भक्तपुर । विदेशी नागरिकको आवागमन र गतिविधिको अभिलेख व्यवस्थित गर्दै सुरक्षा निगरानी प्रभावकारी बनाउने उद्देश्यले अध्यागमन विभागले सोमबार नगरकोटमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विदेशी नागरिकको विवरण संकलन, व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा अध्यागमन विभागका निर्देशक शिवप्रसाद लम्साल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्का र विभागका सूचना प्रविधि इन्जिनियर सन्तोषकुमार शाहले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको उद्देश्य, प्रयोग र कार्यान्वयन प्रक्रियाबारे अभिमुखीकरण गर्नुभएको थियो ।
विभागका निर्देशक लम्सालले विदेशी नागरिक नेपाल प्रवेश गरेको र फर्किएको अभिलेख मात्र राख्ने पुरानो व्यवस्थाले उनीहरू नेपालमा रहँदा कहाँ गए, कहाँ बसे र के गतिविधिमा संलग्न भए भन्ने जानकारी प्राप्त गर्न कठिन भएको बताउनुभयो । विदेशी नागरिक नेपालमा रहँदासम्म उनीहरूको बसाइ र आवागमनको विवरण व्यवस्थित गर्न प्रणाली देशव्यापी विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।
लम्सालकाअनुसार सन् २०२५ मा कानुन उल्लङ्घन गर्ने ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको थियो। सन् २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० विदेशी नागरिकलाई निष्कासन गरिएको उहाँले बताउनुभयो । विदेशी नागरिक भिसाको उद्देश्यविपरीतका गतिविधिमा संलग्न भए-नभएको निगरानी गर्न र अध्यागमन कानुनको पालना सुनिश्चित गर्न प्रणाली उपयोगी हुने उहाँको भनाइ थियो ।
प्रणालीबाट विदेशी नागरिक कुन होटलमा बसेका छन्, कहाँ भ्रमण गरेका छन् र नेपालमा रहँदा उनीहरूको यात्रा तथा बसाइको विवरण के छ भन्ने जानकारी व्यवस्थित गर्न सकिने विभागको अपेक्षा छ । विपद्का समयमा विदेशी पर्यटक हराएमा खोज तथा उद्धारका लागि आवश्यक सूचना प्राप्त गर्न र सम्भावित गैरकानुनी गतिविधि नियन्त्रण गर्नसमेत प्रणाली उपयोगी हुने लम्सालले बताउनुभयो ।
यसअघि काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी तथा मनी एक्सचेन्जलगायतका सेवाप्रदायकबाट सुरु गरिएको प्रणालीलाई अहिले देशभर विस्तार गरिएको विभागले जनाएको छ ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले विदेशी नागरिकको व्यवस्थापन होटलमा बस्ने पर्यटकमा मात्र सीमित गर्न नहुने बताउनुभयो । कतिपय विदेशी नागरिक व्यक्तिका घरमा बस्ने र ग्रामीण क्षेत्रमा गएर व्यवसाय सञ्चालन गर्ने गरेको उल्लेख गर्दै उहाँले उनीहरूको बसाइ र गतिविधिको विवरणसमेत व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको गतिविधि नियमन गर्न र कानुनविपरीतका कार्य नियन्त्रण गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको खड्काको भनाइ थियो। विदेशी नागरिकलाई आवास तथा अन्य सेवा उपलब्ध गराउने क्षेत्रलाई समेत प्रणालीको दायरामा समेट्नुपर्ने उहाँले औँल्याउनुभयो ।
विभागका अर्का निर्देशक अमरदीप सुनुवारले होटल व्यवसायी, आन्तरिक वायुसेवा प्रदायक, ट्रेकिङ तथा टुर एन्ड ट्राभल एजेन्सी, सार्वजनिक यातायात, पर्वतारोहण एजेन्सी, बैंक तथा वित्तीय संस्था, पर्यटक पथप्रदर्शक र पर्यटक प्रहरीलगायतलाई प्रणालीसँग जोड्ने व्यवस्था गरिएको बताउनुभयो । सेवाप्रदायकले विभागको प्रणालीमा प्रत्यक्ष रूपमा विवरण प्रविष्ट गर्न वा आफ्नै प्रणालीलाई विभागको प्रणालीसँग अन्तरआबद्ध गरी सूचना पठाउन सक्ने उहाँले जानकारी दिनुभयो ।
विभागका सूचना प्रविधि इन्जिनियर सन्तोषकुमार शाहले सेवाप्रदायकले अनलाइन पोर्टलमार्फत दर्ता गर्न सक्ने बताउनुभयो । प्रणालीगत अन्तरआबद्धताका लागि आवश्यक प्राविधिक कागजातसमेत सोही पोर्टलबाट प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष कृष्णमुरारी न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नगरकोट नाल्दुम पर्यटन व्यवसायी समितिका सचिव प्रदीप अधिकारी तथा होटल चौतारीका सञ्चालक बद्री माकलगायतले प्रणालीलाई देशभर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ अनुसार विदेशी नागरिकको प्रवेश, बसाइ र प्रस्थानसम्बन्धी विवरण व्यवस्थित गर्ने उद्देश्यले प्रणाली विकास गरिएको विभागले जनाएको छ ।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी बनाउन होटलमा मात्र सीमित नभई व्यक्तिगत घर तथा विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै क्षेत्रलाई समेट्न आवश्यक छ । सेवाप्रदायकको सहभागिता, सम्बन्धित निकायबीचको समन्वय र विवरण अद्यावधिक गर्ने व्यवस्था प्रभावकारी भएमा विदेशी नागरिकको सुरक्षा, खोज तथा उद्धार र सम्भावित अपराध नियन्त्रणमा प्रणाली उपयोगी बन्न सक्छ ।







आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं
शहरले खोस्न नसकेको खुशी :