भोजपुर । भोजपुरका शिक्षकले अवकाशपछि पेन्सनपट्टा बनाउन काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले भोजपुरबाट ई–पेन्सन सेवा सुरु गरेसँगै शिक्षकले जिल्लाबाटै पेन्सनपट्टा प्राप्त गर्न सक्ने भएका हुन् ।
राष्ट्रिय किताबखाना (शिक्षक) शाखाले कोशी प्रदेश तथा पहाडी जिल्लामै पहिलोपटक भोजपुरबाट बुधबार ई–पेन्सन सेवा सुरु गरेको हो । सेवा शुभारम्भका लागि भोजपुर आउनुभएका शाखाका गणेश श्रेष्ठले प्रदेश र पहाडी जिल्लामध्ये भोजपुरबाट पहिलोपटक यो सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
सेवा सुरु भएसँगै शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरले पहिलो ई–पेन्सनपट्टा भोजपुर नगरपालिका–३, गुप्तेश्वरका अवकाशप्राप्त प्राथमिक शिक्षक ज्ञानबहादुर खड्कालाई प्रदान गरेको छ । इकाइ प्रमुख निवास न्यौपानेका अनुसार खड्का जनज्योति आधारभूत विद्यालयबाट अवकाश हुनुभएको थियो ।
ई–पेन्सन सेवाको परीक्षण सफल भएपछि यसलाई विस्तार गरिएको हो । यसअघि अवकाशप्राप्त शिक्षकले पेन्सनपट्टा बनाउन विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइ हुँदै राष्ट्रिय किताबखानाको कार्यालयसम्म पुग्नुपर्ने अवस्था थियो । अब आवश्यक कागजात इकाइमा बुझाएपछि जिल्लाबाटै पेन्सनपट्टा प्राप्त गर्न सकिने शिक्षा विकास तथा समन्वय इकाइ भोजपुरले जनाएको छ ।
निजामती कर्मचारीका लागि गत चैतदेखि नै ई–पेन्सन सुविधा लागू गरिएको छ । अवकाशपछि पेन्सनसम्बन्धी कामका लागि काठमाडौं आउजाउ गर्दा खर्चिलो र झन्झटिलो हुने गुनासो बढेपछि शिक्षकका लागि पनि यो सेवा सुरु गरिएको हो ।
पहिलो ई–पेन्सनपट्टा प्राप्त गर्नुभएका शिक्षक खड्काले जिल्लाबाटै सेवा पाउँदा अवकाशप्राप्त शिक्षकलाई राहत मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म अवकाश भएपछि विद्यालय, पालिका र इकाइ हुँदै किताबखानामा आएर पेन्सनपट्टा बनाउनुपर्थ्यो । मैले जिल्लाबाटै प्राप्त गर्ने अवसर पाएँ । यसले अवकाशप्राप्त शिक्षकलाई राहत मिलेको छ ।”







परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८
सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,