काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।
नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । ओमानलाई सस्तैमा समेट्ने क्रममा नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिएपछि नेपालले सहज जित हात पारेको हो ।
ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । ओमानले १२औँ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि विनायकले जय ओडेरासँग सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गर्नुभएको थियो । ओडेरा २५ रन बनाएर आउट हुनुभयो ।
नेपालका लागि नन्दनले ६ ओभरमा १२ रन खर्चेर तीन विकेट लिनुभयो । कप्तान सन्दीपले नौ ओभरमा २८ रन दिएर तीन विकेट हात पार्नुभयो । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिनुभयो । ६७ बलको सामना गर्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो र
नेपालको इनिङ्समा करण केसीको आक्रामक ब्याटिङ निर्णायक रह्यो । उहाँले १६ बलमा ४० रन बनाउँदै अन्तिमतिर नेपालको स्कोर उकास्नुभएको थियो । करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गर्नुभयो भने अन्तिम ओभरमा शाह फेसलको बलमा एक छक्का प्रहार गर्नुभयो ।
त्यस्तै, अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो । ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिनुभयो भने हस्नेन शाहले एक विकेट हात पर्नुभयो ।
यस जितसँगै नेपालले लिग-२ को अंकतालिकामा आफ्नो स्थिति सुधार्ने प्रयासलाई निरन्तरता दिएको छ । ३४ खेलबाट २८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ । नेपालले शृंखलाअन्तर्गत आफ्नो अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ । ओमानमाथिको प्रभावशाली जितले नेपाली टोलीको मनोबल बढाएको छ भने आगामी खेलमा पनि जितको लय कायम राख्ने चुनौती थपिएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं