शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले ‘नयाँ युगको सुरुवात’ नारासहित आगामी फागुन १ गतेदेखि नेपाल फुटबल लिग सुरु गर्ने जानकारी दिएको छ। लिगको नेतृत्व कल्याण गुरुङले गर्नेछन् भने प्रतियोगिताको कमिसनरमा राजु घिसिङलाई नियुक्त गरिएको छ।
गुरुङ नेपाल सुपर लिगको फ्रेन्चाइज टोली ललितपुर सिटी एफसीका मालिकसमेत हुन्। उनले एन्फा संकटमा रहेको र नेपाली फुटबलका प्रतियोगिता नियमित हुन नसकेको अवस्थामा निजी क्षेत्रबाट लिग सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले नयाँ प्रतियोगिता आयोजना गर्न नेपाल सुपर लिगसँग अनुमति लिएको दाबीसमेत गर्नुभयो।
यसअघि नेपाल स्पोर्ट्स म्यानेजमेन्टले गत जेठ ३ गते नेपाल सुपर लिगको तयारी पूरा भएको र भदौ २० गतेदेखि प्रतियोगिता सुरु हुने घोषणा गरेको थियो। सोही दिन राजु घिसिङलाई एनएसएलको प्रबन्ध निर्देशकको जिम्मेवारीसमेत दिइएको थियो। तर, घोषित प्रतियोगिता आयोजना हुन सकेन र त्यसबारे आयोजकले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन।
अहिले भने घिसिङलाई नै कमिसनर नियुक्त गर्दै नयाँ नाममा नेपाल फुटबल लिग सञ्चालन गर्ने घोषणा गरिएको हो। घिसिङले एन्फामाथिको निलम्बन फुकुवा भएपछि प्रतियोगितालाई आधिकारिक मान्यता दिलाउने दाबी गर्नुभएको छ। एन्फा निलम्बनमा परेपछि एनएसएलको प्रक्रिया अघि बढ्न नसकेको उहाँको भनाइ छ।
सात टोलीबाट सुरु गर्ने तयारी
नयाँ लिगमा काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी, झापा एफसी र ललितपुर सिटी एफसी सहभागी हुने आयोजकले जनाएको छ। टोलीको संख्या बढाएर १० वटासम्म पुर्याउने योजना पनि सार्वजनिक गरिएको छ।
प्रतियोगिताका कमिसनर घिसिङका अनुसार लिग करिब चार महिनासम्म सञ्चालन हुनेछ। खेलहरू होम एन्ड अवे प्रणालीमा खेलाइनेछन्।
एफसी चितवनका मालिक सचिन ढकालले नेपाली फुटबल ठप्पजस्तै भएको अवस्थामा सात टोली मिलेर प्रतियोगिता अघि बढाउन लागेको बताउनुभयो। उहाँले नेपाल सुपर लिग र नेपाल फुटबल लिग दुवै आयोजना हुन सक्ने विश्वास व्यक्त गर्दै प्रतियोगिता सञ्चालनका क्रममा आउने अवरोध समाधान गर्दै जाने बताउनुभयो।
एन्फाको संकटबीच निजी क्षेत्रको पहल
नेपाली फुटबलको नियामक निकाय एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनमा रहेको अवस्थामा नयाँ लिगको घोषणा गरिएको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले एन्फामाथि कारबाही गरेको आयोजक पक्षको भनाइ छ। यसैबीच, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङसँग सम्बन्धित भ्रष्टाचारको विषय पनि चर्चामा छ।
आधिकारिक निकायको स्वीकृति र प्राविधिक सहकार्यबिना घोषणा गरिएको नयाँ लिगले नेपाली फुटबलमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन। आयोजकले प्रतियोगिता सञ्चालन गर्ने दाबी गरे पनि यसको आधिकारिक मान्यता, व्यवस्थापन र सञ्चालनसम्बन्धी विषयमा थप स्पष्टता आवश्यक देखिन्छ।







प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा
म्युचुअल फण्डमा नयाँ लगानीका ढोका
साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा
मिथिलाको सांस्कृतिक धरोहर झिझिया, तान्त्रिक
चुम नुब्री, धार्चे, आरुघाट, त्रिपुरासुन्दरी,
सांसद खगेन्द्र सुनारबारे सरकार :