काठमाडौं ।बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, वैकल्पिक हेरचाह तथा प्रभावित परिवारको सबलीकरणका लागि राष्ट्रिय बाल अधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच पाँचवर्षे समझदारी भएको छ ।
गत भदौ १० गते रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीबाट प्रभावित बालबालिकाको तत्कालीन तथा दीर्घकालीन संरक्षण सुनिश्चित गर्ने उद्देश्यले दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार प्रभावित बालबालिकालाई सुरक्षित पारिवारिक वातावरणमा हुर्कने अवसर प्रदान गर्नुका साथै उनीहरूको स्वास्थ्य, शिक्षा, मनोसामाजिक अवस्था र आधारभूत अधिकार सुनिश्चित गर्न सहकार्य गरिनेछ ।
समझदारीपत्रमा एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङ र राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव दुर्गाप्रसाद चालिसेले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता बादीको उपस्थितिमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारीअनुसार बाढीका कारण अभिभावकको हेरचाह तथा संरक्षण गुमाएका ५० जना बालबालिकाको व्यक्तिगत मूल्यांकन गरी उनीहरूको सर्वोत्तम हितका आधारमा एसओएस बालग्राम नेपालमार्फत पारिवारिक वातावरणमा आधारित हेरचाहको व्यवस्था गरिनेछ । त्यसैगरी, १०० जनासम्म बालबालिकालाई आफ्नै नातेदारको परिवारमा सुरक्षित रूपमा हुर्कन आवश्यक सहयोग उपलब्ध गराइनेछ ।
बाढीबाट प्रभावित चार सय परिवारलाई पनि आवश्यकताका आधारमा सहयोग गरिनेछ । परिवारको बसोबास सुरक्षा, शिक्षा, स्वास्थ्य, पोषण र जीविकोपार्जनमा सहयोग पु¥याउनुका साथै सामाजिक सुरक्षा सेवामा पहुँच स्थापित गर्न दुवै संस्थाले सहकार्य गर्ने समझदारीमा उल्लेख छ ।
प्रभावित बालबालिकाको अवस्था र आवश्यकताका आधारमा व्यक्तिगत दीर्घकालीन हेरचाह योजना तयार गरिनेछ । आवश्यकताअनुसार परिवारको खोजतलास, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापनालाई प्राथमिकता दिइनेछ । साथै बालबालिकालाई आवश्यक मनोसामाजिक सहयोग उपलब्ध गराउने र उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षा तथा हेरचाहको अवस्थाबारे नियमित अनुगमन गर्ने व्यवस्था गरिएको छ ।
स्थानीय तह र सम्बन्धित सरोकारवालासँग समन्वय गरी बाल संरक्षणसम्बन्धी आवश्यकता पहिचान, सिफारिस, घटना व्यवस्थापन तथा हेरचाह अनुगमन प्रणालीलाई समेत सुदृढ बनाइनेछ ।
एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गुरुङले भोटेकोशीको बाढीबाट धेरै बालबालिकाले परिवार तथा अभिभावक गुमाएको र उनीहरूको पारिवारिक जीवनमा गम्भीर असर परेको बताउनुभयो । यस्तो अवस्थामा बालबालिकाले सुरक्षित वातावरणमा हुर्कन र आधारभूत अधिकार प्राप्त गर्न सक्ने परिस्थिति निर्माण गर्न समझदारीले सहयोग पु¥याउने उहाँको भनाइ छ ।
उहाँका अनुसार साझेदारीमार्फत प्रभावित बालबालिकाको संरक्षण, परिवारको सबलीकरण र आवश्यकताअनुसार दीर्घकालीन हेरचाहका कार्यक्रम सञ्चालन गरिनेछ । राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा नेपालको वैकल्पिक हेरचाहको गुणस्तर सुधार गर्ने, स्थानीय बाल संरक्षण प्रणालीलाई सुदृढ बनाउने तथा बालबालिका पारिवारिक विछोडको जोखिममा पर्ने अवस्था न्यूनीकरण गर्ने लक्ष्यसमेत राखिएको छ ।
असोज २९ गतेदेखि लागू हुने पाँचवर्षे समझदारीअन्तर्गत सहकार्यका गतिविधिको प्रगति निरन्तर समन्वय, संयुक्त अनुगमन र वार्षिक समीक्षामार्फत मूल्यांकन गरिनेछ ।
एसओएस बालग्राम नेपालले अभिभावक गुमाएका, अभिभावकीय संरक्षण तथा हेरचाहबाट वञ्चित भएका वा त्यस्तो जोखिममा रहेका बालबालिकाको अधिकार संरक्षणका लागि काम गर्दै आएको छ । संस्थाले नेपालका सातै प्रदेशमा पारिवारिक वातावरणमा आधारित हेरचाह, नातागोता हेरचाह, युवा विकास, शिक्षा, तालिम तथा परिवार सबलीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।







श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध
तोलामा २ हजार १ सय
प्रहरी निरीक्षकहरूलाई दबाब र प्रभावमुक्त