नेपालीहरूको महान् पर्व बडादशैँको आज सातौं दिन । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु हुने नवरात्रमा नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिन्छ । घरघरमा जमरा राखेर दुर्गा सप्तशती पाठ गर्ने, शक्तिस्वरूपा भगवतीको स्तुति गर्ने र विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने हाम्रो सनातन परम्परा हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुष्टतामाथि शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादशैँ धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले उत्तिकै महत्वपूर्ण पर्व हो ।
धार्मिक मान्यतानुसार भगवान् श्रीरामले रावणको वध गरी विजय हासिल गरेको दिनलाई विजयादशमीका रूपमा मनाइन्छ । त्यसैगरी, देवी दुर्गाले महिषासुरको वध गरी देवता तथा समस्त लोकलाई भयमुक्त बनाएको प्रसंग यस पर्वसँग जोडिएको छ । यी पौराणिक सन्दर्भले सत्य, धर्म, साहस र न्यायको पक्षमा उभिनुपर्ने सन्देश दिन्छन् । त्यसैले बडादशैँ केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन, जीवनमा सकारात्मकता, सद्भाव र नैतिकताको महत्व स्मरण गराउने अवसरसमेत हो ।
नेपालमा परम्परागत रूपमा चैतेदशैँ र बडादशैँ मनाउने चलन छ । यद्यपि, शरद ऋतुमा मनाइने बडादशैँले नेपाली समाजमा विशेष महत्व र व्यापकता पाएको छ । वर्षायाम सकिएर मौसम अनुकूल हुँदै जाने, खेतबारीमा हरियाली छाउने र प्रकृति रमणीय बन्ने समयमा पर्ने भएकाले यस पर्वको छुट्टै आकर्षण छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिलाई दशैँपर्वका रूपमा लिने गरिन्छ । यस अवधिमा धार्मिक अनुष्ठान, पारिवारिक भेटघाट, सामाजिक मेलमिलाप र सांस्कृतिक गतिविधिले नेपाली समाजलाई उत्सवमय बनाउने गर्छन् ।
दशैँको अर्को विशिष्ट पक्ष यसको सामाजिक र पारिवारिक महत्व हो । रोजगारी, अध्ययन र विभिन्न अवसरको खोजीमा देशका अन्य सहर तथा विदेशमा पुगेका नेपालीहरू सकेसम्म दशैँमा घर फर्किने गर्छन् । लामो समयदेखि भेटघाट हुन नपाएका परिवारका सदस्य, आफन्त, साथीभाइ र गाउँलेहरू एकै ठाउँमा भेला हुने अवसर यही पर्वले प्रदान गर्छ ।
मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने, परिवारसँगै बसेर मीठोमसिनो खाने तथा आपसी दुःखसुख साटासाट गर्ने परम्पराले यस पर्वलाई थप आत्मीय बनाएको छ । सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने, पुस्ताबीच सांस्कृतिक हस्तान्तरण गर्ने र पारिवारिक एकता कायम राख्ने दृष्टिले बडादशैँको महत्व उल्लेखनीय छ ।
ऐतिहासिक रूपमा पनि दशैँसँग विभिन्न परम्परा र संस्कार जोडिएका छन् । फूलपातीका दिन गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा बाजागाजासहित भित्राउने परम्परा यसको एउटा उदाहरण हो । राज्यको शक्ति, धार्मिक आस्था र ऐतिहासिक विरासतसँग जोडिएको यस परम्पराले दशैँको सांस्कृतिक महत्वलाई झल्काउँछ । समयक्रममा पर्व मनाउने शैली र सामाजिक परिवेशमा परिवर्तन आए पनि यसको मूल भावना भने आपसी सद्भाव, पारिवारिक मिलन र शुभकामना आदानप्रदानमै केन्द्रित रहनुपर्छ ।
तर, यस वर्षको बडादशैँ विगतका वर्षमा जस्तो उल्लासपूर्ण वातावरणमा मनाउने अवस्था छैन । पछिल्ला वर्षहरूमा दशैँको मुखमा हुने अतिवृष्टि, बाढीपहिरो र अन्य प्राकृतिक विपत्तिले जनजीवन प्रभावित हुँदै आएको छ । विशेषगरी २०८१ सालको बाढीपहिरोले सडक, पुल, बस्ती तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि पनि वर्षायाममा भएका विपत्तिका कारण सर्वसाधारणले अनेकौँ कठिनाइ भोग्नुपरेको छ । दशैँमा घर फर्किने यात्रुहरू सडक अवरुद्ध हुँदा बाटोमै रोकिनुपर्ने, जोखिमपूर्ण यात्रा गर्नुपर्ने र कतिपयले आफ्ना प्रियजन गुमाउनुपर्ने अवस्था सिर्जना हुनु दुःखद् पक्ष हो ।
यस वर्ष भएका प्राकृतिक विपत्तिले त झन् गम्भीर पीडा थपेका छन् । हिमाली क्षेत्रमा आएको हिमपहिरो तथा त्यसबाट उत्पन्न बाढीले भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रहरूमा ठूलो जनधनको क्षति पुर्याएको छ । बस्ती, सडक, पुल तथा अन्य संरचना क्षतिग्रस्त भएका छन् भने कतिपय परिवार विस्थापित हुन पुगेका छन् । त्यसैगरी, बुढीगण्डकी क्षेत्रमा आएको बाढीले स्थानीय बासिन्दाको जनजीवनमा गम्भीर असर पारेको छ । लेदोसहितको बाढी र पहिरोले पुर्याएको क्षति, घरबारविहीन भएका परिवारको पीडा तथा आफन्त गुमाएकाहरूको शोकले यस वर्षको दशैँलाई स्वाभाविक रूपमा प्रभावित बनाएको छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको यो दुःख कुनै एउटा क्षेत्र वा समुदायमा मात्र सीमित छैन । प्रभावित परिवारको पीडा समग्र समाजकै पीडा हो । यस्तो अवस्थामा पर्वको नाममा अत्यधिक खर्च गर्ने, तडकभडक प्रदर्शन गर्ने र अनावश्यक प्रतिस्पर्धामा उत्रिने प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ । दशैँको वास्तविक खुशी अरूलाई देखाउन गरिने खर्च र आडम्बरमा होइन, परिवार तथा समाजसँगको आत्मीयता, आपसी सहयोग र मानवीय संवेदनामा निहित हुन्छ । विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु, विस्थापित परिवारको पुनःस्थापनामा साथ दिनु र दुःखमा परेकाहरूलाई सान्त्वना दिनु यस पर्वको मानवीय सन्देशसँग मेल खाने कार्य हुन् ।
एकातिर राष्ट्रिय शोक र प्राकृतिक विपत्तिले सिर्जना गरेको पीडा छ भने अर्कातिर परम्परालाई निरन्तरता दिनुपर्ने सांस्कृतिक दायित्व छ । यस्तो परिस्थितिमा दशैँ मनाउने कि नमनाउने भन्नेभन्दा पनि कसरी मनाउने भन्ने विषय महŒवपूर्ण हुन्छ । पर्वलाई पूर्णतः निरुत्साहित गर्नुभन्दा परिस्थिति र संवेदनशीलतालाई ध्यानमा राखेर सामान्य, मर्यादित र संयमित ढंगले मनाउनु उपयुक्त हुन्छ । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने, बालबालिकालाई संस्कार–परम्पराबारे सिकाउने, आफन्त र छिमेकीसँग आत्मीयता बढाउने कामलाई प्राथमिकता दिनुपर्छ । उल्लासको नाममा अरूको पीडा बिर्सने वा देखावटी प्रतिस्पर्धामा लाग्ने प्रवृत्तिबाट सबै सचेत रहनुपर्छ ।
बडादशैँले हामीलाई असत्यमाथि सत्यको विजयको सन्देश दिन्छ । आजको सन्दर्भमा यस सन्देशलाई सामाजिक अन्याय, विभेद, गरिबी, असमानता र निराशाविरुद्धको सामूहिक संकल्पका रूपमा पनि ग्रहण गर्न सकिन्छ । समाजमा आपसी वैमनस्य बढाउनेभन्दा सद्भाव कायम गर्ने, विभाजन सिर्जना गर्नेभन्दा एकता बलियो बनाउने र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिने संस्कार विकास गर्न सकेमात्र पर्वको वास्तविक मर्म आत्मसात् गरेको ठहरिनेछ ।
यस वर्षको बडादशैँ हामी सबैका लागि आत्ममन्थन, संयम र मानवीय संवेदनाको अवसर बनोस् । विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरौं । घाइते, विस्थापित र प्रभावित नागरिकको पीडामा सक्दो सहयोग पुर्याऔं । खुशी बाँड्ने क्रममा दुःखमा परेका मानिसलाई नबिर्सौं । परम्पराको संरक्षण गर्दै समय र परिस्थिति अनुसार पर्व मनाउने संस्कार विकास गरौं ।
नेपालीहरूको महान् पर्व बडादशैँ २०८३ का अवसरमा हाम्रा सम्पूर्ण ग्राहक, विज्ञापनदाता, पाठक, शुभचिन्तक, कर्मचारी, पत्रकार तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै, निकट भविष्यमा मनाइने दीपावली, छठ, इदलगायत सम्पूर्ण चाडपर्वका अवसरमा पनि सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भावको कामना गर्दछौं । विपत्तिको पीडामा सहारा बनौं, परम्पराको सम्मान गरौं र संयम, सद्भाव तथा मानवीय संवेदनासहित बडादशैँ मनाऔं ।







कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा