दशैँ नजिकिँदै जाँदा मुलुकभर चाडपर्वको रौनक बढ्न थालेको छ । गाउँघर फर्किनेको चहलपहल, बजारमा किनमेल गर्नेको भिड, नयाँ लुगा, खाद्यान्न, फलफूल, मासु, मिठाइ तथा पेयपदार्थ खरिद गर्ने क्रम तीव्र हुँदै गएको छ । नेपाली समाजमा दशैँ केवल एउटा पर्व होइन, परिवारसँग भेटघाट गर्ने, दुःख–सुख साटासाट गर्ने र वर्षभरको थकान बिर्सने महत्त्वपूर्ण अवसर पनि हो । तर, यही खुशीको पर्व नजिकिँदै गर्दा आम उपभोक्ताको मनमा भने एउटा गम्भीर प्रश्न उब्जिएको छ-यसपालिको दशैँ साँच्चिकै उत्सव बन्छ कि महँगी, कालोबजारी र उपभोक्ता ठगीका कारण दशा बन्छ ?
नेपालीको घर आगँनमा दशैँ आइसकेको छ । घरघरमा आइतबार जमराखिएसँगै यसको औपचारिक सुरुवात भइसकोको छ । घरघरमा टीका, नयाँ कपडा र विभिन्न परिकारको तयारी हुँदैछ । परदेशमा रहेका नेपालीहरू घर फर्कने तयारीमा छन् । गाउँघरमा चहलपहल बढ्दैछ । यस्तो समयमा राज्यको प्राथमिकता नागरिकको अनुहारमा खुशी ल्याउनु हुनुपर्छ, चिन्ता थप्नु होइन । सरकारले बजारलाई प्रभावकारी रूपमा नियमन गर्न सके, व्यवसायीले जिम्मेवार भएर व्यापार गरे र उपभोक्ताले पनि आफ्नो अधिकारप्रति सचेत भएमात्र दशैँ साँचो अर्थमा उत्सव बन्नसक्छ ।
हरेक वर्ष दशैँ, तिहार, छठलगायत ठूला चाडपर्व नजिकिँदा बजारमा माग बढ्छ । माग बढ्नु स्वाभाविक हो । तर, माग बढेको बहानामा मूल्य अस्वाभाविक रूपमा बढाउने, कृत्रिम अभाव सिर्जना गर्ने, लुकाएर राखिएका सामान महँगोमा बिक्री गर्ने, गुणस्तरहीन वस्तुलाई राम्रो वस्तुको नाममा बेच्ने र म्याद नाघेका खाद्य तथा पेयपदार्थ बजारमा पठाउने प्रवृत्ति पनि बढ्दै आएको गुनासो सुनिन्छ । चाडपर्वलाई व्यापारको अवसरका रूपमा लिनु गलत होइन, तर उपभोक्ताको बाध्यतालाई शोषण गरेर नाफा कमाउने प्रवृत्ति कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।
अहिले सामान्य परिवारको दैनिकी नै महँगीले थिचिएको छ । खाद्यान्नदेखि तरकारी, फलफूल, तेल, चिनी, दाल, मासु, लत्ताकपडा, यातायातदेखि दैनिक उपभोगका अधिकांश वस्तुको मूल्यले उपभोक्ताको बजेट बिगारिरहेको छ । आम्दानी बढेको अनुपातमा खर्च घटेको छैन, बरू खर्च बढ्दै गएको छ । महिनाको तलब घरखर्च धान्नै मुस्किल पर्ने अवस्थामा दशैँजस्तो ठूलो पर्व आउँदा मध्यम तथा न्यून आय भएका परिवारका लागि थप आर्थिक दबाब सिर्जना हुन्छ । वर्षभर बचत गरेको थोरै रकम दशैँमा खर्च गर्नुपर्ने बाध्यता हुन्छ । त्यसमाथि बजारमा मूल्यवृद्धि भयो भने चाडपर्वको खुशीभन्दा आर्थिक तनाव ठूलो बन्न पुग्छ ।
सरकारले हरेक वर्ष चाडपर्व लक्षित बजार अनुगमन गर्ने घोषणा गर्छ । सम्बन्धित मन्त्रालय, विभाग, स्थानीय तह र विभिन्न सरकारी निकायबाट संयुक्त अनुगमन टोली परिचालन गरिन्छ । बजारमा छापा मारिन्छ, केही पसलमा जरिवाना गरिन्छ, म्याद नाघेका वस्तु बरामद गरिन्छ र कतिपय व्यवसायीलाई कारबाही गरिएको समाचार सार्वजनिक हुन्छ । तर, प्रश्न यहीँनेर छ- यी अनुगमन र कारबाहीको प्रभाव बजारमा कति परेको छ ? उपभोक्ताले त्यसको राहत किन महसुस गर्न सकेका छैनन् ?
अनुगमनको संख्या बढाएरमात्र बजार सुधारिँदैन । अनुगमन परिणाममुखी हुनुपर्छ । बजारमा गएर केही बोरा म्याद नाघेका सामान बरामद गर्ने, केही व्यापारीलाई जरिवाना गर्ने र भोलिपल्ट फेरि उही बजारमा उही समस्या दोहोरिने हो भने यस्तो अनुगमनले राज्यको उपस्थिति देखाएजस्तो मात्र हुन्छ । उपभोक्ताले खोजेको कुरा सरकारी टोलीको फोटो होइन, बजारमा निष्पक्ष मूल्य, गुणस्तरीय वस्तु र सुरक्षित खाद्य पदार्थ हो । राज्यको अनुगमनको वास्तविक सफलता कति पसलमा छापा मारियो भन्नेमा होइन, त्यसपछि बजारमा मूल्य, गुणस्तर र व्यापारिक अनुशासनमा कति सुधार आयो भन्नेमा मापन हुनुपर्छ ।
कालोबजारी र कृत्रिम अभावको समस्या पनि गम्भीर छ । कुनै वस्तुको आपूर्ति पर्याप्त हुँदाहुँदै बजारमा अभाव भएको हल्ला फैलाउने, गोदाममा सामान थन्क्याएर मूल्य बढाउने र उपभोक्तालाई महँगोमा सामान किन्न बाध्य पार्ने प्रवृत्तिले बजारको स्वाभाविक प्रणालीलाई कमजोर बनाउँछ । यसमा एकल व्यापारीमात्र दोषी नहुन सक्छ । आपूर्ति शृंखलाका विभिन्न तहमा हुने मिलेमतो, कमजोर नियमन र प्रभावशाली व्यवसायीको दबाबले समस्या थप जटिल बनाउने गरेको आरोप लाग्दै आएको छ । यदि राज्यसँग पर्याप्त सूचना, तथ्यांक र अनुगमन प्रणाली हुँदाहुँदै कृत्रिम अभाव सिर्जना हुन्छ भने नियमन संयन्त्रको कमजोरी हो ।
अझ चिन्ताजनक पक्ष खाद्य मिसावट र म्याद नाघेका खाद्य तथा पेयपदार्थको बिक्री हो । मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा कुनै पनि प्रकारको लापरवाही क्षम्य हुनसक्दैन । दशैँका बेला मिठाइ, मासु, पेयपदार्थ, डेरीजन्य वस्तु, प्याकेजिङ गरिएका खाद्य सामग्री र अन्य उपभोग्य वस्तुको माग अत्यधिक बढ्छ । यही समयलाई मौका बनाएर गुणस्तरहीन वा म्याद नाघेका वस्तु बजारमा पठाइए त्यसको प्रत्यक्ष असर उपभोक्ताको स्वास्थ्यमा पर्न सक्छ । पैसा गुमाउनु एउटा समस्या हो, तर खराब खाद्य पदार्थका कारण स्वास्थ्य गुमाउनु अझ ठूलो समस्या हो ।
उपभोक्ता ठगीको अर्को कारण बजारमा मूल्यसूचीको प्रभावकारी कार्यान्वयन नहुनु । धेरै ठाउँमा वस्तुको वास्तविक मूल्य, खरिद मूल्य, बिक्री मूल्य र मूल्य निर्धारणको आधारबारे उपभोक्ता स्पष्ट हुँदैनन् । एउटै वस्तुको मूल्य पसलअनुसार फरक हुन्छ । उपभोक्ताले प्रश्न गर्दा व्यवसायीले ढुवानी महँगो भएको, आपूर्ति कम भएको, डलरको मूल्य बढेको, उत्पादन लागत बढेको वा थोक बजारबाटै महँगोमा आएको जस्ता अनेक कारण देखाउँछन् । कतिपय अवस्थामा यी कारण वास्तविक हुन सक्छन्, तर उपभोक्ताले वास्तविकता जाँच्ने आधार पाउँदैन । परिणामतः बजारमा मूल्य निर्धारणको जिम्मेवारी व्यापारीकै हातमा पुगेजस्तो देखिन्छ ।
सरकारले बजारलाई खुला र प्रतिस्पर्धी बनाउने कुरा गर्छ । खुला बजारको अर्थ व्यापारीले आफूखुशी मूल्य तोक्न पाउनु होइन । प्रतिस्पर्धी बजारमा उपभोक्तासँग छनोटको अधिकार हुनुपर्छ, वस्तुको गुणस्तरबारे सही सूचना पाउनुपर्छ र मूल्य निर्धारण पारदर्शी हुनुपर्छ । तर, जब बजारमा केही सीमित व्यवसायी वा आपूर्तिकर्ताको प्रभाव हुन्छ, प्रतिस्पर्धा कमजोर हुन्छ र उपभोक्ता अन्ततः मूल्य तिर्न बाध्य हुन्छ । त्यसैले बजारलाई स्वतन्त्र छाड्नु र बजारलाई नियमन नगर्नु एउटै कुरा होइन ।
अर्कोतर्फ, सबै व्यवसायीलाई एउटै नजरले हेर्न मिल्दैन । धेरै व्यवसायी इमानदारीपूर्वक व्यापार गरिरहेका छन् । उनीहरूले उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउने, उचित नाफा राख्ने र कानुन पालना गर्ने प्रयास गरेका हुन्छन् । समस्या त्यतिबेला उत्पन्न हुन्छ जब केही बदमास व्यवसायीले गैरकानुनी नाफा कमाउँदा इमानदार व्यवसायी प्रतिस्पर्धामा पछि पर्न थाल्छन् । कालोबजारी गर्ने व्यापारीले अस्वाभाविक नाफा कमाउँछ भने कानुन पालना गर्ने व्यवसायीले बजारमा टिक्न कठिन हुन्छ । त्यसैले उपभोक्ता संरक्षणसँगै इमानदार व्यवसायीको संरक्षण पनि राज्यको जिम्मेवारी हो ।
कानुन फितलो भएको गुनासो बारम्बार सुनिन्छ । उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई कारबाही भए पनि त्यसको प्रभाव पर्याप्त नहुने, जरिवाना सामान्य व्यापारिक खर्चजस्तो बन्ने र पुनः उही अपराध दोहोरिने अवस्था रह्यो भने कानुनको डर हराउँछ । कारबाही प्रक्रिया लामो र जटिल हुँदा व्यवसायीले त्यसलाई गम्भीर रूपमा नलिन सक्छन् । त्यसैले उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई प्रभावकारी कार्यान्वयन गर्दै दोषी प्रमाणित हुनेलाई वास्तविक रूपमा दण्डित गर्ने र क्षतिपूर्तिको व्यवस्था बलियो बनाउनु आवश्यक छ ।
यसमा राजनीतिक तथा प्रशासनिक दबाबको प्रश्न उठ्छ । बजार अनुगमन गर्ने निकायले स्वतन्त्र रूपमा काम गर्न नसक्ने, प्रभावशाली व्यापारी वा व्यवसायी समूहको दबाबमा कारबाही कमजोर हुने वा अनुगमन बीचमै रोकिने अवस्था छ भने त्यसले राज्यप्रतिको विश्वास कमजोर बनाउँछ । कानुन सबैका लागि समान हुनुपर्छ । सानो पसलमा गल्ती भेटिँदा कडा कारबाही गर्ने तर ठूलो व्यवसायी वा प्रभावशाली समूहले त्यही गल्ती गर्दा आँखा चिम्लिने हो भने उपभोक्ता संरक्षणको अभियान विश्वसनीय रहँदैन ।
दशैँको समयमा राज्यले बजारलाई अझ संवेदनशील ढंगले हेर्नुपर्छ । अनुगमन केवल राजधानीका मुख्य बजारमा सीमित हुनुहुँदैन । गाउँ, नगर, राजमार्ग, सीमावर्ती बजारदेखि अनलाइन व्यापारसम्म अनुगमनको दायरा विस्तार गर्न आवश्यक छ । पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने व्यापार पनि बढेको छ । त्यहाँ मूल्य, गुणस्तर, नक्कली ब्रान्ड, गलत विज्ञापन र उपभोक्ता ठगीका नयाँ स्वरूप देखिन सक्छन् । बजारको स्वरूप परिवर्तन भइरहेका बेला राज्यको अनुगमन प्रणाली पनि आधुनिक र प्रविधिमैत्री बन्नुपर्छ ।
उपभोक्ताले आफ्नो अधिकारबारे सचेत हुन आवश्यक छ । सामान किन्दा बिल लिने, म्याद हेर्ने, लेबल जाँच गर्ने, मूल्यसूची हेर्ने र शंकास्पद वस्तु नकिन्ने बानी विकास गर्नुपर्छ । तर, सबै जिम्मेवारी उपभोक्तामाथि थोपरेर राज्य उम्कन मिल्दैन । एउटा सामान्य उपभोक्ताले प्रत्येक खाद्य पदार्थको प्रयोगशाला परीक्षण गर्न सक्दैन । उसले बजारमा सुरक्षित र गुणस्तरीय वस्तु पाइन्छ भन्ने विश्वास गर्न पाउनुपर्छ । यही विश्वास कायम गर्नु राज्यको आधारभूत दायित्व हो ।
चाडपर्वका बेला उपभोक्ताको माग बढ्नु अर्थतन्त्रका लागि सकारात्मक अवसर पनि हो । व्यापार बढ्छ, उत्पादन बढ्छ, रोजगारी र कारोबार बढ्छ । त्यसैले सरकारले महँगी नियन्त्रण गर्ने नाममा बजारलाई निरुत्साहित गर्ने होइन, स्वस्थ व्यापारलाई प्रोत्साहन गर्दै अस्वस्थ व्यापारलाई नियन्त्रण गर्नुपर्छ । किसानबाट उपभोक्तासम्म पुग्ने आपूर्ति शृंखलामा अनावश्यक बिचौलियाको प्रभाव घटाउने, ढुवानी प्रणाली व्यवस्थित गर्ने, भण्डारण क्षमता बढाउने र आवश्यक वस्तुको आपूर्ति सहज बनाउने दीर्घकालीन नीति आवश्यक छ । हरेक वर्ष दशैँ आउनुभन्दा केही दिनअघि अनुगमन गरेरमात्र समस्या समाधान हुँदैन ।
सरकारले अत्यावश्यक वस्तुको मूल्य र आपूर्तिको नियमित तथ्यांक सार्वजनिक गर्नसके बजारमा अफवाह र कृत्रिम अभावको सम्भावना घटाउन सकिन्छ । कुन वस्तुको पर्याप्त मौज्दात छ, कहाँबाट आपूर्ति भइरहेको छ, मूल्य कति छ र अस्वाभाविक मूल्यवृद्धि भए कहाँ उजुरी गर्ने भन्ने सूचना उपभोक्तालाई सहज रूपमा उपलब्ध हुनुपर्छ । उपभोक्ताको गुनासो तत्काल सुन्ने र कारबाहीको अवस्थाबारे जानकारी दिने प्रणाली निर्माण गर्नसके सरकारी अनुगमनप्रति जनविश्वास पनि बढ्छ ।
दशैँ सबैका लागि समान खुशीको पर्व बन्नुपर्छ । धनीका लागि मात्र होइन, दैनिक ज्यालादारी गर्ने मजदुर, साना किसान, निम्न आय भएका परिवार, मध्यमवर्गीय कर्मचारी र सामान्य नागरिकका लागि पनि दशैँ खुशीको अवसर हुनुपर्छ । चाडपर्वको नाममा महँगी बढाउने, अभाव सिर्जना गर्ने र उपभोक्ता ठग्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो । नागरिकको भान्सासम्म पुग्ने महँगी नियन्त्रण गर्न नसक्ने शासनले विकास र समृद्धिका ठूला नाराले मात्र जनताको विश्वास जित्न सक्दैन ।
अहिलेको सबैभन्दा ठूलो चुनौती महँगी मात्र होइन, महँगीप्रतिको राज्यको संवेदनशीलता हो । गरिब परिवारका लागि एक किलो चामलको मूल्य बढ्नु सामान्य तथ्यांक होइन । एउटा मजदुरका लागि तेल, दाल, तरकारी र मासुको मूल्य बढ्नु उसको परिवारको खानाको गुणस्तरसँग जोडिएको विषय हो । एउटा अभिभावकका लागि दशैँमा छोराछोरीलाई नयाँ कपडा किन्न नसक्नु केवल आर्थिक कठिनाइ होइन, भावनात्मक पीडा हो । त्यसैले महँगीका तथ्यांकलाई केवल प्रतिशतमा होइन, नागरिकको जीवनमा परेको प्रभावका आधारमा बुझ्न आवश्यक छ ।
दशैँ नेपाली समाजमा खुशी, सद्भाव र पारिवारिक मिलनको पर्व हो । तर, यदि एउटा परिवारले वर्षभरको कमाइको ठूलो हिस्सा चाडपर्वको अत्यधिक मूल्यमा खर्च गर्नुपर्यो, गुणस्तरहीन खाद्य पदार्थको डरमा बजार जानुपर्यो र व्यापारीले ठग्ने हो कि भन्ने चिन्तामा सामान किन्नुपर्यो भने त्यो पर्वको अर्थ कमजोर हुन्छ । चाडपर्वको खुशी बजारको कृत्रिम महँगीले खोस्नु हुँदैन ।
सरकारका लागि दशैँ केवल अनुगमनको औपचारिकता पूरा गर्ने मौसम बन्नु हुँदैन । बजारमा देखिने केही पसलमा छापा मारेर प्रचार गर्नेभन्दा आपूर्ति शृंखलाको वास्तविक समस्या पहिचान गर्नुपर्छ । कालोबजारी, कृत्रिम अभाव, खाद्य मिसावट, म्याद नाघेका वस्तुको बिक्री र अस्वाभाविक मूल्यवृद्धिमाथि कठोर तथा निष्पक्ष कारबाही हुनुपर्छ । अनुगमनमा राजनीतिक, प्रशासनिक वा व्यावसायिक दबाब स्वीकार गर्नु हुँदैन । दोषी जोसुकै होस्, कानुनको दायरामा ल्याउनुपर्छ ।
व्यवसायीले बुझ्न आवश्यक छ- दशैँ उपभोक्ताको बाध्यताको फाइदा उठाएर अस्वाभाविक नाफा कमाउने पर्व होइन । व्यापार विश्वासमा टिक्छ । एकपटक ठगी गरेर कमाएको अतिरिक्त नाफाभन्दा इमानदार व्यापारबाट वर्षौँसम्म कमाइने विश्वास ठूलो हुन्छ । व्यवसायीले उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउने संस्कार विकास गर्नसके चाडपर्व बजारका लागि अवसर र उपभोक्ताका लागि खुशीको माध्यम बन्नसक्छ ।
नेपालीको घर आगँनमा दशैँ आइसकेको छ । घरघरमा आइतबार जमराखिएसँगै यसको औपचारिक सुरुवात भइसकेको छ । घरघरमा टीका, नयाँ कपडा र विभिन्न परिकारको तयारी हुँदैछ । परदेशमा रहेका नेपालीहरू घर फर्कने तयारीमा छन् । गाउँघरमा चहलपहल बढ्दैछ । यस्तो समयमा राज्यको प्राथमिकता नागरिकको अनुहारमा खुशी ल्याउनुहुनुपर्छ, चिन्ता थप्नु होइन । सरकारले बजारलाई प्रभावकारी रूपमा नियमन गर्नसके, व्यवसायीले जिम्मेवार भएर व्यापार गरे र उपभोक्ताले पनि आफ्नो अधिकारप्रति सचेत भएमात्र दशैँ साँचो अर्थमा उत्सव बन्न सक्छ ।
अन्ततः दशैँ सबैका लागि समान खुशीको पर्व बन्नुपर्छ । धनीका लागि मात्र होइन, दैनिक ज्यालादारी गर्ने मजदुर, साना किसान, निम्न आय भएका परिवार, मध्यमवर्गीय कर्मचारी र सामान्य नागरिकका लागि पनि दशैँ खुशीको अवसर हुनुपर्छ । चाडपर्वको नाममा महँगी बढाउने, अभाव सिर्जना गर्ने र उपभोक्ता ठग्ने प्रवृत्तिलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो । नागरिकको भान्सासम्म पुग्ने महँगी नियन्त्रण गर्न नसक्ने शासनले विकास र समृद्धिका ठूला नाराले मात्र जनताको विश्वास जित्न सक्दैन । त्यसैले यसपालिको दशैँमा सरकारको परीक्षा सडकमा होइन, बजारमा हुनेछ; भाषणमा होइन, उपभोक्ताको भान्सामा हुनेछ । राज्यले समयमै प्रभावकारी कदम चालोस्, बजारमा अनुशासन कायम होस् र आम नागरिकले निर्धक्क भएर चाड मनाउन पाऊन् । दशैँ खुशीको पर्व बनोस्, महँगी र कालोबजारीको कारण कसैका लागि दशा नबनोस् ।
(लेखक डा.उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्तित्व हुनुहुन्छ ।)







रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र
एनपिएलको तयारी अन्तिम चरणमा, दर्शकको
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार