काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं, मोरङ, सर्लाही, मकवानपुर, कञ्चनपुर, दाङ र सुर्खेतलगायतका जिल्लामा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ९६ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित रसुवाको उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्चबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
त्यस्तै, काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट आइस (मेथाम्फेटामाइन) जस्तो देखिने १५ ग्राम पदार्थसहित पाँच जना पक्राउ परेका छन् । बुधबार साँझ पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-२ का ३२ वर्षीय सुमन थोक्रा, नौकुण्ड-१ का २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ का २९ वर्षीय सुनिल तामाङ, धादिङको खनियाबास गाउँपालिका-५ घर भई तारकेश्वर बस्ने २२ वर्षीय योना तामाङ र एक १८ वर्षीय किशोर रहेका छन् ।
मोरङको विराटनगर महानगरपालिका-७ बाट ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१७ रानी घर भएका १९ वर्षीय बासु मण्डलसमेत रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।
सर्लाहीको हरिवन नगरपालिका-४ तिनघरेबाट २३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवाससमेतबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट करिब तीन किलोग्राम गाँजासहित मनहरी गाउँपालिका-९ रजैया बस्ने ५१ वर्षीय सिताराम अधिकारी पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-४ बाट आठ ग्राम १५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-६ लालपुरका २८ वर्षीय राजेश कोली, २३ वर्षीय सुरेश कोली र भारतको लखिमपुर खिरीस्थित बसईका ३० वर्षीय राम पुकार रहेका छन् ।
प्रहरीकाअनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका दुई मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको हो । राजेश र सुरेश सवार मोटरसाइकलबाट चार ग्राम ४१० मिलिग्राम तथा राम सवार मोटरसाइकलबाट तीन ग्राम ७४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका-६ बसपार्कबाट ९०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित शुक्लाफाँटा नगरपालिका-१० का १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-१६ बाट २३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र ११ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही-१३ सैलुङ टोलका ३३ वर्षीय वीरबहादुर परियार र तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दर बजार टोलका ३२ वर्षीय पूर्ण बुढामगर रहेका छन् । उनीहरूलाई अस्थायी प्रहरी पोस्ट सर्राबाट खटिएको टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोलाका २४ वर्षीय मिलन बस्नेतलाई दुई ग्राम ३७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बुधबार दिउँसो उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका