काठमाडौं । मध्यपूर्वको द्वन्द्वग्रस्त मुलुक यमनमा हिंसात्मक झडपले उग्र रूप लिएको छ । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध सञ्चालन गरेको व्यापक सैन्य कारबाहीका क्रममा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु भएको दाबी गरेको छ । पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चालाई लक्षित गरी गरिएको यस कारबाहीमा एक हजार नौ सयभन्दा बढी सैन्य आक्रमण गरिएको सरकारी सेनाले जनाएको छ ।
सरकारी सेनाका प्रवक्ता माजेद अल-नुजाइलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विवरणअनुसार यस अभियानका क्रममा हुथी समूहका हतियार भण्डार, सैन्य शिविर, किल्लाबन्दी, तोपखाना तैनाथ क्षेत्र, सैनिक जमघट र रसद आपूर्ति मार्गहरूलाई मुख्य निशाना बनाइएको थियो । हुथीको नियन्त्रणमा रहेका रणनीतिक क्षेत्रभित्रका महत्त्वपूर्ण सैन्य संरचनामा समेत प्रहार गरिएको र यस दौरान १८० भन्दा बढी सैन्य तथा रसदसम्बन्धी सवारीसाधन नष्ट वा क्षतिग्रस्त भएको दाबी गरिएको छ । प्रवक्ता अल-नुजाइलीले यी कारबाहीले हुथी समूहको सैन्य गतिविधि र अग्रपंक्तिमा सामग्री पुर्याउने क्षमतालाई गम्भीर रूपमा कमजोर पार्ने विश्वास व्यक्त गर्नुभयो । यद्यपि, सरकारी सेनाले सार्वजनिक गरेका यी हताहती तथा क्षतिको विवरणहरू स्वतन्त्र रूपमा पुष्टि हुन भने बाँकी नै छ ।
साउदी अरेबियामाथि हुथीको क्षेप्यास्त्र आक्रमण
यमन सरकारलाई समर्थन गर्दै साउदी अरबले हवाई सैन्य कारबाहीलाई तीव्रता दिएपछि हुथी समूहले पनि जवाफी कारबाहीका रूपमा साउदी भूभागभित्र आक्रमण तीव्र पारेको छ । हालै राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी गरिएको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणले क्षेत्रीय सुरक्षामा थप गम्भीर चुनौती थपेको छ ।
शनिबार राति रियादस्थित विमानस्थलमा भएको उक्त आक्रमणमा हुथी विद्रोहीको प्रत्यक्ष संलग्नता रहेको आरोप साउदी अरेबियाले लगाएको छ । साउदी अधिकारीहरूले यस घटनालाई युद्ध अपराधको संज्ञा दिएका छन् । प्राप्त विवरणअनुसार उक्त आक्रमणमा परी १२ जनाको ज्यान गएको छ भने तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । हुथी समूहले यसअघि नै साउदीको आकाशलाई आफ्नो सैन्य कारबाही क्षेत्र घोषणा गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई साउदीतर्फ उडान नभर्न चेतावनी दिएको थियो ।
सन् २०१४ को अन्त्यदेखि नै यमन गृहयुद्धको चपेटामा परेको छ । त्यसबेला हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सा नियन्त्रणमा लिएको थियो । त्यसको लगत्तै, सन् २०१५ मा साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप सुरु गरेको थियो । हाल उक्त सरकार दक्षिणी बन्दरगाह सहर एडेनबाट सञ्चालित छ ।
साउदीको सैन्य रणनीतिलाई धक्का
