शनिबार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले वैज्ञानिक प्रमाण र प्रतिवेदनले बारम्बार चेतावनी दिँदासमेत नेतृत्व तहबाट त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले आफू राष्ट्रपति हुँदा चुरे संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राखेको स्मरण गर्दै चुरे क्षेत्रको विनाश रोक्न सके हिमालको हिउँ, पहाडको पर्यावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिने धारणा राख्नुभयो । तर, सरकार र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक नलिएको उहाँको गुनासो थियो ।
उहाँले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरूको चेतावनी र तथ्यमा आधारित प्रतिवेदनलाई बेवास्ता गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । अमेरिका लगायतका केही मुलुकका शक्तिशाली नेताहरूले नै जलवायु परिवर्तनलाई ‘झुट’ भन्ने गरेको उल्लेख गर्दै उहाँले यस्तो प्रवृत्तिले पृथ्वीको भविष्य थप संकटमा पार्ने बताउनुभयो ।
“विश्वले अहिले वातावरणीय संकट र ग्लोबल वार्मिङको गम्भीर चुनौती भोगिरहेको छ । तर, यस विषयमा विश्वका नेतृत्व र हाम्रो देशका राजनीतिक दलहरूमा समेत आवश्यक दूरदृष्टि देखिएको छैन,” उहाँले भन्नुभयो ।
चुरे संरक्षणको आवश्यकताबारे आफूले पटक–पटक आवाज उठाए पनि सरकारले र राजनीतिक दलहरूले त्यसलाई गम्भीरतापूर्वक नलिएको उहाँको भनाइ थियो । संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले जलवायु परिवर्तनका जोखिमबारे निरन्तर चेतावनी दिँदै आएको उल्लेख गर्दै उहाँले वातावरण संरक्षणलाई प्राथमिकतामा नराखिए त्यसको गम्भीर असर भावी पुस्ताले भोग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । आयोजकका अनुसार प्रधानले नेपाल मधुमेही समाजका लागि सबैभन्दा बढी योगदान गर्नुका साथै अनुदानसमेत उपलब्ध गराउनुभएको छ ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा