काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपबारे पार्टी र राज्यले गर्ने छानबिनमा सहयोग गर्ने बताउनुभएको छ । एक महिलालाई अश्लील गालीगलौज गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
सुनारले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नको जवाफ दिन तयार रहेको बताउनुभयो । उहाँले आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट निलम्बित हुन र सांसद पदबाट समेत निलम्बनको सामना गर्न आफू तयार रहेको उल्लेख गर्नुभयो । “म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,” उहाँले भन्नुभएको छ, “राज्यले गरेको, पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु ।”
उहाँले आफूले कानुनविपरीत कुनै अपराध गरेको प्रमाणित भए कानुनी प्रक्रिया सामना गर्न तयार रहेको पनि बताउनुभयो । प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूलाई निरन्तर निशाना बनाइएको उहाँको आरोप छ ।
पार्टीको कामका सिलसिलामा दाङमा रहनुभएका सुनारले आफूले अपराध गरेको प्रमाणित भए त्यहीँबाट हतकडी लगाएर जानसमेत आपत्ति नहुने बताउनुभयो । यद्यपि, सार्वजनिक भएको अडियो भने बनावटी भएको उहाँको दाबी छ ।
यसअघि सोमबार जनआस्थाले सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको भनिएको अडियोसहितको समाचार प्रकाशित गरेको थियो । उक्त सामग्री सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपिन आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै सुनारलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको र छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको थियो ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारमाथि लागेका आरोपबारे छानबिन अघि बढिरहेका बेला उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।







यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी
नेपाल-भारत सम्बन्ध बहुआयामिक भएपनि नेपालले