काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न ४६औँ चेस ओलम्पियाडमा सहभागी नेपालका छ खेलाडीले अन्तर्राष्ट्रिय चेस टाइटल प्राप्त गरेका छन् । दुई पुरुष खेलाडीले क्यान्डिडेट मास्टर (सीएम) र चार महिला खेलाडीले वुमन क्यान्डिडेट मास्टर (डब्लूसीएम) टाइटल प्राप्त गरेका हुन् । नेपाल बुद्धिचाल महासंघका अनुसार पुरुषतर्फ आशिष् फुयाँल र राजन सुवेदीले सीएम टाइटल प्राप्त गर्नुभएको छ । महिलातर्फ कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले डब्लूसीएम टाइटल हासिल गर्नुभएको छ ।
ओलम्पियाडमा नेपाली खेलाडीले अन्तिम चरणको खेलमा आफ्नो समूहमा पदक जित्न नसके पनि चौथो स्थान हासिल गर्दै वरियतामा सुधार गरेका थिए । सेप्टेम्बरमा सम्पन्न प्रतियोगितामा नेपाली खेलाडीले गरेको प्रदर्शनलाई महासंघले उपलब्धिका रूपमा लिएको छ ।
यसैबीच, नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सहभागिता, आगामी वर्षका कार्यक्रम र खेलाडीको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न निर्णय गरेको छ । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डमा बसेको बैठकले ४६औँ चेस ओलम्पियाड, विश्व बुद्धिचाल महासंघ (फिडे) कांग्रेसमा नेपालको सहभागिता, दसौँ राष्ट्रिय प्रतियोगिता, दक्षिण एसियाली चेस काउन्सिलको अनुदान तथा दक्षिण एसियाली ३.२ जोनलगायतका विषयमा छलफल गरेको जनाएको छ ।
बैठकले एसियन नेसन्स कप र वेस्टर्न एसिया युथ चेस प्रतियोगितामा नेपाली खेलाडी सहभागी गराउने निर्णयसमेत गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको सहभागिता व्यवस्थित गर्न आवश्यक नियमावली तयार गरिएको महासंघले जनाएको छ ।
महासंघले आर्थिक वर्ष २०८३/८४ का लागि उमेर समूहका प्रतियोगिता, नेसनल युथ च्याम्पियनसिप, विद्यालयस्तरीय तथा क्लबस्तरीय प्रतियोगिता, सिनियर सिटिजन, एमेच्योर, ब्लिट्ज र र्यापिड प्रतियोगितासहित २७औँ खुला तथा १२औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको वार्षिक कार्यक्रम पनि तय गरेको छ ।
यसैगरी, भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित बुद्धिचाल परिवारलाई अन्तर्राष्ट्रिय सहयोग जुटाइएको महासंघले जनाएको छ । महासंघको पहलमा फ्रिडम एसियन चेस इनिसिएटिभमार्फत बाढीपीडित चेस परिवारलाई १२ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराइएको जानकारी बैठकमा गराइएको थियो ।
फिडे कांग्रेसबाट नयाँ कार्यसमिति चयन हुँदा नेपालले सुरुदेखि समर्थन गर्दै आएका कजाकिस्तानका अध्यक्ष तथा अर्बपति उद्योगपति टिमुर तुर्लोभ विजयी भएपछि नेपालले प्रस्तुत गरेका पाँचवटा वार्षिक चेस कार्यक्रम अनुमोदन भएको महासंघले जनाएको छ । साथै, दक्षिण एसियाली चेस काउन्सिलले निश्चित कार्यक्रम सञ्चालनका लागि तत्काल पाँच हजार अमेरिकी डलर उपलब्ध गराउने समझदारी भएको जानकारी पनि बैठकमा गराइएको थियो ।
महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस कार्यक्रम सञ्चालनलाई थप व्यवस्थित बनाउन महासंघले पूर्वकोषाध्यक्षलाई आफू जिम्मेवारीमा रहँदा प्रयोग भएका खेल सामग्री तथा आर्थिक हिसाबकिताब पेस गर्न पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।







चौध वर्षीया बालिकालाई जबरजस्ती करणी
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा
पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका