सांसदको मर्यादा कस्तो हुने ? नेता कसलाई र किन भन्ने ? यो प्रश्नलाई भिडमा गरियो भने आफ्नो विश्वासका आधारमा उदण्ड चरित्रको पक्षपोषण गरिरहेको देखिन्छ । यतिखेरको समाज यस्तै उदण्डताको पक्षपोषक भइरहेको छ । यसका उदाहरण अनगिन्ती भए पनि यतिखेरको प्रसंग हो रास्वपाका एकजना सांसदको । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारको अराजक अभिव्यक्तिको अडियो सार्वजनिक भएयता त्यसका तरंगहरू चौतर्फी रूपमा प्रवाहित भइरहेका छन् । उहाँको यस्तो अराजक अभिव्यक्ति बाहिरिएपछि खगेन्द्र सुनारका बारेमा उहाँको बानी, व्यवहार र प्रवृत्तिका बारेमा टीकाटिप्पणी भइरहेको छ ।
यस परिस्थितिमा सांसद सुनार सही हुन् भन्ने आँट भने कसैले गर्न सकेको छैन । सुनारले प्रदेश सांसद तथा प्रदेश राज्यमन्त्रीसमेत भइसक्नुभएकी एकजना महिलालाई तथानाम गाली गर्दै अमानवीय अभिव्यक्ति दिनुभएकोे अराजक शैलीको अडियो सार्वजनिक भएको छ । सामान्य टोले गुण्डा, ट्यापे, मुन्द्रेहरूले समेत प्रयोग गर्न हिच्किचाउने खालका अश्लील शब्दहरू प्रयोग गर्दै ती महिला र तिनका छोरामाथि ज्यान लिनेसम्मको धम्की दिँदै रकम माग गरिरहेको अडियो सार्वजनिक भएको हो ।
खगेन्द्र सुनारका यसअगाडि पनि यस्ता अनेकौं विवादास्पद गतिविधि र संलग्नताका प्रसंगहरू जोडिँदै आएका थिए तर यो भने उहाँको सबैभन्दा अराजक अडियो हो । उहाँले यसअगाडि गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति पनि दिनुभएको थियो भने निश्चित वर्ग र सम्प्रदायका विरुद्धमा आगो ओकल्ने काम गर्दै आउनुभएको छ । दलितहरूको मुक्ति र उत्थानका नाममा दलितहरूलाई नै शोषण र दमन गर्दै आउनुभएको आरोप लागेका सुनार दलित समुदायकै व्यक्तिहरूबाट विरोधको निशानामा पर्ने गर्नुभएको छ । आफूलाई दलित मुक्तिको अभियन्ता ठान्ने उहाँ आफैंले साङ्लो बनाएर त्यसमा बाँधिने गर्दै आउनुभएको पनि थियो । उहाँका यस्ता अराजक गतिविधिहरूलाई देखेर धेरैले उहाँलाई साङ्लोभित्रको बन्धन नै ठीक हो भनेर प्रतिक्रिया पनि दिने गरेका छन् ।
आफ्नो स्वभाव र प्रवृत्ति अनुसार उहाँले आफूलाई साङ्लोभित्र बाँध्ने गर्नुभएको कुरा सान्दर्भिक र सुहाउँदो थियो भनेर टिप्पणीहरू हुनेगर्छन् । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेबाट टिकट दिएर निर्वाचित गरायो तर कतिपय अवस्थामा आफैंले गरेका कामहरूबाट व्यक्ति संस्था र पार्टी पनि पश्चात्तापमा पर्नेगर्छ । अहिले सुनारका अभिव्यक्तिले निश्चय पनि राष्ट्रिय स्वतन्त्र पार्टी यस्तै पश्चात्तापमा परेको हुनसक्छ । मनोवैज्ञानिकहरू भन्छन् : मान्छेसँग जन्मजात नै विशेष गुणहरू आएका हुन्छन् ती कुनै सकारात्मक हुन्छन् र कुनै नकारात्मक हुन्छन् व्यक्तिले आफू बाँचुन्जेल त्यो गुणहरूलाई परिवर्तन गर्न सक्दैन विकास र परिमार्जनमात्र गर्ने हो ।
खगेन्द्र सुनार यसरी नै पटकपटक विवादमा पर्नुहुन्छ । उहाँलाई पार्टीले सचेत गराएका उदाहरण छन् तर उहाँ त्यसबाट पनि सुध्रिएको र आफ्नो अराजक शैली परिवर्तन गरेको भने पाइएको छैन । सिन्धुलीको हिरासतमा एकजना दलित व्यक्तिको मृत्यु भएको सन्दर्भमा सिन्धुली पुगेरै उहाँले त्यहाँको डिएसपीलाई भाटा हान्ने र घिसार्ने अभिव्यक्ति पनि दिनुभएको थियो । यसले गर्दा प्रहरी प्रशासनले पनि उहाँलाई एकजना अराजक व्यक्तिका रूपमा नोटिस गरेको हुनुपर्छ । पछि त उहाँले संसदीय लेखा समितिमा प्रहरी महानिरीक्षकसँग पनि अनेकौं वादविवाद गर्नुभयो । आइजिपीले भ्रष्टाचार गरेको आरोप लगाउनुभयो र प्रहरी पोशाक, बुट, मोजा आदिमा समेत कमिसन खाएको आरोप लाउनुभयो ।
तर कुनै पनि आरोपलाई विधिसम्मत ढंगले कानुनी प्रक्रिया पु¥याएर प्रस्तुत गर्न सकिन्छ । अनेकौं छाडा शब्द, अश्लील गाली, अराजक शैली अपनाएरमात्र आफू सबैसामु लोकप्रिय प्रमाणित हुन सकिँदैन । सुनारको हकमा पनि यस्तो हुँदै आएको देखिन्छ । उहाँको पृष्ठभूमि पनि यस्तै अराजक र विवादास्पद रहँदै आएको छ । उहाँले अहिले पनि कतिपय मुद्दाको सामना गरिरहनुभएको छ । गतवर्षको भदौ महिनामा भएको जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा पनि उहाँलाई मन्त्री बनाउन तय भए पनि विवादास्पद पृष्ठभूमि र उहाँले सामना गरिरहेका कानुनी झमेलाहरूका कारण उहाँलाई अन्तरिम सरकारमा मन्त्री बनाइएन । तर, त्यसपछि भएको निर्वाचनमा उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिकट दियो र निर्वाचित गरायो ।
आफ्नो राम्रो छवि, कुशल नेतृत्व र राजकीय क्षमताका कारणले उहाँले चुनाव जितेको होला÷नहोला त्यो परको कुरा हो किनभने गत फागुनको निर्वाचनमा केही निश्चित ठाउँलाई छोड्ने हो भने अरू अधिकांश ठाउँमा जो जस्तो व्यक्ति गएर राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार हुँ भनेर निर्वाचन लडेको भए पनि विजयी हुनसक्ने अवस्था थियो । त्यही माहोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद बन्न उहाँ पनि सफल हुनुभयो । यसो भन्दैमा पार्टी दोषी हुन सक्दैन । यस पहिले पनि केही खराव व्यक्तिहरू पनि निर्वाचित भएका थिए ।
पार्टी राम्रो हुँदाहुँदै पनि चामलमा बियाँ मिसिए जसरी एक–दुईजना व्यक्तिहरू खराब चरित्रका भइदिन्छन् । जसले गर्दा सिंगो पार्टीलाई दोष दिने अवस्था आउँदैन । जुन औंलोमा विष लाग्यो त्यही औँलोमात्र झर्छ भन्ने उखानै छ । त्यसकारण व्यक्ति खराब भए सिंगो पार्टी खराब हुन्छ भन्ने होइन तर कुरा के हो भने यसरी पार्टी नै बदनाम हुनेगरी अराजक शैली, व्यवहार देखाउने आपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई पहिचान गर्नु र पहिचान भइसकेपछि तिनलाई कारबाहीको दायरामा ल्याउनु भने पार्टीको कर्तव्य हुन आउँछ ।
ज्यान मार्ने धम्की दिने, महिलामाथि अभद्र व्यवहार गर्ने, बालकमाथि अराजक भाषा प्रयोग गरेर हत्याको धम्की दिने, कसैको रगत पिउँछु भन्नसक्ने हिम्मत राख्ने, पैसाका लागि जस्तो व्यवहार पनि गर्नसक्ने अराजक प्रवृत्ति देखाउने व्यक्तिले विधायनमा बसेर कसरी कानुन निर्माण गर्छ भन्ने प्रश्न अहिलेको अवस्थामा टट्कारो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँमाथि कारबाही हुने र छानबिन भइरहेको बताएको छ । अडियो सार्वजनिक हुनासाथ विज्ञप्ति सार्वजनिक गरेको छ र पार्टीबाट मात्र होइन सरकारबाट छानबिन गर्नुपर्ने अवस्था आयो भने पनि त्यसमा पार्टी बाधक नबन्ने बताएको छ ।
यो सकारात्मक पक्ष हो तर के पनि सुनिँदैछ भने पार्टीभित्र गुटउपगुट विकास हुँदा उहाँको पक्षका व्यक्तिबाट उहाँलाई काखी च्याप्ने काम भइरहेको छ । यदि यसो हो भने यो सर्वदा गलत काम हुनेछ । यसको परिणाम राम्रो आउने छैन । त्यसकारणले गलत काम गर्ने व्यक्ति सधैं गलत हुन्छ भन्ने मानसिकताबाट यस प्रकरणको उचित छानबिन हुनुपर्छ र यसलाई एउटा निष्कर्षमा पु¥याउनु उचित हुन्छ । त्यसो भयो भने गलत काम गर्ने अरूको आत्मबल बढ्न पाउनेछैन । यसतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र वर्तमान सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । निश्चय पनि गलत काम गर्नेलाई चोख्याउने काम हुनेछैन भन्ने अपेक्षा गर्नु सान्दर्भिक हुनेछ ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,