काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न चाहने व्यक्तिको वैवाहिक अवस्था, आर्थिक पारदर्शिता र व्यक्तिगत आचरणसम्बन्धी मापदण्ड प्रस्ताव गरेको छ ।
पार्टीले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी प्रस्तावित मापदण्डमा उम्मेदवारको पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा वैध र स्पष्ट हुनुपर्ने व्यवस्था राखिएको छ ।
प्रस्तावअनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले आफ्नो पारिवारिक तथा वैवाहिक अवस्था कानुनी रूपमा पूर्ण वैध रहेको स्वघोषणा गर्नुपर्नेछ । साथै, यससम्बन्धी कुनै विषय लुकाइएको वा विवादित नरहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
रास्वपाले उम्मेदवार छनोटमा वित्तीय तथा आर्थिक शुद्धतालाई समेत प्राथमिकतामा राखेको छ । प्रस्तावित मापदण्डअनुसार मिटरब्याज, सट्टेबाजी, हप्ता असुली, ढुकुटी, हुन्डी तथा सहकारी संस्थाको बचत अपचलनजस्ता अनौपचारिक वा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नरहेको स्वघोषणा उम्मेदवारले गर्नुपर्नेछ ।
त्यस्तै, व्यक्तिगत आचरण र व्यवहारलाई पनि उम्मेदवार छनोटको आधार बनाउने प्रस्ताव गरिएको छ । घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार तथा सार्वजनिक स्थानमा अमर्यादित व्यवहारमा संलग्न नरहेको व्यक्ति उम्मेदवार बन्न योग्य हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
डिजिटल माध्यमको दुरुपयोगलाई पनि प्रस्तावित मापदण्डमा समेटिएको छ । सामाजिक सञ्जालमार्फत साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य प्रकारका डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा उम्मेदवारले गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तावित व्यवस्थाले उम्मेदवारको कानुनी तथा पारिवारिक अवस्था, आर्थिक पारदर्शिता र व्यक्तिगत आचरणलाई छनोट प्रक्रियामा महत्त्व दिने देखिन्छ । यद्यपि, यी व्यवस्थाहरू हाल प्रस्तावित मापदण्डका रूपमा रहेका छन् ।







काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको