धादिङ । त्रिशूली नदीको कटानका कारण धादिङको गलौँदीमा चर्किएर भासिएको पृथ्वी राजमार्ग आजै खुलाउने तयारी गरिएको छ। अवरुद्ध सडकमा यातायात सञ्चालन गर्न ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम तीव्र पारिएको छ।
नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको सतह दबिएको प्रारम्भिक अनुमान गरिएको छ। उहाँले सडक चर्किएपछि तत्काल यातायात सञ्चालन गर्न कटिङको काम अघि बढाइएको बताउनुभयो।
अधिकारीका अनुसार सडक करिब ८० मिटर चर्किएको छ। चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर लम्बाइमा काम भइरहेको छ।
सडक खुलाउन १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको आयोजनाले जनाएको छ। छवटा एक्स्काभेटरसहित लोडर र टिप्पर प्रयोग गरी कटिङको काम भइरहेको छ। ठेकेदार, परामर्शदाता तथा आयोजना कार्यालयका प्राविधिक र अन्य कर्मचारीसमेत कार्यस्थलमा खटिएका छन्।
स्थानीय तह, वडा कार्यालय, इलाका वन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम अघि बढाइएको अधिकारीले बताउनुभयो। उहाँका अनुसार सम्भव भएसम्म आइतबार साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। आवश्यक परे फ्लडलाइटको व्यवस्था गरेर रातिसमेत कामलाई निरन्तरता दिइनेछ।
यता, निर्माण व्यवसायी शहदेव खड्काका अनुसार सडक खुलाउन नौवटा हेभी इक्विपमेन्ट र करिब १० वटा टिप्पर परिचालन गरिएका छन्। मेसिन, टिप्पर र इन्जिनियरसहित करिब ७० देखि ८० जना जनशक्ति बिहानैदेखि काममा खटिएका छन्।
खड्काका अनुसार ग्यास बुलेटमा चुहावटको घटना र राति वर्षा भएका कारण शनिबार कटिङको काम अघि बढाउन कठिनाइ भएको थियो। कटिङका क्रममा जोखिम हुन सक्ने भएकाले काम रोक्नुपरेको उहाँले बताउनुभयो। आइतबार बिहानदेखि शाखा सडकको मर्मतसम्भारसँगै ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको उहाँको भनाइ छ।
उहाँले मौसम अनुकूल रहेमा छिट्टै यातायात सञ्चालन गर्न सकिने अपेक्षा व्यक्त गर्नुभयो। ब्याक कटिङ र माटो हटाउने काम सम्पन्न भएपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो।
नेपालीहरूको महान् चाड विजयादशमीका बेला यात्रुहरूले सास्ती भोग्न नपरोस् र यातायात आवागमन सहज बनोस् भन्ने उद्देश्यले कामलाई तीव्रता दिइएको निर्माण व्यवसायी खड्काले बताउनुभयो।
सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा स्थानीयवासी प्रभावित भएका छन्। सडक पुनः सञ्चालनमा आएपछि उक्त खण्डमा यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।







यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास
पोखरामा स्कुल बस दुर्घटना :
पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, शनिबारसम्म
सरकारले सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी