मैले विश्वेश्वरप्रसाद कोइरालाको नाम सर्वप्रथम २०१५ सालमै एउटा गीतको माध्यमबाट सुनेको हुँ । जबकि त्यसबेला म मात्र चार वर्षको थिएँ । मैले त्यसबेला सुनेको गीत हो-पानी पर्यो असिना ओइराला, मन्त्री भए विश्वेश्वर कोइराला । कसै-कसैले यसै गीतलाई पानी पर्यो असिना ओइरालो, मन्त्री भयो विश्वेश्वर कोइरालो पनि भन्थे । अहिले म बुझ्दै छु-मन पराउनेले माथ्लो गीत भन्थे भने मन नपराउनेले तल्लो गीत भन्थे होलान् ! त्यस उमेरको मलाई मन्त्री भनेको के ! प्रधानमन्त्री भनेको के ! आदि इत्यादि केही थाहा थिएन । बिस्तारै उमेर बढ्दै गयो, स्कुल जान थालेँ, पढाइ सुरु भयो, खुड्किला चढ्दै गएँ ।
आठ कक्षा पुगेपछि दाजु कविराज, काका केदार, काका शम्भु आदिले मलाई अलिअलि प्रसंगबस राजनीति सिकाउँदै जानुभयो । गोगनेको विद्येश्वर संस्कृत पाठशालामा कक्षा आठसम्मको पढाइ सकेर म आठ कक्षाको जाँच दिन भने दिङ्ला पुगेँ, त्यहाँ मेरो अर्को क्षितिज उघ्रियो । नौ र दश अर्थात् पूर्वमध्यमाका दुवै खण्ड मैले त्यहीँ पढेँ । त्यसबीचमा मलाई बीपीसम्बन्धी अरू चेतना जागृत हुने मौका मिल्यो ।
बीपीले कसरी चुनाव जित्नुभयो, कसरी प्रधानमन्त्री बन्नुभयो, कसरी थुनिनुभयो, कसरी थुनामुक्त हुनुभयो, कसरी निर्वासित हुनुभयो आदि इत्यादि बुझ्न थालेँ । यसैबीच मैले २०२६ सालमा भोजपुरकै दिङ्लाबाट पूर्वमध्यमा (एसएलसीसरह)को परीक्षा सकेर झापाको गौरादह बसाइँ सरेपछि २०२७ सालदेखि जब पिण्डेश्वर महाविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न थालेँ तब बीपीको राजनीतिक पाठशालामै झ्वाम्मै हाम फालेँछु । त्यसपछि त जताततै कांग्रेसमात्रै, तिनै कुरा, तिनै भाषण, तिनै लेखाइ, पर्चा-पम्प्लेट, पुस्तक लगायत, तरुण पत्रिकासमेत पढेपछि त दिमागै बीपीमय बन्यो । धरानमा हाम्रा विद्यार्थीनेता थिए-हरिप्रसाद तिम्सिना, हरिहर दाहाल, परशुराम तिम्सिना, प्रह्लाद आचार्य आदि । उनीहरूले मलगायत गोविन्द नेपाल, प्रह्लाद पोख्रेल आदि थुप्रै विद्यार्थीलाई स्नेहपूर्वक खोकिलामा राखेर प्रजातन्त्रवादी बनाए, बीपी चिनाए ।
धरानबाट नेपाल र पीपल दुईवटा पत्रिका प्रकाशित हुन्थे । एउटा छात्र संघबाट र अर्को छात्र पुस्तकालयबाट । २०२७ सालदेखि २०३० सालभित्र मेरो छात्रस्तरीय विद्यार्थी–राजनीति अलि माथि नै उठेछ क्यार ! उच्चस्तरीय छात्रनेता प्रह्लाद आचार्यले २०३० असारमा पीपल पत्रिका छपाउन बनारस जान मलाई छान्नुभयो । म दंग परेँ । प्रह्लादजी र म पत्रिका छाप्न धरानबाट बनारसतिर लाग्यौँ ने.रु.एक हजारको नोट बोकेर । आ–आफ्ना केही खुजुरा साथमा त छँदै थिए । जोगवनी भन्सार पुग्नुपूर्व हामीले ने.रुलाई भा.रु.बनायौँ । करिब साडे छ सय भयो । म त प्रह्लादजीको अनुगामी सहयोगी साथीमात्र थिएँ । पैसा साट्ने, बोक्ने, रेलको टिकट काट्ने, रेलमा चढ्ने बस्ने ओर्लिने सब तालिम मैले प्रह्लादजीबाटै पाएँ । जोगबनीबाट भा.रु.२२+२२=४४ को साधारण टिकट काटेर बनारस पुग्यौँ ।
बाँसफाटकको गल्लीमा रहेको माधव मुद्रणालयमा पत्रिका छाप्यौँ । सुत्ने कोठा प्रेसले नै दियो । खाना भने होटलमा खाइयो मोहोर गोटाका चारवटा रोटी किनेपछि दाल तरकारी फ्रि थियो । भा.रु चार का.आठ रोटीले दुई ज्यानलाई टन्न हुन्थ्यो । बेलुकी पनि यस्तै । एक हजारप्रति पत्रिकाको छपाइ खर्च तीन सय पचासमात्र । झन्नै आधा पैसा बँचेकै थियो । पैँतीस रुपैयाँमा एक-एकवटा सुटकेस, चौध रुपैयाँमा एक-एक जोर सेता बनारसी कुर्तासुरुवाल किनेर लाहुरेजस्तो फर्किने भयौँ । अहिले सम्झिँदा लाग्छ त्यो जीवन एउटा सपनाको संसार थियो ।
बनारस गएको मुख्य लाभ चाहिँ मलाई के भयो भने मैले कहिल्यै नबिर्सिने दुई महान् व्यक्तित्वलाई भेट्ने सुअवसर प्राप्त भयो । नं १) विश्वेश्वरप्रसाद कोइराला जसको नाम मैले एउटा गीतमार्फत चार वर्षको कलिलो उमेरमा सुनेको थिएँ र नं २) भारतका लोकनायक जयप्रकाश नारायण । त्यसबेला नेपालको क्रूर पञ्चायती शासनको अत्याचारका विरुद्ध संघर्षरत अवस्थामा बीपी बनारसको सारनाथमा निर्वासित जीवन बिताइरहनु भएको थियो । यसका लागि म मेरा अति घनिष्ठतम र आदरणीय मित्र तुलसी भट्टराईलाई बारम्बार धन्यवाद भनिरहन्छु । उहाँकै माध्यमबाट प्रह्लादजी र मैले बीपीलाई भेट्ने सुअवसर पायौं ।
त्यस दिन अर्को सुयोग पनि पर्यो । बीपीलाई नै भेट्न भनेर भारतका लोकनायक जयप्रकाश नारायण सारनाथ आउनुभयो । नेपाल र भारतका दुई महान् नेतालाई एकैदिन, एकैछिन र एकै ठाउँ भेटेको मेरो जीवनकै सबभन्दा महत्त्वपूर्ण दिन थियो त्यो तर त्यतिबेला त्यस्तो महत्त्वपूर्ण दिनको टिपोट गर्नुपर्छ भन्ने बुद्धि पनि पलाएको थिएन । अहिले जस्तो फोटा खिच्ने त जमाना पनि थिएन । केवल मनको क्यामराले खिचेर दिमागले रिल धुलाई मस्तिष्कमा बन्दी छन् ती फोटाहरू । त्यसपछि इतिहासमा धेरै दिनहरू बदलिए । म धरानबाट साहित्यमा शास्त्रीको परीक्षा सकेर २०३२ साल साउनमा एम.ए.र आचार्य पढ्न काठमाडौं आएँ । बत्तीस सालमा दुई सेमेस्टर सकेर तेत्तीस सालको भदौमा दश महिनाका लागि राष्ट्रिय विकास सेवाअन्तर्गत ग्रामीण शैक्षिक विकासको सन्दर्भ लिएर म दार्चुला पुगेँ ।
फलतः २०३३ पुस १६ गते बीपी आफ्नो आठ वर्षे निर्वासित जीवन बिताई राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको ऐतिहासिक दिनमा म काठमाडौंमा नभएका कारण बीपीलाई एयरपोर्टमा स्वागत गर्न भेला भएको अपार जनलहरमा आफूलाई उभ्याउन पाउने सौभाग्यबाट वञ्चित हुन पुगेँ तर २०३४ साल असारमा दार्चुलाबाट फर्केपछि भने बीपीको जीवनकालभरि व्यक्तिगत र सामूहिक दुवै किसिमले प्रशस्त भेट्ने अवसर पाएँ । ती सबै भेटका फरक फरक विशेषता र महत्व छन् । प्रसंगमा अन्यत्रै त्यसको चर्चा गरौंला या नगरौंला । पैलो कुरा त म लेख लेख्न्नका लागि राम्रै अल्छे हुँ, त्यस कारण पनि मेरा थुप्रै अलिखित आलेखहरू मगजमा कलम वा कम्प्युटर खोज्दै मडारिएर बसेका छन् ।
मैले यो आलेख तयार गर्नुपर्ने मुख्य कारण चाहिँ २०३७ सालको दशैँको टीकाको दिनको बीपीसँग भएको भेटको विशेष संस्मरणका लागि हो । यो संस्मरण पनि लेख्ने थिएँ वा थिइन तर एक दिन मेरा अति स्नेहिल भाइ पुरु बाबु (वरिष्ठ पत्रकार तथा प्राध्यापक पुरुषोत्तम दाहाल) सँग २०८३ भदौ १३ गते दाहाल यज्ञनिधिको एउटा वृत्तचित्र बनाउने प्रासंगिक सन्दर्भमा मैले बीपी बारेको प्रस्तुत संस्मरण सुनाएँ । पुरु बाबु बीपीका बारेमा एउटा बृहत् पुस्तक लेख्ने क्रममा हुनुहुँदो रहेछ । अनि उहाँले भन्नुभयो–ओहो कोषराज दाइ, म बीपीका बारेमा एउटा बृहत् पुस्तकको तयारीका क्रममा छु । तपाईंको यो संस्मरण मेरा लागि महत्त्वपूर्ण हुन्छ । छोटो लेखेर फेसबुकमा राख्नू न, छिट्टै है भनेको धेरै समयसम्म पनि मलाई यो लेख्ने फुर्सद जुरेन । अब त अति भयो, भाइको गाली खाइने डर पनि भयो भनेर बल्ल तयार गर्न जुटेँ र तयार पनि गरेँ । जो यस्तो छ-
कुरो के भने २०३७ सालको दशैँमा म मेरो आफ्नै विशेष परिस्थितिका कारण बा-आमा र दाजुहरूको हातको टीका लगाउन विराटनगरको टंकीसिन्वारीस्थित आफ्नो घरमा जान पाइँन । काठमाडौंमा हामी सबै न्यौपानेका अग्रज काका दैवज्ञराज न्यौपानेकी आमाका हातबाट साइतको टीका लगाएँ तर मलाई के लाग्यो भने बापछि मेरो राजनीतिक पिता त बीपी नै हो । म यो अवसर गुमाउँदिन । बीपीका हातको टीका लगाउँछु, लगाउँछु भन्ने दृढनिश्चय गरेर बीपीनिवास जयवागीश्वरीतिर लागेँ । दिउँसो करिब एक बजिसकेको थियो । म जयवागीश्वरी पुगेँ । बीपीले पारिवारिक र आफन्त सबैलाई टीका लगाइदिइसकेको खबर बीपीकै सहायक शिवध्वज दाइबाट अवगत पनि भयो ।
मैले आफ्नो कुरा उहाँलाई नै भनेँ । उहाँले भन्नुभयो- भर्खर टीका सकेर आराम गर्न लाग्नुभएको छ । मैले भनेँ-शिवध्वज दाइ, म यसपालि विशेष कारणले दशैँमा घर जान पाइँन । मेरो दोस्रो पिता त बीपी नै हो । तसर्थ म उहाँको हातको टीका लगाउन आएको ! लौ न दाइ टीका लगाउने व्यवस्था मिलाइदिनुहोस् । उहाँले तपाईंको नाम र ठेगाना लेखेर दिनोस् न त म खबर पुर्याउँछु भनी एउटा कागतको चिर्कटो थमाउनुभयो । मैले त्यस चिर्कटामा कोषराज न्यौपाने सहायक प्राध्यापक त्रिचन्द्र क्याम्पस भनेर लेखी त्यो चिर्कटो दिएँ । उहाँले माथिल्लो तलामा गएर बीपीलाई चिर्कटो दिनुभयो । अनि तल आएर सान्दाजुले बोलाउनुभयो माथि जानुहोस् भन्नुभयो । मेरो मन गद्गद् भयो । म बाहिरी भर्याङबाट माथ्ला तलामा जान लागेँ । त्यो छोटो समयमै पन्ध्र सालको गीतदेखि बनारसमा बीपीलाई भेटेसम्मका थुप्रै रिलहरू दिमागमा घुम्दै थिए ।
बीपी त कोठामा होइन मेरै सामु बरण्डामा सेता कुर्तासुरुवालमा एउटा गोरो अनुहारमा मुस्कानसहित मतिर हेर्दै दुई हात जोडेर र अझ झुकेर उभिनुभएको रहेछ । मैले हतारहतार हात जोड्दै भनेँ–ओहो सान्दाजु, म त फतक्कै गलेँ । के गर्नु भएको ? म फुच्चेलाई लिन बार्दलीमै आएर यसरी उभिँदा त मेरो होसहवासै उड्यो त ! यति ठूलो नेताले यसरी स्वागतै गर्नुपर्ने मान्छे त होइन नि म ! प्रजातन्त्रमा सानाले ठूलालाई जस्तो सम्मान गर्छन् ठूलाले सानालाई पनि त्यस्तै सम्मान गर्नुपर्छ । प्रजातन्त्रको प्रारम्भिक लक्षण हो यो । बीपीले यसो भनिरहँदा गलेर पानीपानी भएको म अलिकति तंग्रिएँ ।
भित्र सुशीला भाउजू हुनुहुँदो रहेछ । नमस्ते भनेँ । म बसेँ । छोटो भलाकुसारी भयो । सान्दाजुले भन्नुभयो, मैले वास्तवमा टीकाको काम सकेर बसेको थिएँ । तपाईंको पदीय गरिमाको सम्मानका लागि आफ्नो निर्णय फेरेको हुँ । ल, टीका लगाइहालौं त है ! टीका थाप्न बसेँ । टीका लगाउँदा उहाँले दिएका अरू आशीर्वाद त निकै थिए, के के थिए ती सबै बिर्सें तर प्रजातान्त्रिक निष्ठामा मनलाई सधैं अडिग राख्नुहोला भनेको वाक्य चाहिँ मेरा कानमा अहिले पनि ताजै भएर गुञ्जिरहेको छ । बीपीसितको मेरो त्यो भेट बढीमा पन्ध्र मिनटभित्रैमा सकिएको थियो तर त्यस क्षणको अमिट छाप भने आजीवन लाहाछाप बनेको छ ।
आज पनि ती क्षण मेरा दिमागमा ताजै सल्बलाई रहेका छन् जब कि समय भने करिब आधाशताब्दी हुन लागिसक्यो । बीपीको त्यो विशिष्ट विनम्रता, त्यो शालीनता, त्यो भव्यता, त्यो महानता त्यस विराट् व्यक्तित्वको चमक आदि मेरा मनमा अटाई नअटाई रहेका छन् । सम्झनामा मात्र रहेका ती पललाई ऐतिहासिक दस्ताबेजका रूपमा लिपिबद्ध गर्न प्रेरणा दिने स्नेहिल भाइ पुरुबाबुलाई हार्दिक धन्यवाद भन्छु । नेपालमा यति नम्र, शिष्ट र यति महान् नेता अरू कोही छन् ? प्रश्न अनुत्तरित छ । इतिहासले जन्माएको एकमात्र महान् नेता बीपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । जय नेपाल ।







हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता