उपक्रम
उपन्यास नपढेको धेरै भएको थियो । एक दिन बिहान चाबहिलबाट कपनतिर घुम्दै जाँदा पुरुषोेत्तम दाहालको घरमा पसेँ । करिब एक घण्टा बस्दा छात्रावास जीवनदेखिका अनुभूति, भोगाइ, गरेका कामबारे चर्चा भयो । व्यावहारिकता, सन्तान सुख, लेखन आदि विषय नै भेटका विषयवस्तु बने । मैले अनुवाद गरेका १८ महापुराणबाट धेरै प्रभावित भएको र मेरा विद्वान् दाजु प्रा.ऋषिराम पोखरेलले काठमाडौंमा बस्ने–खाने बनाएको आदि विषय पनि पुरुषोत्तमले मुक्तकण्ठले बताएको सुनेँ । लगभग कुरा सकेर हिँड्नै लाग्दा पुरुषोत्तमजीले आफूले लेखेका शान्ता, मेरो पत्रकारिता, कालपात्र, अन्धकारको यात्री, काला बादलमा उज्याला पाइला किताबहरू दिनुभयो र फोटा खिच्नुभयो । त्यसैदिन पुरुषोत्तमले आफूले खिचेका फोटा र भेटघाटको संस्मरण हुने किसिमले फेसबुकमा पोष्ट पनि गर्नुभएको थियो । यही पृष्टमा, मैले शान्ता आद्योपान्त हेरेँ, पढेर केही लेख्ने मन गरेँ ।
उपन्यास साहित्यको इतिहास
उपन्यास साहित्यको महत्वपूर्ण पाटो हो । यद्यपि यसको सुरुवात कथा साहित्यबाट भएको मानिन्छ । कथाले जस्तै मनका भावना, बिम्ब, सुखदुःख, अभाव समृद्धि, गाउँसहर, देशविदेश, महिलापुरुष आदिलाई विषयवस्तु बनाएर गरेको सिर्जनालाई विभिन्न पाटोबाट पाठकसमक्ष पस्कने काम उपन्यास–साहित्यले गर्दछ । उपन्यासलाई लिएर निबन्धकार कृष्णचन्द्र सिंह भन्नुहुन्छ, यो पनि सत्य हो, उपन्यास सामाजिक जीवनमा आइरहेको क्रान्ति र नयाँ पुँजीवादी व्यवस्थाको धरातलमा हुर्किएको एउटा नौलो विधा हो । युरोपको नवजागरणले त्यहाँका मान्छेहरूको भौतिक र सामाजिक, आर्थिक र राजनीतिक जीवनमा ल्याएको परिवर्तनलाई लिएर अनेक आख्यान, चरित्रचित्रण, वस्तुस्थिति वर्णन आदि हुने क्रममा उपन्यासको सुरुवात भएको हो ।
शान्तामा मानव प्रवृत्ति र मानव प्रकृतिको सफल शल्यक्रिया भएको छ । यस उपन्यासमा अहिलेको स्वार्थ परायण युगमा दानको, जीवनको, सम्बन्धको महत्वको अगाडि अरू सबै कुरा क्षणिक हुन्, गौंण हुन् भन्ने देखाइएको छ । चामलको चौलानीलाई दूध भनेर छोरालाई पिलाउने, घर धितो राखेर लिएको ऋण तिर्न नसकेर लिलामीको सूचना पढ्ने अवस्थासम्मको अभाव र आर्थिक जर्जरता अँगाल्नुपरेको अवस्था शान्ता उपन्यासले देखाएको छ ।
त्यस बेलाको नवजागरणले औद्योगिक विकास र नवीन आविष्कारलाई लिएर तहल्का नै मच्चायो । साहित्य सर्जकहरूका लागि त्यो परिस्थिति र अवसर कथा साहित्यलाई नयाँ आयाम दिनमा उपयोग भयो । फलतः त्यसैबाट उपन्यासको सुरुवात भयो । त्यसकारण उपन्यासको आरम्भ युरोपबाट भएको मानिन्छ । उपन्यासको माउथलो युरोपलाई मानिए पनि त्यसको बिम्ब र विषयवस्तु बाइबल र देवदूतहरूको कथाबाट सुरु भएको थियो । उदाहरणका लागि इलियट र ओडेसी काव्यमा भएका धार्मिक, पौराणिक र रोमान्टिक विषय सेमेटेर लामा कथा लेखिने परम्पराको विकास नै उपन्यासको जन्मलाई लिने गरिएको छ ।
