राष्ट्रिय संगीतकर्मी संघले आइतबार आयोजना गरेको दसैँ विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपाली संगीत मनोरञ्जनको माध्यम मात्र नभई राष्ट्रिय पहिचान, संस्कृति र मौलिकताको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो।
उहाँले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न कलाकारको सिर्जनात्मक अधिकारको संरक्षण, उचित पारिश्रमिक र डिजिटल प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको बताउनुभयो।
नेपाली लोकसंगीत, हिमाली तथा पहाडी क्षेत्रका मौलिक धुन, तराईका सांस्कृतिक भाका र आधुनिक गीतले नेपालको विशिष्ट सांस्कृतिक पहिचान निर्माण गरेको उल्लेख गर्दै उहाँले सीमित स्रोतसाधनका बाबजुद नेपाली संगीतलाई डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सफल अग्रज कलाकारको योगदानको प्रशंसा गर्नुभयो। नयाँ पुस्ताले उक्त योगदानलाई अझ उचाइमा पुर्याउनुपर्ने उहाँको भनाइ थियो।
अध्यक्ष अग्रवालले कलाकारलाई राष्ट्रका सांस्कृतिक दूतका रूपमा चित्रण गर्दै नेपाली संगीतलाई सांस्कृतिक कूटनीति, पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय पहिचानसँग जोड्नुपर्ने बताउनुभयो। नेपाली संगीतको विश्व बजारमा विस्तारका लागि सरकार, निजी क्षेत्र, संगीत क्षेत्र, सञ्चारमाध्यम र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
कलाकारको सम्मान ताली, पुरस्कार र प्रशंसामा मात्र सीमित हुन नहुने बताउँदै उहाँले बौद्धिक सम्पत्तिको संरक्षण, प्रतिलिपि अधिकारको प्रभावकारी कार्यान्वयन, डिजिटल रोयल्टीमा पारदर्शिता र सिर्जनाको उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
डिजिटल प्रविधि, स्ट्रिमिङ प्लेटफर्म, सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को विकाससँगै संगीत क्षेत्रमा नयाँ अवसर र चुनौती थपिएको उल्लेख गर्दै अग्रवालले प्रविधिले कलाकारको सिर्जनात्मक क्षमता विस्तार गर्नुपर्ने, तर सिर्जनामाथिको अधिकार कमजोर पार्ने माध्यम बन्न नहुने धारणा राख्नुभयो।
उहाँले डिजिटल पाइरेसी, प्रतिलिपि अधिकार उल्लङ्घन र अनधिकृत रूपमा सामग्री प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न समयानुकूल कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको बताउनुभयो। कलाकारले आफ्नै सिर्जनाबाट सम्मानजनक आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य र सम्बन्धित क्षेत्रको साझा जिम्मेवारी भएको उहाँको भनाइ थियो।
नेपाली संगीत र पर्यटनबीचको सम्बन्धबारे चर्चा गर्दै अग्रवालले मौलिक संगीतलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँग जोड्न सकिने बताउनुभयो। यसबाट संगीतको अन्तर्राष्ट्रिय बजार विस्तार हुनुका साथै पर्यटन, रोजगारी र आर्थिक गतिविधिमा समेत योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो।
दसैँजस्ता चाडपर्वले पारिवारिक पुनर्मिलन, आत्मीयता र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उल्लेख गर्दै उहाँले चाडपर्वमा गाउँघर र परिवारमा गुञ्जिने गीतसंगीतले मातृभूमिप्रतिको माया, सामाजिक सद्भाव र सांस्कृतिक स्मृतिलाई जीवन्त बनाउने बताउनुभयो।
समाजमा निराशा, असन्तुष्टि र विभाजनका स्वर सुनिन थालेका बेला कलाकारको भूमिका अझ महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो। संगीतले समाजमा आशा, विश्वास र सकारात्मक सन्देश प्रवाह गर्न सक्ने उल्लेख गर्दै उहाँले समृद्ध नेपाल निर्माणका लागि भौतिक पूर्वाधारसँगै कला, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धनमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा अग्रवालले सम्पूर्ण कलाकार, संगीतकर्मी तथा उनीहरूका परिवारजनमा बडादसैँ, तिहारलगायतका चाडपर्वको शुभकामना व्यक्त गर्दै नेपाली संगीतको विकास, कलाकारको सम्मान र सिर्जनात्मक क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ : मल्होत्रा
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले नेपाली कला, संस्कृति, संगीत र चाडपर्वले सामाजिक सद्भाव, आपसी एकता तथा राष्ट्रिय पहिचानलाई बलियो बनाउने बताउनुभयो।
उहाँले कला, साहित्य र संगीत क्षेत्रको विकासका लागि राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा संगीतकर्मी, कलाकार, सञ्चारकर्मी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
मल्होत्राले नेपाली मौलिक संस्कृति र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबै पक्षले संयुक्त रूपमा पहल गर्नुपर्ने बताउनुभयो। देशको समग्र विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र राष्ट्रिय विकासका अभियानमा सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले कला, संस्कृति, संगीत तथा सिर्जनात्मक क्षेत्रलाई सरकारले उचित प्राथमिकता दिँदै कलाकार र स्रष्टाको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो।
राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको सभापतित्व तथा संघका वरिष्ठ उपाध्यक्ष रमेश दुलालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, संगीतकर्मी, स्रष्टा तथा समाजसेवीको उपस्थिति थियो। कार्यक्रममा दसैँको शुभकामना आदानप्रदानसँगै विभिन्न स्रष्टालाई सम्मानसमेत गरिएको थियो।







एनपीएलमा डीआरएस प्रविधि ल्याउने तयारी
काठमाडौं महानगरपालिकामा आजदेखि बाइक एम्बुलेन्स
फूलपातीमै कांग्रेस सभापति गगन थापाको
चिकित्सा शिक्षामा ४१८ सिट थपिए,
बाढीपीडितलाई मासिक १५ हजार राहत,
मधेस सरकारबाट एमाले बाहिरियो, चार