काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पार्टीलाई एकढिक्का बनाएर नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै पार्टीभित्र नीतिगत र सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उल्लेख गर्दै उनीहरूले युवा पुस्ताको भावना, जनसरोकारका मुद्दा र बदलिँदो राजनीतिक परिस्थितिलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य खड्गबहादुर शाहीले कांग्रेसप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय परिस्थितिमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नयाँ नेतृत्वले युवा पुस्ताको भावना, राजनीतिक चेतना र पछिल्लो समय युवाहरूले उठाएका प्रश्नलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीको विधान, नीति र कार्यदिशालाई समयानुकूल परिवर्तन गर्दै देश र जनताको आवश्यकताअनुसार शासन सञ्चालन गर्ने सोचका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ । साथै, सरकारलाई जनताप्रति उत्तरदायी बनाउन कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।
चाडपर्वका बेला हवाई तथा सडक यातायातको भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारण समस्यामा परेको उल्लेख गर्दै शाहीले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । जनताका समस्यालाई सरकारले बेवास्ता गरे कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाउने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेस नयाँ विचार र सोचका साथ अगाडि बढ्नुपर्छ । देश र जनतालाई सुहाउँदो शासन व्यवस्था सञ्चालन गरेर अघि बढ्नुपर्छ । कांग्रेस अहिले सत्तामा छैन, त्यसैले प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । नेपाली जनताका पीरमर्कालाई मनन गर्ने पार्टीका रूपमा कांग्रेसले अहिले पनि जनताका पक्षमा आवाज उठाउनुपर्छ ।”
शाहीले थप्नुभयो, “अहिले महँगी चरमचुलीमा पुगेको छ । चाडपर्वका बेला हवाई भाडादेखि गाडी भाडासम्म र दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ । सरकारले महँगी नियन्त्रण गरेर जनतालाई सुख, शान्ति र समृद्धिको बाटोमा अघि बढाउनुपर्छ ।”
युवा र सीमान्तकृत समुदायका मुद्दा सम्बोधन गर्नुपर्ने
कांग्रेस केन्द्रीय सदस्य मिर्शाद अन्सारीले युवाहरूको भावना र अपेक्षालाई पार्टीको नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक परिस्थितिमा आएको परिवर्तनलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ ।
मधेसका मुस्लिम समुदायलगायत विभिन्न समुदायका समस्या पहिचान गरी समाधानका लागि पहल गर्नुपर्ने उल्लेख गर्दै उहाँले कांग्रेसको संगठन गाउँगाउँसम्म विस्तार गरेर पार्टीका विचार र कार्यक्रम जनतामाझ पुर्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मधेसमा मुस्लिम समुदायका विभिन्न मुद्दा छन् । ती मुद्दालाई उठान गरेर कार्यान्वयनमा लैजानुपर्छ । युवाहरूमा राजनीतिप्रति वितृष्णा बढेको देखिन्छ । यसलाई सम्बोधन गर्न उनीहरूको मनोभावना र सोच्ने दृष्टिकोणलाई आत्मसात् गरेर अघि बढ्नुपर्छ ।”
जिम्मेवार प्रतिपक्ष र निर्वाचनको तयारीमा जोड
कांग्रेस नेता लेखनाथ पोखरेलले नयाँ नेतृत्वले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग गर्ने र गलत कामको आलोचना गर्ने गरी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै पार्टीले राजनीतिक तथा निर्वाचनसम्बन्धी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले गुट–उपगुटभन्दा माथि उठेर एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
पाल्पा कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनसरोकारका मुद्दालाई पार्टीको नीति तथा कार्यक्रमको केन्द्रमा राख्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनलगायतका विषयलाई प्राथमिकता दिँदै नागरिकका दैनिक समस्या समाधान गर्ने कार्यक्रम अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।
आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा कांग्रेसलाई लोकप्रिय र बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नयाँ नेतृत्वले प्रभावकारी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कांग्रेस नेतृ सरस्वती अर्याल तिवारीले आगामी स्थानीय निर्वाचनअघि पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्दै फरक धारमा रहेका नेताहरूलाई समेत समेटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो । देशभर एउटै उद्देश्य र साझा सन्देशका साथ पार्टी परिचालन गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।
त्यस्तै, कांग्रेस नेतृ सनम विकले नयाँ र पुरानो पुस्ताबीच सहकार्य गरेर पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो । आन्तरिक प्रतिस्पर्धामा मात्र केन्द्रित नभई अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो ।
कांग्रेसका युवा नेता समुन्द्र पोखरेलले वडा तहदेखि नै युवाहरूलाई नेतृत्वमा आउने अवसर दिनु सकारात्मक भएको उल्लेख गर्नुभयो । उहाँले युवा रोजगारी र युवासँग सम्बन्धित सरोकारका विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी कार्यालयमा जारी रहेको छ । अधिकांश पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको भए पनि केही समावेशी समूहका सहमहामन्त्री तथा विभिन्न क्लस्टर र खुलातर्फका केन्द्रीय सदस्यको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।
नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउँदै युवाका अपेक्षा, जनजीविकाका सवाल र बदलिँदो राजनीतिक परिस्थितिलाई सम्बोधन गर्नुपर्नेमा कांग्रेस नेताहरूले जोड दिएका छन् ।







पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको
झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
चौध लाखभन्दा बढीका सामान र
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल
सुर्खेतका जंगलबाट एकै दिन १८