यमनको यो लामो द्वन्द्व आन्तरिक राजनीतिक संघर्षमा सीमित नरहेर क्षेत्रीय शक्तिराष्ट्रहरूको खेलमैदान बनेको छ । एक समय यमनमा हुथीविरुद्ध साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) ले संयुक्त रूपमा सैन्य अभियान चलाएका थिए । तर, युद्धपछिको यमनमा कसको शासन हुने र कस्तो राजनीतिक ढाँचा बन्ने भन्ने विषयमा दुवै देशबीच तीव्र वैचारिक तथा रणनीतिक मतभेद उत्पन्न भयो । युएईले दक्षिणी यमनमा छुट्टै राज्यको माग गर्ने एसटिसी (साउदर्न ट्रान्जिस्नल काउन्सिल) लाई समर्थन गरेपछि साउदी अरबसँगको दूरी बढ्यो । गत डिसेम्बरमा साउदी सेनाले मुकल्ला बन्दरगाहमा गरेको हवाई आक्रमणपछि दुई देशबीचको औपचारिक साझेदारीमा ठूलो दरार आयो ।
त्यसपश्चात् युएईले आफ्ना सैनिकहरू फिर्ता बोलाएपछि साउदीको सैन्य रणनीतिलाई ठूलो धक्का लाग्यो ।
यसैबीच, अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान थालेपछि क्षेत्रीय तनाव झनै चुलिएको छ । इरानसँगको निकटताका कारण हुथीहरूले साउदी अरेबिया र यमन सरकारसँगको चार वर्ष पुरानो युद्धविराम सम्झौता तोडेर आक्रमणहरू पुनर्जीवित गरेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार पछिल्लो तीन महिनाको अवधिमा मात्रै दुई लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् भने हजारौँको संख्यामा मानवीय क्षति भइसकेको छ ।
साउदी अरबका युवराज मोहम्मद बिन सलमानले आफ्नो देशको अर्थतन्त्रलाई तेलमाथिको निर्भरताबाट मुक्त गरी पर्यटन, प्रविधि र ठूला लगानीका परियोजनामार्फत विश्वको प्रमुख केन्द्र बनाउने महत्त्वाकांक्षी योजना अगाडि सार्नुभएको छ । तर, यमनबाट लगातार भइरहेका यी आक्रमणहरूले साउदीको आन्तरिक सुरक्षा मात्र नभई लगानी सम्मेलन, सांस्कृतिक महोत्सव र पर्यटन क्षेत्रलाई समेत गम्भीर रूपमा प्रभावित पारेका छन् । अमेरिकाबाट प्रत्यक्ष सैन्य सहयोग पाउन नसकेको अवस्थामा साउदी अरबले फ्रान्स, बेलायत, टर्की र पाकिस्तानसँगको रक्षा सहयोगलाई बलियो बनाउँदै यो संकट टार्ने प्रयास गरिरहेको छ ।
को हुन् हुथी ?
हुथी एक राजनीतिक तथा कट्टर धार्मिक आन्दोलन हो । अहिले हुथी विद्रोहीहरूले उत्तर-पश्चिम यमनको ठूलो भूभागमा आफ्नो शासन चलाइरहेका छन् । सन् १९९० को दशकमा सुदूर उत्तरी यमनमा शिया इस्लामको जैदी सम्प्रदायको पुनरुत्थानवादी आन्दोलनका रूपमा यसको सुरुवात भएको थियो । १९९० को दशकपछि हुथी समूहले आफ्नो पुरानो वैभव फर्काउने नारा दिएर ठूलो संख्यामा मानिसहरूलाई आन्दोलनमा गोलबन्द गरेको थियो ।
सन् २०११ को अरब स्प्रिङ जनआन्दोलनको फाइदा उठाउँदै उनीहरूले उत्तरी यमनमा आफ्नो पकड थप बलियो बनाए र इरानको सहयोगमा विशाल सैन्य दस्ता निर्माण गरे । सन् २०१४ को सेप्टेम्बरमा हुथीहरूले राजधानी साना कब्जा गरेपछि यमनको गृहयुद्धले उग्र रूप लियो । पछिल्लो समय इरानको प्रतिरोध सञ्जालका प्रमुख घटकका रूपमा चिनिने हुथी समूहले लाल सागरतर्फ जाने मालवाहक पानीजहाज तथा तेल ट्यांकरहरूमाथि लगातार आक्रमण गर्दै आएको छ । यसले विश्वव्यापी व्यापार र ऊर्जा आपूर्तिमा ठूलो असर पारेको छ । हर्मुज जलमार्ग र बाब अल-मन्देब जलमार्गमा देखिएका अवरोधका कारण पश्चिम एसियाबाट तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा समस्या उत्पन्न हुँदा विश्वव्यापी रूपमा मूल्यवृद्धि भएको छ । (अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा)







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :