काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् ।
कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए पनि गत वर्षको तुलनामा मूल्य भने बढेको छ ।
व्यापारी थापा क्षेत्रीकाअनुसार कलंकी खसीबजारमा दाङ, सल्यान, सुर्खेत, कालीकोट, बैतडी, डोटी, उदयपुरलगायत विभिन्न जिल्लाबाट खसीबोका ल्याउने गरिन्छ । विभिन्न जिल्लाबाट खसीबोका भित्रिए पनि बजारमा ग्राहकको उपस्थिति भने विगतका वर्षजस्तो नरहेको उनले बताए ।
हाल कलंकी खसीबजारमा खसीको मूल्य प्रतिकिलो ७८० देखि ८६० रुपैयाँसम्म रहेको व्यापारीहरू बताउँछन् । गत वर्षको तुलनामा मूल्य महँगो हुँदा उपभोक्तालाई दशैंका लागि खसी खरिद गर्न थप खर्च लाग्ने देखिएको छ ।
दशैंमा मासुको खपत बढ्ने र खसीबजारमा किनमेल गर्नेको भीड लाग्ने अपेक्षा गरिए पनि यस वर्षको बजारको अवस्थाले व्यापारीहरूलाई निराश बनाएको छ । दशैं नजिकिँदै गर्दा आगामी दिनमा ग्राहकको चहलपहल बढ्ने र व्यापारमा सुधार आउने आशा व्यापारीहरूले गरेका छन् ।







नागरिकको विश्वास नै प्रहरीको वास्तविक
यसपाली बागलुङ कालिकामा छैन चहलपहल
तिक्तता बिर्सेर भावनात्मक एकतासहितको कांग्रेस
पन्द्र दिनपछि खुल्यो मालढुंगा पुल
बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन
भारतसँगको सम्बन्धलाई भावनात्मक निकटताबाट परिणाममुखी