लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिभरपुललाई उसकै मैदानमा ३-० ले पराजित गरेको छ । जितसँगै सिटीले उपाधि दाबेदारीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सिटीले दोस्रो हाफमा तीन गोल गर्दै जित सुनिश्चित गरेको हो । एर्लिङ हालाण्ड, जेरेमी डोकु र रायन चेर्कीले गोल गरेपछि सिटीले लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो । तर, सिटीको जितलाई सामान्य अवस्थामा जस्तो उपाधि दाबेदारीको निर्णायक सन्देशका रूपमा व्याख्या गर्न सहज छैन । क्लबमाथि चलिरहेको आर्थिक अनियमिततासम्बन्धी कारबाहीको प्रक्रिया अझै टुंगिएको छैन ।
सन् २००९-१० देखि २०१७-१८ सम्म प्रिमियर लिगका आर्थिक नियम उल्लंघन गरेको आरोपमा सिटीलाई ११४ वटा आरोपमा दोषी ठहर गरिएको विवरण सार्वजनिक भएपछि क्लबले पहिलो खेल खेलेको हो । क्लबले उक्त निर्णयविरुद्ध अपिल गरेको छ । सम्भावित कारबाहीमा प्रिमियर लिगबाट रेलिगेसनदेखि कीर्तिमानी अंक कटौतीसम्मका विकल्प चर्चामा छन् । अन्तिम निर्णय कहिले आउँछ र त्यसले क्लबको भविष्यलाई कसरी प्रभावित गर्छ भन्ने स्पष्ट छैन ।
यही अन्योलबीच एनफिल्डमा सिटीले कठिन चुनौती सामना गर्नुपरेको थियो । लिभरपुलका समर्थकहरू सिटीप्रति आक्रोशित थिए । विशेषगरी, सन् २०१३-१४, २०१८-१९ र २०२१-२२ को सिजनमा सिटीसँग दोस्रो हुँदै उपाधि गुमाएको लिभरपुलका समर्थकहरू आफ्नो क्लबले तीमध्ये केही सिजनमा उपाधि जित्न सक्ने विश्वास गर्छन् । उनीहरूको तर्क छ, अबुधाबीस्थित मालिकको आर्थिक शक्तिको प्रयोग गरेर सिटीले गरेको लगानी र त्यससँग जोडिएका अनियमितताले प्रतिस्पर्धाको निष्पक्षतालाई प्रभावित पारेको थियो ।
यही पृष्ठभूमिमा सिटी एनफिल्ड पुगेको थियो । घरेलु समर्थकको चर्को विरोध, व्यंग्यात्मक नाराबाजी र आर्थिक अनियमितताको आरोपबीच पनि टोलीले संयमित खेल देखायो । खेलको सुरुवाती एक घण्टासम्म लिभरपुलले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि रायन ग्राभेनबर्चले ६२औँ मिनेटमा रातो कार्ड पाएपछि खेलको दिशा बदलिएको थियो । त्यसपछि सिटीले संख्यात्मक फाइदाको उपयोग गर्दै लगातार आक्रमण गर्यो र तीन गोलको जित निकाल्यो ।
खेलअघि सिटीले एनफिल्डमा शत्रुतापूर्ण स्वागतको सामना गर्नुपर्यो । टोलीले समर्थकहरूको मुख्य प्रवेशद्वारबाट नभई कर्मचारी तथा निर्माणसम्बन्धी कामदारहरूले प्रयोग गर्ने प्रवेशद्वारबाट मैदान प्रवेश गरेको थियो । मैदानबाहिरको वातावरण भने सुरुदेखि नै तनावपूर्ण थियो । सिटी र लिभरपुलका समर्थकले लगाउने आधा–आधा रङका स्कार्फसमेत बिक्री भइरहेका थिए । तर, सिटीको आकाशे नीलो रङ भएको भागमा ‘ठगी गर्ने सिटी’ भन्ने व्यंग्यात्मक सन्देश लेखिएको देखिएपछि ती स्कार्फ पनि विरोधको माध्यम बने ।
सिटीको टोलीको नाम घोषणा गर्दा एनफिल्डमा चर्को हुटिङ भयो । मैदान वरिपरि टाँगिएका ब्यानरमा समर्थकहरूको आक्रोश प्रष्ट देखिन्थ्यो । एउटा ब्यानरमा ‘समर्थकहरूको एउटा पुस्तालाई धोका दिइयो’ भन्ने सन्देश थियो । अर्कोमा चर्चित गीतको भावलाई परिवर्तन गर्दै सिटीले सबैबाट केही खोसेको आरोप लगाइएको थियो । गायक नोएल गालाघरसमेत उपस्थित रहेको खेलमा ओएसिसको ‘स्टप क्राइङ योर हार्ट आउट’ गीतको सन्दर्भ प्रयोग गरेर सिटीका उपलब्धिलाई लक्षित व्यंग्य गरिएको थियो ।
सिटीका समर्थकले फुलाइएका सयौँ केराका आकृतिसमेत प्रदर्शन गरेका थिए । क्लब तल्लो डिभिजनमा खेलिरहेका बेला सीमित स्रोत र कठिन परिस्थितिमा विकसित भएको यो पुरानो समर्थकीय परम्परा हो । आर्थिक कारबाहीका कारण भविष्यमा फेरि तल्लो डिभिजनमा पुग्नुपर्ने सम्भावनालाई लिएर पनि यसलाई व्यंग्यात्मक रूपमा हेरिएको थियो । खेल सकिएपछि लिभरपुलका समर्थकले ‘तिमीहरू रेलिगेसनमा पर्दै छौ’ भन्दै सिटीलाई व्यंग्य गरेका थिए । जवाफमा सिटीका समर्थकले आफ्नो परिचित नारा ‘हामी वास्तवमा यहाँ छैनौँ’ दोहोर्याए । मैदानमा प्राप्त जित र मैदानबाहिरको विवादबीचको यही विरोधाभासले यस सिजनको प्रिमियर लिगलाई असामान्य बनाएको छ ।
सिटीको जितले लिभरपुलको अर्को समस्या पनि उजागर गरेको छ । लिभरपुलले खेलको सुरुवाती ६० मिनेटमा प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि ग्राभेनबर्चले रातो कार्ड पाएपछि टोली पूर्ण रूपमा दबाबमा परेको थियो । लिभरपुलका लागि घरेलु मैदानको प्रदर्शन भने झन् चिन्ताजनक बनेको छ । टोलीले सिजन प्रिमियर लिगमा एनफिल्डमा खेलेका तीन खेलमध्ये कुनैमा पनि जित निकाल्न सकेको छैन ।
यो वर्षको सुरुदेखि एनफिल्डमा खेलेका १३ प्रिमियर लिग खेलमा लिभरपुलले केवल चार जित हासिल गरेको तथ्यांकले पनि घरेलु मैदानको समस्या देखाउँछ । अवधिमा टोलीले घरेलुभन्दा बाहिरी मैदानमा बढी खेल जितेको छ । सन् २०२३-२४ को सिजनदेखि लिभरपुलको घरेलु प्रदर्शन क्रमशः कमजोर हुँदै गएको देखिए पनि यस सिजनको तथ्यांकलाई अन्तिम निष्कर्ष निकाल्न पर्याप्त मान्न सकिँदैन ।
एजेन्सी







बधाई गगन ! चुनौतीका चाङसहितको
दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको