काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टा तथा कलाकारलाई सम्मान गर्दै ‘पाँचौं क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित समारोहमा विभिन्न २६ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेको समारोहमा विभिन्न अतिथि, चलचित्रकर्मी तथा कलाकारले विजेतालाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा गीतसंगीत, म्युजिक भिडियो, गायन, निर्देशन, अभिनय तथा प्राविधिक विधामा योगदान पुर्याउने कलाकारलाई सम्मान गरिएको थियो ।
अवार्डअन्तर्गत सर्वोत्कृष्ट आधुनिक गीतकारको अवार्ड ‘कति रोए’बाट मीरा तामाङले प्राप्त गर्नुभयो । आधुनिक गीत संगीतकारतर्फ ‘हिजो आज’बाट डा.निरञ्जन भण्डारी उत्कृष्ट घोषित हुनुभयो । आधुनिक गीत गायकको अवार्ड ‘ढाँटेको होइन’बाट तिलक बस्नेतले प्राप्त गर्दा सोही गीतबाट मेलिना राई आधुनिक गीत गायिकातर्फ उत्कृष्ट हुनुभयो ।
म्युजिक भिडियो विधातर्फ ‘सगरै तरेर’बाट एस राज गराचले सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड प्राप्त गर्नुभयो । यस विधाको जुरी अवार्ड ‘मायालुको घुर्की प्यारो’बाट रोशन तामाङले पाउनुभयो । पप गीतको म्युजिक भिडियो पुरुष मोडलतर्फ ‘ह्याभ यु एभर सिन’बाट जीवन विश्वकर्मा र महिला मोडलतर्फ ‘भमरा’बाट शीतल तामाङले अवार्ड हात पार्नुभयो ।
सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड ‘गाउँघरे माया’ बाट दीप गुरुङले प्राप्त गरे भने यस विधाको जुरी अवार्ड ‘दिउँला चिनो’बाट मिलन श्रेष्ठले जित्नुभयो । ‘भमरा’ गीतले वर्षको उत्कृष्ट गीतको अवार्डसमेत प्राप्त गर्यो । सोही गीतबाट म्युजिक भिडियो नृत्य निर्देशक जुरी अवार्ड जोन राईले हासिल गर्नुभयो । सर्वोत्कृष्ट म्युजिक भिडियो नृत्य निर्देशकको अवार्ड भने ‘परेवा जोडी’बाट सोनाम लामाले प्राप्त गर्नुभयो ।
लोकदोहोरी विधामा सर्वोत्कृष्ट गायकको अवार्ड ‘लालीगुराँस फुलेको’ बाट रवि रानाले प्राप्त गर्नुभयो । यस विधाको जुरी अवार्ड ‘कलेजो खाइ झानो’बाट महादेव भट्टले प्राप्त गर्नुभयो । लोकदोहोरी गायिकातर्फ ‘फूलको थुँगा’बाट दुर्गा गुरुङ उत्कृष्ट घोषित हुनुभयो । जुरी अवार्ड ‘सुन्ने भयो’बाट संगीता गुरुङले प्राप्त गर्दा पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’ बाट मनमाया वाइबाले जित्नुभयो ।
सर्वोत्कृष्ट लोकदोहोरी गीतकारको अवार्ड ‘दशैँतिहारको’बाट अमरराज पुनले प्राप्त गर्नुभयो । मौलिक गीत गायकतर्फ ‘जाउँ न सानु’बाट पवन गुरुङ उत्कृष्ट भए भने जुरी अवार्ड ‘ङिला रोदिरी’ बाट नरेश गुरुङले पाउनुभयो । यस विधाको पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’बाट शुक्र तामाङले प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट मौलिक गीत गीतकारको अवार्ड ‘दमौलीमा झारा है’बाट ओम छिनालले हासिल गर्नुभयो ।
अन्य विधातर्फ सर्वोत्कृष्ट देउडा गायकको अवार्ड ‘सम्रै लागि’बाट गोपाल दयालले प्राप्त गर्नुभयो । कौडा गीत गायकतर्फ ‘झुल्के घाम’ बाट सुवास गुरुङ उत्कृष्ट घोषित हुनुभयो । यस विधाको जुरी अवार्ड ‘निरमाया’बाट प्रिजन गुरुङले प्राप्त गर्दा पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’बाट सागर गुरुङले जित्नुभयो । सेलो गीत गायकतर्फ ‘धर्तीकी परी’बाट विक्रम लामाले र तीज गीत गायकतर्फ ‘भकारीको धान’बाट कुलबहादुर ओलीले अवार्ड प्राप्त गर्नुभयो ।
नवप्रतिभातर्फ पर्वगीत म्युजिक भिडियोको नवमहिला मोडलको अवार्ड ‘भिजायो फरिया’बाट चाँदनी श्रेष्ठले प्राप्त गर्नुभयो । नवप्रतिभा आदिवासी गायिकाको अवार्ड ‘ङोल्स्यो मोयाले’बाट निमा तामाङले जित्नुभयो भने नवप्रतिभा गायिका जुरी अवार्ड ‘पुरै माया’बाट सागरमाया जिरेलले प्राप्त गर्नुभयो ।
राजवंशी गीतको म्युजिक भिडियोमा नवमहिला मोडलको अवार्ड ‘इरो मोर मोन’बाट कौशिला राजवंशीले प्राप्त गर्नुभयो । गुरुङ गीतको म्युजिक भिडियोमा नवमहिला मोडलको अवार्ड ‘ङिला रोदिरी’बाट दीपशिखा गुरुङले हासिल गर्नुभयो । पुरुष नवमोडलतर्फ ‘दुःखी मान्छे’बाट कृष्ण खत्री उत्कृष्ट हुनुभयो । जुरी अवार्ड ‘पँधेरीको टुनी’बाट अर्जुन गुरुङले प्राप्त गर्दा पब्लिक च्वाइस अवार्ड ‘साइँली’बाट ईश्वर गुरुङले पाउनुभयो । मौलिक म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘तीतो छ कि गुलियो’बाट सन्तोष थापामगरले प्राप्त गर्नुभयो ।
लोकदोहोरी गीतको पुरुष मोडलतर्फ ‘झ्याप्पै’बाट सुरेश कोलीले अवार्ड जित्नुभयो । म्युजिक भिडियो महिला मोडलको जुरी अवार्ड ‘रानी बन’बाट काली तामाङले प्राप्त गर्नुभयो । छायांकनतर्फ ‘दुई दिनको जिन्दगी’ बाट भूपेन्द्र थापामगर उत्कृष्ट हुनुभयो सम्पादनतर्फ ‘निर्माया’बाट पदम सुवेदीले अवार्ड पाउनुभयो । म्युजिक भिडियो मेकअप आर्टिस्टको अवार्ड ‘ङोल्स्यो मोयाले’बाट सक्षम पुडासैनीले प्राप्त गर्नुभयो ।
कार्यक्रममा डम्फुरे समाजका कलाकारले डम्फु बजाउँदै गीत प्रस्तुत गर्नुभएको थियो । सरु ढुंगेलको कोरियोग्राफीमा स्टुडियो ३६० का कलाकारले दशैँ गीतमा नृत्य प्रस्तुत गरेका थिए । अन्य कलाकारले समेत नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए । गायक कुलबहादुर ओलीले बादुरे गीत गाएर समारोहमा रौनक थप्नुभएको थियो ।
नेपाली गीतसंगीत क्षेत्रको प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले विगत छ वर्षदेखि अवार्ड आयोजना गर्दै आएको क्वालिटी फिल्मस्का अध्यक्ष तथा चलचित्र निर्देशक उमेश गुरुङले बताउनुभयो । कार्यक्रममा कुलपति खनालले आगामी वर्षदेखि प्रतिष्ठानका तर्फबाट पनि अवार्डलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।







पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र