नेपाली साहित्यमा उपन्यास लेख्ने क्रम धार्मिक आख्यानलाई शिरानी बनाएर सुरु भएको पाइन्छन् । त्यसमा पनि हिन्दी र उर्दू साहित्यको छायासँगसँगै भेटिन्छन् । प्रामाणिक हिसाबबाट गद्यसाहित्यको प्रारम्भ लेखक एवं आख्यानकार मोतीराम भट्टबाटै भएको देखिन्छ । यस अर्थमा गद्य साहित्यको प्ररम्भ हुँदादेखि नै उपन्यास लेख्ने अभ्यास हुनथाल्यो । त्यसैबेलादेखि लेखिएका कथात्मक आख्यानलाई नै पछि उपन्यासको रूपमा क्रमशः विसित हुँदै आएको मान्नुपर्ने हुन्छ । त्यस बेलाको वातावरण धर्मपरायण भएको र संस्कृतका विद्वानहरूले पौराणिक आख्यान–उपाख्यानलाई नेपालीमा अनुवाद गरी त्यसबाट दिन सकिने नैतिक शिक्षा, धार्मिक उपदेश, जनमानसको चरित्रचित्रण गरी उपन्यासको आधारभूमि बनाए । त्यसरी अनुवाद भएका ग्रन्थहरूमा संस्कृतको रुखोपनको सट्टामा सरसता, प्रेम, सामाजिकता, यौनाकर्षण जस्ता विषयहरू जोडिन थाले । रामायण र महाभारतका कथाहरू नै नेपाली उपन्यास साहित्यको स्रोत बने ।
संस्कृत साहित्यको कादम्बरीबाट अनुदित वीरसिक्का (१९४६) नेपाली गद्यसाहित्यमा सबभन्दा पुरानो मानिन्छ । यस्तै प्रेमसागर, नलोपाख्यान, विदुलापुत्र संवाद जस्ता कृतिहरू संस्कृतबाट अनुवाद भएका थिए । यिनै अनुदित कृतिहरू मौलिक उपन्यासको आधारभूमि बने । त्यसरी विकसित हुँदै आएको उपन्यास विधामा फारसी र उर्दुका जासुसी र तिलस्मी उपन्यासको प्रभावमा गिरिशवल्लभको वीरचरित्र जस्ता नेपाली उपन्यास लेखिए । त्यसअघि नै नेपालीमा सदाशिव शर्माबाट लेखिएको मौलिक उपन्यास महेन्द्रप्रभा (विसं १९५९) प्रकाशित भइसकेको थियो । क्रमिक रूपमा लेखिँदै र फष्टाउँदै गएको नेपाली उपन्यास लेखनमा गोरखापत्र, सुन्दरी, संस्कृत छात्रावासबाट प्रकाशित हुने अरुणोदय आदिबाट थप उर्वरता प्राप्त हुँदैआयो र उपन्यास विधाको जरा फिजाउँने आधारभूमि पनि तिनै पत्रिका बन्दैआए ।
शान्ताको प्रवेश
यसरी विकसित हुँदै आएको उपन्यास विधामा आधुनिक कालमा रुद्रराज पाण्डेको रूपमती, लैनसिंह वाङ्देलको मुलुक वाहिर, हृदयचन्द्र सिंह प्रधानको स्वास्नीमान्छे, शंकर कोइरालाको खैरेनीटार, इन्द्रबहादुर राईको आज रमिता छ, विजय मल्लको अनुराधा, पारिजातको शीरिषको फूल हुँदैहुँदै पुरुषोत्तम दाहालको शान्तासम्म आइपुगेको छ ।
शान्ता उपन्यासमा बेलाबेलामा अध्यात्म र आधुनिकताको जुहारी भेटिन्छ । कतैकतै समुद्र मन्थनदेखि रामसीताका विरहब्यथासम्मका पौराणिकता पाइन्छ । कहीँकहीँ फूलको हाँगाको कलमीमा शान्ताको कलेजो प्रत्यारोपणको बिम्ब–विज्ञान उजागरित छ । यसरी निहाल्दा उपन्यासमा नभेटिने वस्तु विरलै होलान् जस्तो देखिन्छ ।
शान्तामा डुबुल्की
शान्ता मानवता र कर्तव्यको बगैँचामा फुल्दै रमाएको उपन्यास हो । मामालाई निस्वार्थ भावले कलेजो दान दिएर आफ्नो स्वस्थ्यलाई सधैँ सञ्चो र विसञ्चको दुविधामा राखी जेनतेन जीवन धानिरहेकी शान्ताको कथा नै यो उपन्यास हो । प्रभावशाली पदमा रहेको बेला र कुशल हात भए पनि सामाजिकताको कमीले गर्दा मृत्युको मुखमा पुग्न लागेका डाक्टरप्रसादको कलेजोमा शान्ताको कलेजो प्रत्यारोपण गर्न घर, अस्पताल र पारिवारिक रूपमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थामा सघाउने (नभए सम्भवतः कलेजो प्रत्यारोपण हुन नसक्नेसम्मको अवस्थामा) पात्र हुन् उत्तमदा । मूलतः यिनै पात्रहरूको चरित्रचित्रणमा तयार भएको शान्ता विशुद्ध सामाजिक मानवतावादी उपन्यास हो ।
शान्तामा मानव प्रवृत्ति र मानव प्रकृतिको सफल शल्यक्रिया भएको छ । यस उपन्यासमा अहिलेको स्वार्थ परायण युगमा दानको, जीवनको, सम्बन्धको महत्वको अगाडि अरू सबै कुरा क्षणिक हुन्, गौंण हुन् भन्ने देखाइएको छ । चामलको चौलानीलाई दूध भनेर छोरालाई पिलाउने, घर धितो राखेर लिएको ऋण तिर्न नसकेर लिलामीको सूचना पढ्ने अवस्थासम्मको अभाव र आर्थिक जर्जरता अँगाल्नुपरेको बेलाको शान्ता र उत्तमदाको सहयोगी मन कतिसम्म फैलन सक्दोरहेछ भन्ने छर्लंगाइ उपन्यासमा पाइन्छ । जसलाई माया गरेर मनपर्ने कुरा बनाएर लैजादा पनि दिनभर कुरेर भेट गर्न नपाएको अपहेलना र वेदनाको वास्ता नगरी श्रीमान्सँग सल्लाहसमेत नगरी कलेजो काटेर दिन अग्रसर हुने अवस्थाको चित्रण उपन्यासमा छ ।
शान्ता उपन्यासमा बेलाबेलामा अध्यात्म र आधुनिकताको जुहारी भेटिन्छ । कतैकतै समुद्र मन्थनदेखि रामसीताका विरहब्यथासम्मका पौराणिकता पाइन्छ । कहीँकहीँ फूलको हाँगाको कलमीमा शान्ताको कलेजो प्रत्यारोपणको बिम्ब–विज्ञान उजागरित छ । यसरी निहाल्दा उपन्यासमा नभेटिने वस्तु विरलै होलान् जस्तो देखिन्छ । जे भए पनि उपन्यासको आदिदेखि अन्त्यसम्म त्याग, सहयोग, उदारता, मानवताजस्ता गुणको अगाडि अरू सबै वस्तु गौंण हुन् भन्ने सन्देश सर्वत्र छ । शान्ता उपन्यासले उद्घाटन गर्न खोजेका मानवताका लक्षणहरू छेउ कुना, आरम्भ अन्त्य सबैतिर भेटिने विषयले नयाँ पुस्ता र नयाँ शिक्षालाई राम्रै सन्देश दिएको प्रतीत हुन्छ तर शान्ताको उदारताभन्दा उत्तमदाका मपाईं र उत्तमदा नभएको भए दूतावासको पत्र असम्भव थियो भन्नेजस्ता आत्मश्लाघाको उल्लेखनले कहीँकहीँ पाठकलाई ‘उपन्यास त्यस्तैउस्तै रहेछ’ भन्ने अथवा ‘प्रशंंसाको दस्ताबेज’ बनाउन खोजेको भान पर्दछ ।
एकआध ठाउँमा भाषा मिलाउनुपर्ने पनि भेटिन्छन् । जे भए पनि स्थापित पत्रकार, चर्चित समीक्षक, प्राध्यापक पुरुषोत्तम दाहालको प्रस्तुत उपन्यास शान्ताले नेपाली उपन्यास जगतमा छुट्टै अस्तित्व कायम गर्न सकेको मान्नुपर्दछ । त्यसै भएर होला शताब्दी पुरुष सत्यमोहन जोशीले ‘सरकार र समाजलाई सीता र भृकुटी होइन शान्ता र योगमाया पढाउनुपर्छ’ भनेर उपन्यासको गरिमालाई उजागर गर्नुभएको छ । समग्रमा उपन्यास पठनीय छ । निरन्तर लेखनको लागि पुरुषोत्तम दाहाललाई अनन्त शुभकामना ।







कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८
पोखरामा स्कुल बस दुर्घटना अपडेट
उखु किसानलाई एक अर्ब ५०
चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो