रौतहट । बैंक तथा ई-सेवाका कर्मचारी हुँ भन्दै अनलाइन ठगी गर्ने गिराेहलाई राैतहट प्रहरीले पक्राउ गरेकाे छ । रौतहटको गौर नगरपालिकामा डेरा लिएर बस्दै आएकाे समुहले विभिन्न बैंक तथा ई-सेवाका कर्मचारी भएको भन्दै सर्वसाधारणलाई झुक्याएर अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।
अनलाइन ठगीको आराेपमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैरगनियाका २४ वर्षीय मो. साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका-५ का १८ वर्षीय नितेश कुशवाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जानकारी दिदै प्रहरी उपरीक्षक सिताराम रिजालले उनीहरूले बैंक तथा ई-सेवाका कर्मचारी भएको परिचय दिँदै खातावालालाई फोन गरेर केवाईसी अपडेट गर्नुपर्ने भन्दै झुक्याउने गरेका थिए । त्यसक्रममा मोबाइलको स्क्रिन शेयर गर्न र ओटिपी कोड उपलब्ध गराउन लगाएर विभिन्न व्यक्तिको बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्याई रकम ट्रान्सफर गरेर ठगी गर्ने गरेको एसपी रिजालले बताउनु भयाे ।
प्रहरीले प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका-३ पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जानकारी दिएको छ । ठगीको आराेपमा पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद, मोबाइल, सिमकार्ड, एटीएम कार्ड, बैंकका चेकबुक तथा अन्य कागजात समेत बरामद भएको थियो ।
अनलाइनकाे माध्यमबाट ४९ लाखभन्दा बढी ठगी भएको विवरण सार्वजनिक, ठगी सम्बन्धि प्रहरीमा २२ वटा उजुरी
राैतहट प्रहरीकाअनुसार केवाईसी अपडेट गर्नुपर्ने भन्दै झुक्याएर ठगी गरिएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा हालसम्म २२ वटा उजुरी प्राप्त भएका छन् । प्रारम्भिक अनुसन्धानबाट हालसम्म ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको विवरण देखिएको छ । ठगी भएको रकमको थप विवरण संकलन तथा अन्य घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ भने घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको समेत खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले छापा मारेपछि नगददेखि बैंकका चेकबुकसम्म बरामद
अनलाइन ठगीकाे अनुसंधान गर्दै जादा प्रहरीले गाैर ३ र ४ मा छापा मारे पछि घटनामा संलग्न एक भारतीयसहित तीन जना पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली रुपैयाँ एक लाख ६२ हजार २१० र भारतीय रुपैयाँ तीन हजार २३६ बरामद भएको प्रहरीको सार्वजनिक गरेकाे विवरणमा उल्लेख छ । त्यसैगरि उनीहरुकाे काेठाबाट सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेका ३० थान भौचर र तीन थान एटीएम कार्ड बरामद गरिएको छ ।
प्रहरीले रकमको हिसाबकिताब राखिएको डायरी, विभिन्न व्यक्तिहरूको नाम उल्लेख भएको कपी, प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २ लाख रुपैयाँको एक थान चेक तथा ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंक लिमिटेडका तीन थान चेकबुकसमेत बरामद गरेको जनाएको छ । एक थान पेनड्राइभ, दुई थान मेमोरी कार्ड तथा ई-सेवा र बैंकिङ सेवासँग सम्बन्धित शब्दहरू लेखिएका पर्चाहरूसहित बरामद सामग्रीको थप विश्लेषणबाट ठगीको सञ्जाल र कारोबारबारे थप विवरण खुल्न सक्ने प्रहरीको भनाइ छ ।
कसरी गरिन्थ्यो अनलाइन ठगी
प्रहरीको प्रारम्भिक अनुसन्धान विवरणअनुसार पक्राउ परेका आरोपितहरूले योजनाबद्ध रूपमा समूह बनाएर कामको बाँडफाँड गर्ने गरेको खुलेको छ । उनीहरूले मोबाइल बैंकिङ प्रयोग गर्ने सम्भावित खातावालाको मोबाइल नम्बर पहिचान गर्न RBB Digital Sansar एपको प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसंधानबाट खुलेकाे छ ।
त्यसपछि अनुमानित मोबाइल नम्बर राखेर मोबाइल बैंकिङ सक्रिय रहे-नरहेको तथा सम्बन्धित खाताबारे जानकारी लिने प्रयास गरिन्थ्यो । मोबाइल बैंकिङमा प्रयोग भएको नम्बर पहिचान भएपछि आफू बैंक वा ई-सेवाको कर्मचारी भएको भन्दै खातावालालाई सम्पर्क गर्ने गरेको र खातावालालाई केवाईसी अपडेट गर्नुपर्ने भन्दै व्ह्वाट्सअप मार्फत भिडियो कल गर्ने, मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र पठाइएको गुगल फारम भर्न लगाउने गरिएको अनुसन्धानबाट देखिएको छ । यसरी खातावालाबाट बैंकिङ विवरण प्राप्त गरेपछि उनीहरूको खातामा अनधिकृत पहुँच पुर्याएर रकम अन्य व्यक्तिको बैंक खाता वा क्युआर कोडमार्फत ट्रान्सफर गराउने गरेको प्रहरीको दाबी छ ।
प्रहरीको विवरणमा ठगीबाट प्राप्त रकमलाई अमेरिकी डलरमा रूपान्तरण गरी बाईनेन्स एपमार्फत स्थानान्तरण गर्ने तथा क्रिप्टोमा लगानी गर्ने सम्भावनासमेत हुन सक्ने उल्लेख गरिएको छ । ठगीबाट प्राप्त रकम कामको प्रकृतिअनुसार बाँडफाँड गर्ने गरेको पनि देखिएको छ ।
अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान जारी
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भइरहेको जनाएको छ। बरामद मोबाइल, सिमकार्ड, बैंकिङ कागजात तथा अन्य विद्युतीय सामग्रीको अनुसन्धानबाट ठगीको सञ्जाल, रकमको कारोबार र थप पीडितबारे जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
बैंक तथा डिजिटल वालेटका ग्राहकलाई केवाईसी अपडेट, खाता सुरक्षा वा अन्य बहानामा फोन गर्ने अपरिचित व्यक्तिलाई ओटिपी, पासवर्ड, पिन तथा बैंकिङ विवरण उपलब्ध नगराउन र अपरिचित व्यक्तिको निर्देशनमा मोबाइलको स्क्रिन शेयर नगर्न आग्रह जिल्ला प्रहरी कार्यालय राैतहटले आग्रह गरेकाे छ । कुनै शंकास्पद कारोबार वा ठगीको प्रयास भएमा सम्बन्धित बैंक तथा प्रहरीमा तत्काल जानकारी गराउन प्रहरीले आग्रह समेत गरेकाे छ ।




चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा
जापानका लागि प्रस्तावित राजदूत थापाबारे
बैंकमा साढे १२ खर्ब तरलता,
जुवातास खेलिरहेको अवस्थामा १६ जना
जलवायु परिवर्तनले नेपालमा पारेको क्षति