकी नयाँ
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
नेपालमा चेस जेन टुको आधिकारिक
आजदेखि अन्तरवडा फुटसल
कर्णाली याक्स ट्यालेन्ट हन्टबाट तीन
पारा एसियाली खेलकुद : आठ