काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा बजेट प्रस्तुत गरेको छ । लामो समयदेखि बजेटविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमास बित्नै लाग्दा आइतबार प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरेसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेश सरकारको आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्नेछन् ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटका लागि आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ नौ अर्ब ६ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटबाट विनियोजन भई बचत हुने अनुमानित रकम नौ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतका रूपमा समावेश गरेको छ । यसैगरी, सशर्त अनुदानतर्फ ६ अर्ब तीन करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि एमाले र नेकपाको गठबन्धन सरकार बनेको थियो । एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि बजेट आएको हो । नयाँ सरकार गठन भए पनि सत्ता गठबन्धन र मन्त्रिपरिषद्का सदस्यहरूबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा र बजेट विवाद अदालतसम्म पुग्दा प्रदेश सरकार लामो समयसम्म बजेटविहीन बन्न पुगेको थियो । असार १ गते प्रस्तुत बजेट असफल भएपछि चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले परिमार्जित र संशोधन गरेर दोस्रो पटक बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले पुँजीगत र चालु खर्च नछुट्याई बजेट सार्वजनिक गरेको छ । बजेट रोकिँदा कर्मचारीहरूलाई तलबदेखि प्रशासनिक खर्चसमेत प्रभावित भएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ का लागि तत्कालीन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले २०८३ साल असार १ गते मध्यरात ११ः४५ बजे बजेट वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
असारमा तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा समस्या हुँदा पारित हुन सकेन । बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि चालु आर्थिक वर्ष सुरु भएदेखि नै प्रदेशमा बजेट शून्यताको अवस्था छ । बजेट अभावमा प्रदेश सरकारका नियमित कामकाज, विकास निर्माण तथा सेवा प्रवाह प्रभावित हुँदै आएका छन् । स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुन थालेको छ । बजेट ल्याउने विषयमा सरकारभित्रै देखिएको अन्योल र विवादका कारण प्रदेशसभा बैठक पटक-पटक प्रभावित हुँदै आएको थियो । बजेट प्रस्तुत भएसँगै लामो समयदेखि कायम बजेट शून्यताको अवस्था अन्त्य हुनुको साथै प्रदेश सरकारको आर्थिक तथा विकास निर्माणसम्बन्धी काम अघि बढ्ने अपेक्षा गरिएको छ । बजेट प्रस्तुत बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू भने सहभागी भएनन् ।
दोधारा चाँदनीको झोलुंगे पुल मर्मतका लागि एक करोड
सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको दोधारा चाँदनीमा रहेको झोलुंगे पुल मर्मतका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल केही दिनअघि आएको बाढीका कारण क्षतिग्रस्त भएको थियो । पुलमा करिब २५ प्रतिशत क्षति पुगेपछि प्रदेश सरकारले मर्मतका लागि बजेट छुट्याएको हो । केही दिनअघि प्रदेश सरकारले उक्त पुलको अवस्थाबारे अनुगमनसमेत गरेको थियो । आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रदेशसभामा आइतबार बजेट प्रस्तुत गर्दै पुल मर्मतका लागि एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको हो ।
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीहरू, मुख्य न्यायाधिवक्ताहरू, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरू र प्रमुख सचिवहरूको सहभागिता रहने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभएको छ । सम्मेलनले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउने, प्रदेशहरूले हालसम्म गरेका अभ्यास, कार्यान्वयनका अनुभव, सफल मोडल र साझा चुनौतीहरूबारे विस्तृत छलफल गरिने योजना छ । संविधानप्रदत्त प्रदेशका अधिकारको प्रयोग, संघ, प्रदेश र स्थानीय तहबीचको जिम्मेवारीमा स्पष्टता, वित्तीय संघीयता र प्रदेशको स्रोत परिचालनका विषयमा विचार-विमर्श हुने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभएको छ ।
प्रदेशका साझा हितका विकास आयोजना, अन्तरप्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाट एवं विपत् व्यवस्थापनमा सहकार्य सुदृढ गर्ने, सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्ने र प्रदेशको आन्तरिक आय अभिवृद्धिका सम्भावनाहरूलाई उपयोग गर्नेलगायत एजेण्डा रहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिनुभएको छ ।






अबको कांग्रेस रूपान्तरण हुने अपेक्षा
बडादशैँमा सिक्वेलको महाभिडन्त
ती दिनहरू फेरि आउँलान र
दशैँको शुभकामना
हिमाली क्षेत्रमा वर्षा र हिमपातको
कति छ आज विदेशी मुद्राको