काठमाडौं । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ।
मंगलबार अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ क्रिकेट मैदानमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो। ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाउनुभयो। जय ओडेराले २५ रन बनाउनुभयो।
ओमान एक समय १२ ओभरमा ४१ रन बनाउँदा ६ विकेट गुमाएर कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान शुक्ला र ओडेराले ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गर्नुभयो। तर, नेपाली बलरले अन्य ब्याटरलाई टिक्न नदिएपछि ओमानले ठूलो हार बेहोर्नुपर्यो।
नेपालका नन्दन यादवले ६ ओभरमा १२ रन खर्चेर तीन विकेट लिनुभयो। कप्तान सन्दीप लामिछानेले नौ ओभरमा २८ रन दिएर तीन विकेट लिनुभयो। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट लिनुभयो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाउनुभयो। ६७ बल सामना गर्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो।
करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा अविजित ४० रन बनाउनुभयो। उहाँले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गर्नुभयो भने अन्तिम ओभरमा शाह फैसललाई पनि छक्का प्रहार गर्नुभयो।
नेपालका लागि अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पाण्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो। ओमानका शाह फैसल, शकील अहमद र करण सोनाभालेले दुई–दुई विकेट लिनुभयो भने हस्नेन शाहले एक विकेट लिनुभयो।
यस जितसँगै लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।
नेपालले अब आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।







आश्विन कृष्ण औँसी : सोह्र
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल
भोटेकोशी बाढी : एक हजार
बिपी राजमार्ग अवरुद्ध
कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा