काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झालाको कार्यषमतामाथि प्रश्न उठाउनुभएको छ ।
संसदीय सुनुवाईका क्रममा चौलागाईंले उहाँको कुटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रश्तावित नियुक्तिमाथि प्रश्न उठाउनुभएको हो । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कुटनीतिक क्षमतामाथि प्रश्न खडा गर्नुभयो ।
सांसद चौलागाईंले प्रस्तावित राजदुत झाको बुद्ध सर्किट र नेपाल-श्रीलंकाबीचको कुटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गर्नुभयो । उहाँले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सिमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाउनु भयो ।
सांसद चौलागाईंले कुटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा उहाँले कसरी राष्ट्रिय हित रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राख्नुभयो । उहाँले राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गर्नुभयो ।
यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरुपण तथा मेलमिलाप आयोगमा रहँदा उहाँले द्वन्द्वपीडितहरूलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उहाँको कार्यसम्पादनमाथि टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कुटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ ?’
सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवद्र्धन गर्ने तथा लुम्बिनी-श्रीलंकाबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्ययोजना पेश गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिनुभयो ।
सांसद दंगालको प्रश्नः ‘भिसा सहजता र उडान विस्तारमा के छ कार्ययोजना ?’
नेकपा एमालेका सांसद प्रेमप्रसाद दंगालले नेपाल र श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध, नेपाली पर्यटकलाई भिसामा देखिएको समस्या र हवाई उडान विस्तारका सम्भावनाबारे प्रश्तावित राजुदत डा. मञ्चलाकुमारी झासँग कार्ययोजना माग गर्नुभएको छ ।
श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. झाको संसदीय सुनुवाईका क्रममा उहाँले कार्ययोजना माग गर्नुभएको हो । बुधवार संघीय संसदको संसदीय सुनुवाई समितिमा उहाँले दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन आग्रह गर्नुभयो ।
हाल श्रीलङ्कामा नेपाली नागरिकहरूले भोगिरहेको ‘भिसा अन एराइभल’ सम्बन्धी समस्या र इलेक्ट्रोनिक ट्राभल अथराइजेसन प्रक्रियाको जटिलतालाई प्राथमिकताका साथ समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद दंगालले भन्नुभयो, ‘सार्क क्षेत्रमा भिसा फ्रि आवागमनको अवधारणा रहे पनि मानव बेचबिखनको जोखिम देखाउँदै नेपालीमाथि लगाइएको प्रतिवन्ध हटाउन राजदुतको भुमिका महत्वपूर्ण हुनेछ ।’
काठमाडौं-कोलम्बो सिधा उडानलाई प्रभावकारी बनाउन भैरहवा-कोलम्बो रुटको सम्भावना खोजी गर्नुपर्ने प्रस्ताव पनि उहाँले राख्नुभयो ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा