काठमाडाैं । मानिसहरू रोजगारीका लागि गाउँ छाड्छन् । कोही पढ्न शहर पस्छन् । गाउँ–शहरमात्रै होइन, अझै राम्रो अवसर, रोजगारी र शिक्षाको खोजीमा उनीहरू देशै छोडेर विदेशसम्म पुग्छन् । जीवन चलाउन र भविष्य बनाउन हिँडेकाहरू केही समय घरपरिवारबाट टाढा हुन्छन् । तर, वर्ष दिनमा आउने दशैँले भने उनीहरूलाई फेरि आफ्नै थातथलो सम्झाउँछ र घर फर्किन्छन् । अहिले काठमाडौं उपत्यकामा यस्तै दृश्य देखिन्छ ।
उपत्यकाका बसपार्क र बाहिरिने नाकाहरूमा गाउँ फर्किने यात्रुको चहलपहल छ । राजधानीमा बस्दै आएका र केही विदेशबाट फर्केकाहरूसमेत झोला र सामान बोकेर आफ्नो गाउँ फर्किरहेका छन् । शहरमा दैनिक काम र जिम्मेवारीले व्यस्त जीवन बिताउने मानिसलाई दशैँँले केही समय परिवारका लागि छुट्याउने अवसर दिन्छ । विशेषगरी वृद्ध आमाबुबाका लागि छोराछोरी घर फर्किनु नै ठूलो खुसी बन्ने गर्छ ।
दशैँमा धेरैजना गाउँ फर्किन थाले पनि प्रायः सधैंझैं यसपालि पनि यात्रा सहज छैन । यात्रुको चाप बढ्दा टिकट पाउन कठिन भएको छ । भाडा पनि महँगिएको यात्रुहरूको गुनासो छ । परिवार र बालबालिकासहित यात्रा गर्दा खर्च थपिन्छ । सवारीसाधनमा भिड हुँदा यात्रा झन् झन्झटिलो बन्ने गरेको हो । शहरमा कमाएको आम्दानीको ठूलो हिस्सा घरखर्च, पढाइ र दैनिक आवश्यकतामै सकिन्छ । दशैँँका लागि थप खर्च जुटाउनु पनि कतिपय परिवारका लागि चुनौती हुन्छ । तर, आफ्नो क्षमताअनुसार चाड मनाउने र परिवारसँग भेट्ने चाहनाले उनीहरूलाई गाउँतर्फ डो¥याउँछ ।
पाँच दिनमै चार लाख यात्रु बाहिरिए
दशैँँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ । घटस्थापनादेखि शुक्रबार दिउँसोसम्म करिब चार लाख यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ गतेदेखि २९ गतेसम्म बाहिरिने यात्रुको संख्या निरन्तर बढेको देखिन्छ । असोज २५ गते ५२ हजार ८२७ जनाले उपत्यका छाडेका थिए । असोज २६ गते यो संख्या बढेर ५६ हजार ८०९ पुग्यो । असोज २७ गते ७८ हजार १३८ र असोज २८ गते ७४ हजार ९७९ जना बाहिरिएका थिए । असोज २९ गते भने एकै दिन ८५ हजार ५६१ जना यात्रुले उपत्यका छाडेका हुन् ।
जडीबुटीस्थित अरनिको बसपार्क, नयाँ बसपार्क, कलंकी र कोटेश्वर क्षेत्रमा गाउँ फर्किने यात्रुको भिड छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडा नाका हुँदै मानिसहरू बाहिरिरहेका छन् । उपत्यका छाड्ने यात्रुको चाप बढेसँगै सडकमा सवारीसाधनको आवागमन पनि बाक्लिएको छ । यात्रुको चाप बढ्दै गएपछि सम्बन्धित निकायले सुरक्षित यात्रा गर्न आग्रह गरेका छन् । यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भाडा तिर्न अनुरोध गरिएको छ । घर पुग्ने उत्साहसँगै यात्रुमा सडकको अवस्थाबारे चिन्ता पनि छ । कमजोर सडक संरचना, ट्राफिक जाम, पहिरो र बाढीका कारण यात्रा जोखिमपूर्ण बन्न सक्ने उनीहरूको चिन्ता छ ।
१० लाखसम्म यात्रु बाहिरिने अनुमान
यसपालिको दशैँमा करिब १० लाख मानिसहरू उपत्यकाबाट बाहिरिने अनुमान छ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलका अनुसार ‘२०८३ सालको दशैँँ पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापनसम्बन्धी प्रतिवेदन’ले दशैँँमा सार्वजनिक यातायातमार्फत्् उपत्यका छाड्ने यात्रुको संख्या न्यूनतम ६ लाख ५० हजारदेखि अधिकतम नौ लाख ७५ हजारसम्म पुग्ने अनुमान गरेको हो ।
प्रतिवेदनअनुसार यात्रुलाई गन्तव्यमा पु¥याउन न्यूनतम ४३ हजारदेखि अधिकतम ६५ हजारसम्म सार्वजनिक सवारीसाधनका ट्रिप आवश्यक पर्नेछन् । प्रतिवेदनअनुसार ठूला बसले ४८ प्रतिशतभन्दा बढी यात्रु ओसार्नेछन् । माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले नौ प्रतिशत यात्रु बोक्ने अनुमान छ । असोज ३१ गते फूलपातीदेखि कात्तिक २ गते अष्टमीसम्म यात्रुको चाप सबैभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । फूलपातीका दिनमात्रै न्यूनतम ७५ हजार ५२२ देखि अधिकतम एक लाख १३ हजार २८३ जनासम्मले यात्रा गर्ने अनुमान छ ।
प्रमुख दलहरूले यसपालि दशैँँ–तिहारमा चियापान नगर्ने
बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण प्रमुख राजनीतिक दलहरूले यो वर्ष विगतमा जस्तो दशैँँ, तिहार र छठ पर्वका अवसरमा औपचारिक रूपमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम नगर्ने भएका छन् । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), दोस्रो दल नेपाली कांग्रेस, तेस्रो दल नेकपा एमाले र चौथो दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलले यो पटक दशैँँ–तिहार र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदानका औपचारिक कार्यक्रम नगर्ने भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले दशैँँ–तिहारका अवसरमा शुभकामना तथा चियापान गर्ने, नगर्नेबारे शुक्रबारसम्म कुनै निर्णय नभएको बताउनुभयो । खरेलका अनुसार प्रदेश र जिल्लास्तरमा भने चियापान र शुभकामना आदानप्रदान गर्न कुनै रोकावट गरिएको छैन । पार्टी स्थापना भएकै वर्ष २०७९ सालमा भने रास्वपाले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि यस वर्ष चियापान तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय नभएको कांग्रेस नेता देवराज चालिसेले बताउनुभयो । अर्को दल नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पनि पार्टीले यो वर्ष चियापान र शुभकामना कार्यक्रम आयोजना गर्ने, नगर्नेबारे कुनै निर्णय नभएको बताउनुभयो । एमालेले झण्डै तीन दशकअघि मनमोहन अधिकारी अध्यक्ष भएको समयदेखि दशैँँ, तिहार र छठ पर्वको अवसरमा दशैँँको पूर्णिमाका दिन पार्टी कार्यालयमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको थियो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले यो वर्ष भोटेकोशी, बूढीगण्डकीलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण केन्द्रमा दशैँँ–तिहारमा शुभकामना आदानप्रदान नगर्ने निर्णय भएको बताउनुभयो । गत भदौ १० गते चीनको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीबाट झण्डै एक हजार ४२७ जनाको निधन भएको छ भने चार हजारभन्दा बढी अझै बेपत्ता छन् । बाढीपहिरोबाट हजारौँ नागरिक घरबारविहीन बनेका छन् । बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीलगायतका जिल्ला प्रभावित बनेका थिए ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं