हेटौँडा । दसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाभर ६३६ जना प्रहरी परिचालन गरेको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा र बढ्दो सवारी चाप व्यवस्थापनका लागि प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड पोस्ट रहने गरी सुरक्षा टोली परिचालन गरिएको छ । बाढीपहिरोका कारण धादिङ तथा सिन्धुली क्षेत्रका सडक अवरुद्ध हुँदा हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढ्न सक्ने भएकाले राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ ।
यात्रुलाई सहज सेवा उपलब्ध गराउन जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षमार्फत बढी भाडा असुली नियन्त्रण, यातायात व्यवस्थापन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकले यात्राका क्रममा भोग्न सक्ने समस्या समाधानमा सहजीकरण गरिने प्रहरीले जनाएको छ ।
सुरक्षा योजनाअन्तर्गत राजमार्ग तथा मुख्य सडकखण्डमा आकस्मिक जाँच, नियमित चेकपोस्ट र ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । जिल्लाका विभिन्न स्थानमा १० वटा मोबाइल गस्ती टोली परिचालन गरिनुका साथै मोटरसाइकलसहितका द्रुत प्रतिकार्य टोली (क्युआरटी), पिकेट टोली र पैदल गस्तीसमेत परिचालन गरिएको छ ।
चाडपर्वका बेला बजार क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको छ । बैंक तथा वित्तीय संस्थामा हुने आर्थिक कारोबारलाई ध्यानमा राख्दै सम्भावित चोरी र लुटपाट रोक्न निगरानी बढाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी कृत्रिम अभाव, कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमन गरिने भएको छ । धार्मिक तथा पर्यटकीयस्थल, सरकारी कार्यालय र प्रदेश राजधानीमा रहेका विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि पनि आवश्यक प्रहरी परिचालन गरिएको छ ।
सवारी दुर्घटना, सडक अवरोध तथा अन्य आकस्मिक घटनामा तत्काल उद्धार र सहायता उपलब्ध गराउन प्रहरी टोली तयारी अवस्थामा राखिएको छ । परिचालित जनशक्ति अपुग हुने अवस्था आएमा थप प्रहरी परिचालन गर्न दुईवटा रिजर्भ टोलीको व्यवस्था गरिएको छ भने आकस्मिक अवस्थाको व्यवस्थापनका लागि स्ट्राइकिङ टोलीसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
रातमाटे, भैँसे, मनहरीलगायत जिल्लाका प्रमुख प्रवेश तथा निकासस्थलका साथै सिन्धुली र काठमाडौं जोड्ने सडकखण्डमा सुरक्षा जाँचलाई प्राथमिकता दिइएको छ । इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमार्फत जिल्लाभर नियमित निगरानीसमेत गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर