मानव सभ्यताको लामो यात्रामा केही पर्वहरू यस्ता छन्, जसले मानिसलाई केवल उत्सव मनाउन सिकाउँदैनन्, जीवनको अर्थ बुझ्न पनि प्रेरित गर्छन् । विजयादशमी त्यस्तै एउटा महान् सांस्कृतिक पर्व हो, जसले मानव जीवनलाई सत्य, धर्म, विवेक, सद्भाव र आत्मविजयको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ । यो केवल निधारमा रातो टीका लगाउने, कानमा पहेँलो जमरा सिउरिने र मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने दिन मात्र होइन; यो त मानिसले आफ्नै अन्तःकरणमा लुकेर बसेका रावणहरूलाई चिन्ने, तिनलाई पराजित गर्ने र आफूभित्र नयाँ मानवीय चेतनाको जन्म गराउने अवसर पनि हो ।
विजयादशमीको मूल सन्देश विजय हो । तर प्रश्न उठ्छ—विजय कसको माथि ? अरूमाथि विजय प्राप्त गर्नु ठूलो कुरा हो कि आफ्नै अहंकारमाथि ? अरूलाई पराजित गर्नु उपलब्धि हो कि आफ्नै क्रोध, लोभ, ईर्ष्या, घृणा र प्रतिशोधलाई पराजित गर्नु ? संसार जितेर पनि आफूलाई जित्न नसक्ने मानिस वास्तवमा विजेता हुन सक्दैन । यस अर्थमा विजयादशमी बाह्य विजयको उत्सव मात्र नभई आन्तरिक रूपान्तरणको महापर्व हो ।
धार्मिक महत्व
हिन्दू धार्मिक मान्यताअनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाइने नवरात्र र दशमीका दिन मनाइने विजयादशमीको सम्बन्ध देवी दुर्गाले महिषासुरमाथि प्राप्त गरेको विजयसँग जोडिएको छ । त्यस्तै, रामायण परम्परामा भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्गलाई पनि विजयादशमीसँग जोडेर स्मरण गरिन्छ । यी धार्मिक आख्यानहरूका मूलमा असत्य, अन्याय र अधर्ममाथि सत्य, न्याय र धर्मको विजयको शाश्वत सन्देश निहित छ ।
देवी दुर्गा शक्तिकी प्रतीक हुन् । उनको विजयले अन्यायविरुद्ध सङ्घर्ष गर्ने साहस, दुर्बलको रक्षा गर्ने करुणा र दुष्प्रवृत्तिको प्रतिरोध गर्ने सामर्थ्यको स्मरण गराउँछ । श्रीरामको विजयले मर्यादा, कर्तव्य, संयम र धर्मनिष्ठाको महत्त्व स्थापित गर्छ । रावण विद्वान्, शक्तिशाली र प्रतिभाशाली हुँदाहुँदै पनि अहंकार तथा अनैतिक आचरणका कारण पतन भएको पात्रका रूपमा चित्रित छन् । यसले एउटा गम्भीर सत्य उजागर गर्छ—ज्ञानले मात्र मानिस महान् हुँदैन; ज्ञानसँग विवेक, शक्तिसँग विनम्रता र सफलतासँग नैतिकता पनि आवश्यक हुन्छ ।
आज हामी देवीको आराधना गर्छौँ, श्रीरामको जयजयकार गर्छौँ र रावणवधको कथा सुन्छौँ । तर के हामीले आफ्नै जीवनमा अन्यायको विरोध गरेका छौँ ? के हामीले असहायको पक्षमा उभिने साहस गरेका छौँ ? के हामीले आफ्नै स्वार्थका कारण अरूको अधिकार खोसेका छैनौँ ? यदि हाम्रो व्यवहारमा छल, कपट, अन्याय र अहंकार जीवित छन् भने बाहिरको पूजा मात्रले हाम्रो अन्तःकरण पवित्र हुन सक्दैन ।
वास्तविक धर्म मानिसलाई विभाजित गर्नु होइन, जोड्नु हो । धर्मको सार करुणा, सत्य, सेवा, सदाचार र परोपकार हो । मन्दिरमा दीप बाल्नु पवित्र कर्म हो, तर कसैको अँध्यारो जीवनमा आशाको दीप बाल्नु त्योभन्दा कम पवित्र छैन । देवीलाई फूल चढाउनु श्रद्धा हो, तर पीडितको आँसु पुछ्नु श्रद्धाको जीवन्त अभिव्यक्ति हो । भगवानलाई प्रसाद चढाउनु परम्परा हो, तर भोकालाई भोजन दिनु मानवताको सर्वोच्च साधना हो ।
त्यसैले विजयादशमीमा हामीले देवत्वलाई मूर्तिमा मात्र होइन, मानवीय व्यवहारमा पनि खोज्नुपर्छ । जब हाम्रो मनमा करुणा जाग्छ, हाम्रो बोलीमा सत्य प्रकट हुन्छ र हाम्रो कर्मबाट अरूको जीवनमा उज्यालो थपिन्छ, त्यही क्षण हाम्रो अन्तःकरणमा विजयादशमीको वास्तविक उत्सव आरम्भ हुन्छ ।
सांस्कृतिक महत्व
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न देश हो । यहाँका चाडपर्वहरू केवल धार्मिक अनुष्ठान होइनन्,ती समाजको सामूहिक स्मृति, ऐतिहासिक अनुभव, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानका जीवन्त अभिव्यक्ति हुन् । विजयादशमीले नेपाली समाजलाई यिनै विविधताका बीच पारिवारिक आत्मीयता र सामाजिक निकटताको सूत्रमा बाँध्ने काम गर्छ ।
जमरा उमार्ने परम्परा प्रकृतिसँगको सम्बन्धको प्रतीकका रूपमा बुझ्न सकिन्छ । माटो, बीउ, पानी, प्रकाश र समयको संयोजनबाट उम्रिने जमराले जीवनको सम्भावना, प्रकृतिको उदारता र सृजनाको निरन्तरता सम्झाउँछ । जमरा केवल धार्मिक सामग्री होइन; यो कृषि सभ्यतासँग जोडिएको हाम्रो सांस्कृतिक स्मृति पनि हो । प्रकृतिको संरक्षण नगरी मानव जीवन सुरक्षित रहन सक्दैन भन्ने सन्देश यसले अप्रत्यक्ष रूपमा दिन्छ ।
विजयादशमीमा लगाइने टीका, जमरा र मान्यजनबाट ग्रहण गरिने आशीर्वादले पुस्ताबीचको सम्बन्धलाई जीवन्त बनाउँछन् । हजुरबा–हजुरआमाका अनुभव, आमाबुबाको माया र सन्तानको उत्साह एउटै आँगनमा भेटिँदा परिवार केवल रगतको सम्बन्धमा सीमित रहँदैन; त्यो संस्कार, स्मृति र भावनाको साझा संसार बन्छ ।
तर संस्कृति भनेको पुराना अभ्यासलाई प्रश्न नगरी दोहोर्याउनु मात्र होइन । संस्कृतिको जीवन्तता त्यसले समयअनुसार आफूलाई परिष्कृत गर्न सक्ने क्षमतामा निर्भर हुन्छ । परम्पराका नाममा विभेद, छुवाछुत, लैङ्गिक असमानता वा मानवीय गरिमामाथि चोट पुर्याउने व्यवहारलाई संरक्षण गर्नु संस्कृतिको सम्मान होइन। संस्कृतिको संरक्षण भनेको त्यसका मानवीय मूल्यहरूको संरक्षण हो ।
हाम्रो चाडपर्वले सबै जाति, वर्ग, समुदाय र विचारका मानिसलाई सम्मान गर्न सिकाउनुपर्छ । फरक आस्था राख्ने व्यक्तिप्रति घृणा होइन, सहिष्णुता हुनुपर्छ । फरक आर्थिक अवस्था भएका मानिसलाई हेप्ने होइन, सहयोग गर्ने भावना हुनुपर्छ । आफ्नो परम्पराप्रति गौरव गर्दै अरूको संस्कृतिप्रति सम्मान प्रकट गर्न सक्नु नै परिपक्व सांस्कृतिक चेतना हो ।
हामीले आफ्ना सन्ततिलाई टीका लगाउने विधि मात्र होइन, टीकाको अर्थ पनि सिकाउनुपर्छ । जमरा सिउरिने चलन मात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता पनि बुझाउनुपर्छ । मान्यजनको आशीर्वाद ग्रहण गर्ने संस्कार मात्र होइन, ज्येष्ठ नागरिकको सम्मान, हेरचाह र सुरक्षाको दायित्व पनि सिकाउनुपर्छ । यसरी मात्र संस्कृति पुस्तान्तरणको औपचारिक कर्मकाण्डबाट जीवनोपयोगी मूल्यमा रूपान्तरण हुन सक्छ ।
सामाजिक महत्व : सम्बन्ध जोड्ने कि औपचारिकता निभाउने ?
मानिस सामाजिक प्राणी हो । उसको जीवनको पूर्णता धन, पद, प्रतिष्ठा वा व्यक्तिगत सफलतामा मात्र निर्भर हुँदैन; उसले निर्माण गरेका सम्बन्धको आत्मीयतामा पनि निर्भर हुन्छ । विजयादशमी यस्ता सम्बन्धलाई पुनर्जीवित गर्ने महत्वपूर्ण अवसर हो ।
वर्षभरि काम, अध्ययन, व्यापार र विभिन्न व्यस्तताका कारण टाढिएका परिवारका सदस्यहरू दशैँमा एकै ठाउँमा भेला हुन्छन् । टाढिएका आफन्त नजिकिन्छन्, पुराना मनमुटाव बिर्सने प्रयास गरिन्छ र आपसी सद्भावको नयाँ अध्याय सुरु हुन्छ । कतिपय अवस्थामा एउटा सानो भेटघाट, आत्मीय अँगालो वा क्षमायाचनाले वर्षौँदेखि जमेको मनको दूरीसमेत घटाउन सक्छ ।
तर आजको समाजमा एउटा विरोधाभास पनि देखिन्छ । हामी टीका लगाउन टाढाटाढासम्म पुग्छौँ, तर मनको दूरी घटाउन सक्दैनौँ । सामाजिक सञ्जालमा शुभकामनाका शब्दहरूको ओइरो लगाउँछौँ, तर आफ्नै घरका वृद्ध आमाबुबाको एक्लोपन बुझ्न चुक्छौँ । आफन्तको घरमा मीठो भोजन ग्रहण गर्छौँ, तर छिमेकीको चुलो नबलेको देखेर पनि बेवास्ता गर्छौँ । यस्तो अवस्थामा चाडपर्वको बाह्य रौनक बढे पनि यसको सामाजिक आत्मा कमजोर हुँदै जान्छ ।
दशैँको वास्तविक सुन्दरता महँगा लुगा, महँगा भोज र भव्य सजावटमा मात्र हुँदैन । यसको सुन्दरता त परिवारका सदस्यले एकअर्कालाई समय दिनुमा, दुःखीलाई सान्त्वना दिनुमा, वृद्धलाई सम्मान गर्नुमा, बालबालिकालाई माया दिनुमा र टुटेका सम्बन्ध जोड्ने प्रयास गर्नुमा हुन्छ ।
यस अवसरमा हामीले सामाजिक विभेदविरुद्ध पनि दृढतापूर्वक उभिनुपर्छ । गरिबको निधारमा टीका नलाग्ने, विपन्नका छोराछोरीले नयाँ लुगा लगाउन नपाउने र असहाय परिवारले चाड मनाउन नसक्ने अवस्था विद्यमान छ भने हाम्रो सामाजिक उत्सव अझै अपूर्ण छ । समाजका सम्पन्न व्यक्तिले आफ्नो खुसीको केही अंश विपन्नसँग बाँड्न सके दशैँ सामाजिक न्याय र मानवीय एकताको पर्व बन्न सक्छ ।
क्षमा गर्नु कमजोरी होइन, आत्मबलको परिचय हो । सहयोग गर्नु दया देखाउनु मात्र होइन, साझा मानवताको सम्मान गर्नु हो । र, कसैलाई अपमान नगरी सम्मानपूर्वक व्यवहार गर्नु नै सभ्य समाजको आधार हो । विजयादशमीले यिनै मूल्यलाई हाम्रो सामाजिक जीवनको अभिन्न हिस्सा बनाउन प्रेरित गर्नुपर्छ ।
आर्थिक महत्व : उत्सवको रौनक र आर्थिक यथार्थ
विजयादशमी नेपाली अर्थतन्त्रको दृष्टिले पनि महत्वपूर्ण पर्व हो । दशैँको समयमा बजारमा उपभोग्य वस्तु, खाद्यान्न, लत्ताकपडा, जुत्ता, यातायात र सेवाको माग बढ्छ । व्यापारिक कारोबार विस्तार हुन्छ, यातायात व्यवसाय सक्रिय हुन्छ र साना तथा ठूला व्यवसायीले आर्थिक गतिविधि बढेको अनुभव गर्छन् । ग्रामीण क्षेत्रबाट सहर र विदेशमा रहेका नेपालीहरू घर फर्कँदा गाउँबस्तीमा चहलपहल बढ्छ । यसले स्थानीय बजार र सेवा क्षेत्रमा आर्थिक गतिशीलता ल्याउन सक्छ ।
दशैँले उपभोग मात्र होइन, उत्पादन र रोजगारीसँग सम्बन्धित अवसरको महत्वप पनि स्मरण गराउँछ । स्थानीय किसानका उत्पादन, घरेलु उद्योगका सामग्री, हस्तकलाका वस्तु र स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सके चाडपर्वको खर्चले देशभित्रै आर्थिक गतिविधि बढाउन मद्दत गर्न सक्छ ।
तर आर्थिक समृद्धिको उत्सव मनाउँदा अर्को यथार्थलाई बिर्सन मिल्दैन । समाजका सबै परिवारको आर्थिक अवस्था समान हुँदैन । कसैका लागि दशैँ किनमेल र मनोरञ्जनको अवसर हुन्छ भने कसैका लागि घरभाडा, विद्यालय शुल्क, ऋणको किस्ता र दैनिक खर्च व्यवस्थापन गर्ने चुनौती । कसैको घरमा पकवानका परिकार पाक्छन्, कसैको घरमा सामान्य भोजन जुटाउनसमेत कठिन हुन्छ ।
यही असमानताका बीच दशैँको खर्चसम्बन्धी व्यवहारमाथि गम्भीर आत्मसमीक्षा आवश्यक छ । अरूलाई देखाउनका लागि महँगा लुगा किन्नु, सामाजिक प्रतिष्ठाका नाममा अनावश्यक भोज आयोजना गर्नु, क्षमताभन्दा बढी ऋण लिनु र चाडपर्वपछि महिनौँसम्म आर्थिक तनाव झेल्नु बुद्धिमानी होइन । उत्सवको उद्देश्य क्षणिक प्रदर्शन होइन, दीर्घकालीन खुसी र आत्मीयता हो ।
हामीले आफ्ना आम्दानी र आवश्यकताअनुसार बजेट बनाएर चाड मनाउनुपर्छ । बालबालिकालाई धनको प्रदर्शनभन्दा श्रमको सम्मान सिकाउनुपर्छ । किनमेल गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ । स्थानीय किसान, साना व्यापारी र घरेलु उद्यमीबाट सामग्री खरिद गर्न सके स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्न सक्छ ।
विदेशबाट फर्किएका नेपालीले परिवारसँग समय बिताउने क्रममा आफ्नो श्रमको मूल्य र देशको आर्थिक अवस्थाबारे पनि सोच्न सक्छन् । देशभित्र पर्याप्त रोजगारी, सम्मानजनक आय र उत्पादनमूलक अवसर सिर्जना गर्न सके हरेक वर्ष रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता कम गर्न मद्दत पुग्नेछ ।
आर्थिक रूपमा सफल दशैँ त्यो होइन, जसमा सबैभन्दा बढी पैसा खर्च गरियो । सफल दशैँ त्यो हो, जसमा आफ्नो परिवारको आवश्यकता पूरा भयो, कसैलाई आर्थिक भार परेन, स्थानीय उत्पादनले बजार पायो र सम्भव भएसम्म अरूको खुसीमा पनि योगदान गर्न सकियो ।
प्रवासको पीडा र घर फर्किने मनको कथा
आज लाखौँ नेपाली रोजगारी, अध्ययन र अवसरको खोजीमा देशभित्रै टाढा वा विदेशमा छन् । उनीहरूमध्ये धेरैका लागि दशैँ केवल खुसीको अवसर होइन, घरपरिवारको सम्झनाले मन भारी बनाउने समय पनि हो ।
विदेशको व्यस्त कार्यतालिका, सीमित बिदा, महँगो यात्रा र आर्थिक जिम्मेवारीका कारण सबैले चाहेर पनि घर फर्कन सक्दैनन् । कतिपयले वर्षौँसम्म आफ्ना आमाबुबाको हातबाट टीका लगाउन पाउँदैनन्। छोराछोरीको अनुहार प्रत्यक्ष हेर्न नपाएका बाबुआमा भिडियो कलमै चाडको खुसी खोज्न बाध्य हुन्छन् ।
यसले हामीलाई एउटा महत्वपूर्ण{ प्रश्न सोध्न बाध्य बनाउँछ—समृद्धि भनेको पैसा कमाउनु मात्र हो कि आफ्ना प्रियजनसँग जीवनका महत्वपूर्ण{ क्षण बाँड्न पाउनु पनि हो ?
विदेशमा रहेका नेपालीको परिश्रम र योगदानको सम्मान गर्नुपर्छ । उनीहरूको अनुपस्थितिलाई केवल पारिवारिक कमजोरीका रूपमा हेर्नु न्यायोचित हुँदैन । तर देशभित्रै सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नु राज्य, समाज र नीतिनिर्माताको साझा जिम्मेवारी हो । नेपालीले आफ्नो परिवारसँगै रहेर पनि सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु दीर्घकालीन राष्ट्रिय आवश्यकता हो । यसैबीच, टाढा रहेका परिवारजनसँग नियमित संवाद गर्नु, उनीहरूको भावनालाई बुझ्नु र सम्बन्धलाई पैसाको लेनदेनमा सीमित नगर्नु पनि उत्तिकै महत्वपूर्ण छ। आमाबुबालाई आर्थिक सहयोग आवश्यक हुन्छ, तर उनीहरूलाई सन्तानको आवाज, समय र आत्मीयताको पनि उत्तिकै आवश्यकता हुन्छ ।
दशैँले घरको दूरीभन्दा मनको निकटता ठूलो हुन्छ भन्ने सन्देश दिनुपर्छ । शरीरले टाढा भए पनि माया, सम्मान र जिम्मेवारीमा नजिक रहन सक्नु नै सम्बन्धको वास्तविक विजय हो ।
प्रकृति, कृषि र जीवनचक्रको सन्देश विजयादशमीको सांस्कृतिक जीवन प्रकृतिसँग पनि जोडिएको छ । जमराको अङ्कुरणले बीउको जीवनशक्ति, माटोको महत्व र अनुकूल वातावरणको आवश्यकतालाई स्मरण गराउँछ । कृषि प्रधान समाजमा मौसम, वर्षा, माटो र बालीको सम्बन्ध मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ ।
प्रकृतिले मानिसलाई निरन्तर दिन्छ, तर मानिसले प्रकृतिलाई के दिइरहेको छ भन्ने प्रश्न आज झन् महत्वपूर्ण बनेको छ । वन विनाश, नदी प्रदूषण, प्लास्टिकको अव्यवस्थित प्रयोग र प्राकृतिक स्रोतको दोहनले हाम्रो भविष्यलाई चुनौती दिइरहेका छन् । देवीको पूजा गर्ने तर प्रकृतिको विनाश गर्ने व्यवहारमा गम्भीर विरोधाभास छ ।
यदि हामीले जमरा उमार्ने परम्पराबाट जीवनको संरक्षण सिक्न सकेनौँ, प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने संस्कारबाट वातावरण जोगाउने जिम्मेवारी बुझ्न सकेनौँ भने हाम्रो धार्मिक उत्सवको व्यावहारिक अर्थ अपूर्ण रहन्छ ।
त्यसैले दशैँको अवसरमा घर, आँगन र सार्वजनिक स्थान सफा राख्ने, प्लास्टिकको प्रयोग घटाउने, खाद्यान्न खेर नफाल्ने, पानीको संरक्षण गर्ने र सम्भव भएसम्म वृक्षरोपण तथा वातावरण संरक्षणका गतिविधिमा सहभागी हुने संकल्प गर्न सकिन्छ । यस्ता साना अभ्यासले पर्वलाई प्रकृतिमैत्री बनाउनुका साथै भावी पुस्ताप्रतिको जिम्मेवारी पनि पूरा गर्न मद्दत गर्छन् ।
नारीशक्तिको सम्मान : देवीपूजाबाट व्यवहारसम्म
विजयादशमीसँग जोडिएको देवी दुर्गाको आराधनाले नारीशक्ति, साहस र सामर्थ्यको महत्वलाई विशेष रूपमा उजागर गर्छ । नारीलाई शक्ति र सृजनाको प्रतीकका रूपमा सम्मान गर्ने हाम्रो सांस्कृतिक परम्पराले समाजलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ ।
तर देवीको पूजा गर्ने समाजमा नै छोरीलाई अवसरबाट वञ्चित गरिन्छ, महिलामाथि हिंसा हुन्छ, उनीहरूको निर्णयलाई अवमूल्यन गरिन्छ र समान अधिकारको प्रश्नमा विभेद गरिन्छ भने हामीले आफ्नो व्यवहारमाथि प्रश्न उठाउनैपर्छ ।
देवीप्रतिको साँचो श्रद्धा महिलाको स्वतन्त्रता, सम्मान, सुरक्षा र समान अवसरको सुनिश्चिततामा प्रकट हुनुपर्छ । छोरीलाई शिक्षा दिनु, महिलाको श्रमको सम्मान गर्नु, घरेलु हिंसाविरुद्ध आवाज उठाउनु र परिवार तथा समाजका निर्णयमा महिलाको समान सहभागिता सुनिश्चित गर्नु नै नारीशक्तिको व्यावहारिक सम्मान हो ।
आफ्नै घरका महिलालाई अपमान गर्ने तर मन्दिरमा देवीको आराधना गर्ने व्यवहारले धार्मिकताको बाहिरी आवरण त देखाउन सक्छ, तर त्यसले आध्यात्मिक चेतनाको पूर्णता प्रमाणित गर्दैन । विजयादशमीले हामीलाई श्रद्धा र व्यवहारबीच एकरूपता कायम गर्न प्रेरित गर्नुपर्छ ।
देखावटीपन र मानवीय संवेदनाको क्षय
समयसँगै चाडपर्व मनाउने शैलीमा परिवर्तन आउनु स्वाभाविक हो । यातायात, सञ्चार, प्रविधि र बजार विस्तारले दशैँ मनाउन सहज बनाएका छन् । तर आधुनिकताको नाममा देखावटीपन, अनावश्यक प्रतिस्पर्धा र उपभोगवादी सोच बढ्नु चिन्ताको विषय हो ।
आज कतिपय अवस्थामा मानिसले आफ्नो खुसीभन्दा अरूलाई देखाउनुपर्ने प्रतिष्ठालाई प्राथमिकता दिन्छ । सामाजिक सञ्जालमा कस्तो फोटो राख्ने, कति महँगो लुगा लगाउने, कति भव्य भोज गर्ने र कति खर्च गरेको देखाउने भन्ने प्रतिस्पर्धाले पर्वको आत्मीयतालाई ओझेलमा पार्न सक्छ ।
हामीले एउटा साधारण सत्य बुझ्नुपर्छ—खुसी प्रदर्शन गरेर प्रमाणित गर्नुपर्ने वस्तु होइन । महँगो लुगाले मानिसको गरिमा निर्धारण गर्दैन, ठूलो भोजले सम्बन्धको गहिराइ प्रमाणित गर्दैन र धेरै दक्षिणाले मात्र आशीर्वादको मूल्य बढाउँदैन ।
दशैँमा जुवा, मदिराको दुरुपयोग, घरेलु झगडा, अनियन्त्रित खर्च र हिंसात्मक व्यवहारका कारण परिवारमा दुःख निम्तिन सक्छ । यस्ता विकृतिलाई परम्परा वा मनोरञ्जनका नाममा सामान्यीकरण गर्नु हुँदैन । आफ्नो र परिवारको सुरक्षा, स्वास्थ्य तथा आर्थिक अवस्थालाई ध्यानमा राखेर जिम्मेवार व्यवहार गर्नु नै पर्वप्रतिको सम्मान हो ।
हामीले पर्वलाई बजारको वस्तु मात्र बन्न दिनु हुँदैन। पर्वको केन्द्रमा मानिस, सम्बन्ध, संस्कृति र सद्भाव रहनुपर्छ। खर्चभन्दा संवेदना, प्रदर्शनभन्दा आत्मीयता र प्रतिस्पर्धाभन्दा सहकार्यलाई महत्त्व दिन सके दशैँको वास्तविक गरिमा सुरक्षित रहन्छ ।
विजयादशमी र राष्ट्र निर्माणको प्रश्न
राष्ट्र निर्माण केवल सरकार, राजनीतिक दल वा राज्यका संस्थाको जिम्मेवारी मात्र होइन । नागरिकको नैतिकता, सामाजिक व्यवहार, श्रमप्रतिको सम्मान र सार्वजनिक जीवनमा इमानदारीले पनि राष्ट्रको चरित्र निर्माण गर्छ ।
विजयादशमीको सन्देशलाई राष्ट्रिय जीवनसँग जोडेर हेर्दा भ्रष्टाचारमाथि इमानदारीको विजय, विभेदमाथि समानताको विजय, निराशामाथि आशाको विजय र स्वार्थमाथि सेवाभावको विजय आवश्यक देखिन्छ ।
यदि हामी भ्रष्टाचारको विरोध गर्छौँ तर आफ्नै सानो स्वार्थका लागि नियम मिच्छौँ भने हाम्रो विरोध अपूर्ण हुन्छ । यदि हामी देशको विकास चाहन्छौँ तर सार्वजनिक सम्पत्तिको संरक्षण गर्दैनौँ भने हाम्रो देशप्रेम कमजोर हुन्छ । यदि हामी समाजमा न्याय चाहन्छौँ तर आफ्नै पक्षका मानिसले गरेको अन्यायलाई समर्थन गर्छौँ भने हाम्रो नैतिकता प्रश्नको घेरामा पर्छ ।
राष्ट्र निर्माणका लागि नागरिकले आफ्नो दायित्व बुझ्नुपर्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानसँगै नैतिकता सिकाउनुपर्छ । अभिभावकले सन्तानलाई सुविधासँगै जिम्मेवारी सिकाउनुपर्छ। जनप्रतिनिधिले पदलाई सेवाको माध्यम बनाउनुपर्छ। कर्मचारीले सार्वजनिक जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ । व्यापारीले उपभोक्ताको विश्वासको सम्मान गर्नुपर्छ र नागरिकले आफ्नो अधिकारसँगै कर्तव्य पनि सम्झनुपर्छ ।
हामीले हरेक वर्ष रावणको पुतला जलाउँदा समाजमा रहेका अन्याय, भ्रष्टाचार, शोषण, हिंसा र विभेदका संरचनालाई पनि चुनौती दिनुपर्छ । अन्यथा, पुतला त जलिरहन्छ, तर समाजभित्रका रावणहरू अझ शक्तिशाली हुँदै जान सक्छन् ।
राष्ट्रको वास्तविक विजय नागरिकको अनुहारमा मुस्कान, बालबालिकाको हातमा गुणस्तरीय शिक्षा, युवाको जीवनमा रोजगारी, महिलाको जीवनमा सुरक्षा, ज्येष्ठ नागरिकको जीवनमा सम्मान र विपन्नको जीवनमा आधारभूत अवसर सुनिश्चित हुँदा प्राप्त हुन्छ ।
विजयादशमी हरेक वर्ष आउँछ। घरका आँगनमा जमरा उम्रिन्छन्, निधारमा टीका सजिन्छ, आफन्तबीच शुभकामना आदानप्रदान हुन्छ र आशा तथा विश्वासका नयाँ शब्दहरू उच्चारण गरिन्छ । तर हरेक वर्ष आउने यो पर्वले हाम्रो जीवनमा कति परिवर्तन ल्यायो भन्ने प्रश्नको उत्तर खोज्नु आजको आवश्यकता बनेको छ ।
के गत वर्षभन्दा यस वर्ष हामी अलि बढी सहनशील भयौँ ? के हामीले कसैको दुःख बुझ्ने प्रयास गर्यौँ ? के हामीले गलत कामबाट आफूलाई टाढा राख्यौँ? के हामीले आफ्ना आमाबुबालाई समय दियौँ? के हामीले सन्तानलाई असल संस्कार सिकायौँ? के हामीले विपन्न, असहाय र पीडितका लागि केही गर्न सक्यौँ? यदि यी प्रश्नको उत्तर सकारात्मक छ भने हाम्रो विजयादशमी सार्थक भएको मान्न सकिन्छ ।
विजयादशमीको शुभकामना दिँदा हामीले केवल समृद्धि, सुख र दीर्घायुको कामना मात्र नगरौँ; विवेक, इमानदारी, करुणा र सदाचारको पनि कामना गरौँ । नयाँ लुगा लगाउने उत्साहसँगै नयाँ सोच धारण गर्ने संकल्प गरौँ । घर सजाउने प्रयत्नसँगै मन सफा गर्ने अभ्यास गरौँ । निधारमा टीका लगाउने परम्परासँगै विचारमा सत्यको टीका र व्यवहारमा मानवताको जमरा उमारौँ ।
किनकि मानिसको सबैभन्दा ठूलो शत्रु सधैँ बाहिर हुँदैन । कहिलेकाहीँ ऊ आफ्नै अहंकार, लोभ, ईर्ष्या र स्वार्थको रूपमा आफ्नै भित्र बसेको हुन्छ । त्यसलाई चिन्नु आत्मज्ञान हो, त्यसविरुद्ध सङ्घर्ष गर्नु साधना हो र त्यसलाई पराजित गर्नु नै वास्तविक विजय हो ।
आउनुहोस्, यस विजयादशमीमा हामी केवल विजयको कथा नसुनौँ, विजयको संस्कार पनि आत्मसात् गरौँ । केवल देवीको पूजा नगरौँ, नारीको सम्मान पनि गरौँ । केवल रामको आदर्श गाउन छाडौँ भन्ने होइन, रामले प्रतिनिधित्व गर्ने मर्यादा र कर्तव्यलाई व्यवहारमा उतारौँ । केवल रावणको पुतला जलाउने कर्ममा सीमित नरहौँ, आफ्नै मनमा रहेका अहंकार र अन्यायका प्रवृत्तिलाई पनि पराजित गरौँ ।
विजयादशमीको वास्तविक सार यही हो—विजय अरूमाथि शासन गर्नुमा होइन, आफ्नै विकारमाथि विजय प्राप्त गर्नुमा छ; धर्म कर्मकाण्डमा मात्र होइन, मानवीय व्यवहारमा छ; समृद्धि धनको थुप्रोमा मात्र होइन, सन्तुष्ट जीवनमा छ; र उत्सवको पूर्णता आफ्नै खुसीमा मात्र होइन, अरूको अनुहारमा मुस्कान ल्याउन सक्नुमा छ ।
जब हाम्रो निधारको टीकाले विवेकको अर्थ दिन्छ, कानको जमराले प्रकृतिको सम्मान सिकाउँछ र दशैँको आशीर्वादले जीवनमा सदाचारको बीउ रोप्छ, तब मात्र विजयादशमी एउटा पर्वबाट जीवनदर्शनमा रूपान्तरण हुन्छ । यस विजयादशमीले सबै नेपालीको मनमा सत्यको साहस, कर्ममा इमानदारी, सम्बन्धमा आत्मीयता र समाजमा मानवताको उज्यालो फैलाउन सकोस् । सत्यको विजय होस्, सद्भावको विजय होस्, मानवताको विजय होस् ।
हार्दिक विजयादशमीको मङ्गलमय शुभकामना !






विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको