काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रबन्धक प्रज्वलमान प्रधानका अनुसार नेपाल सरकारको निर्देशनअनुसार असोज १ गतेदेखि कात्तिक मसान्तसम्म सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । उपभोक्तालाई चाडपर्वका बेला सहज र सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको उनले बताए ।
कर्पोरेसनका बिक्री कक्षमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र धुलिखेललगायत स्थानमा १३ वटा बिक्री केन्द्र सञ्चालनमा छन् । यसबाहेक देशका विभिन्न २५ स्थानमा रहेका कार्यालयबाट समेत सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भइरहेको प्रधानले जानकारी दिए ।
उनका अनुसार सुपथ मूल्य पसलमा चामल, तेल, दाल, चिनी, नुन, मरिच, मसला, चियापत्ती, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्री उपलब्ध छन्। सरकारले तोकेको छुटअनुसार बजारमा प्रतिकिलो १०५ रुपैयाँ पर्ने चिनी सुपथ मूल्य पसलमा १०० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी, प्रतिकिलो २६ रुपैयाँ पर्ने नुन २४ रुपैयाँमा उपलब्ध छ ।
दाल, तेल, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्रीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ । चामलमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म तथा मरिच, मसला र चियापत्तीमा पाँचदेखि १० रुपैयाँसम्म छुट उपलब्ध गराइएको प्रधानले बताए । अन्य सामग्रीमा पनि वस्तुअनुसार १० देखि १५ रुपैयाँसम्म छुट दिएर बिक्रीवितरण भइरहेको उनले जानकारी दिए ।
यसैबीच, पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको उपलब्धतामा देखिएको असहजता कम हुँदै गएको कर्पोरेसनले जनाएको छ । सुपथ मूल्य पसलबाट ग्यास बिक्री सुरु गरेपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन थालेका छन् । यसअघि टोकन प्रणालीमार्फत वितरण गरिँदै आएको ग्यास अहिले सिलिन्डर लिएर आउने उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन थालिएको प्रधानले बताए ।
उनले आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न साल्ट ट्रेडिङका विभिन्न बिक्री केन्द्रमा पुग्न आम उपभोक्तालाई आग्रह गरेका छन् ।





कस्तो छ आजको राशिफल ?
दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट