मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले सुनिश्चित गरेका अधिकार र आवश्यक प्रशासनिक संरचना प्रदेशलाई हस्तान्तरण नगरिँदा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको बताउनुभएको छ ।
नेपाल प्रहरीको ७१ औँ स्थापना दिवसका अवसरमा मधेस प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अधिकारविहीनताकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार गति लिन नसकेको स्पष्ट गर्नुभएको हो । मुख्यमन्त्री यादवले जनतासँग प्रत्यक्ष जोडिने सबैभन्दा नजिकको सरकार प्रदेश भएपनि आवश्यक कानूनी तथा संरचनागत अधिकारको अभावमा कार्यसम्पादनमा जटिलता खडा भएको उल्लेख गर्नुभयो । संविधानको परिकल्पनाअनुसार प्रदेशलाई स्वायत्तता र अधिकार नदिइँदा नागरिकले पाउनुपर्ने आधारभूत सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको उहाँको भनाइ छ ।
विशेषगरी प्रदेश प्रहरी समायोजनको विषयलाई प्राथमिकताका साथ उठाउँदै मुख्यमन्त्री यादवले संघीय सरकारको उदासीनताप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँकाअनुसार प्रहरी समायोजनसम्बन्धी आवश्यक मस्यौदा वि.सं. २०७५ सालमै तयार गरी संघीय सरकारसमक्ष पठाइए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । संवैधानिक अधिकार प्राप्तिका लागि संघीय सरकारसँग संवाद र समन्वय नै प्रमुख माध्यम भएको भन्दै उहाँले आसन्न दशैँ–तिहार पर्वलगत्तै यस विषयमा केन्द्र सरकारसँग ठोस वार्ता अगाडि बढाउने जानकारी दिनुभयो । अधिकार सम्पन्न भएपछि मात्र प्रदेश सरकारले शान्ति सुरक्षा र विकास निर्माणमा जनअपेक्षित नतिजा दिन सक्ने उहाँले जिकिर गर्नुभयो ।
मधेस प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरीले गौरवशाली इतिहास बोकेको स्मरण गराउनु भयो । उहाँले शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धान र नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा जनशक्तिको सीमितता र प्रतिकूल परिस्थितिका बीच पनि प्रहरीले कर्तव्यनिष्ठ भएर सेवा गरिरहेको बताउनु भयो ।
कार्यक्रममा कार्यसम्पादनका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेस प्रदेशको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै औपचारिक रूपमा सम्मान गरिएको थियो ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा