अन्तर्राष्ट्रिय । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले हावामा उफ्रिन, आकाशमै पल्टिन र पुनः आफ्नै पाङ्ग्रामा अवतरण गर्न सक्ने प्रविधिसहितको नयाँ रोडस्टर कार प्रदर्शन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले स्पेसएक्सको प्रविधि प्रयोग गरिएको उक्त कार सन् २०२८ देखि उत्पादन गर्ने घोषणा गर्नुभएको छ ।
अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा मस्कले नयाँ पुस्ताको रोडस्टर कार सार्वजनिक गर्नुभएको हो । टेस्लाको आधिकारिक एक्स खाताबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा कारको असाधारण क्षमतासमेत प्रदर्शन गरिएको थियो ।
प्रदर्शनका क्रममा कार घुमाउरो र्याम्पमा गुड्दै माथि पुगेको थियो । विशेष सक्सन प्रणालीको सहायताले उल्टो अवस्थामा समेत र्याम्पमा अडिएको कार त्यसपछि हावामा उफ्रिएर पल्टिएको थियो । अन्ततः कार आफ्नै पाङ्ग्रामा अवतरण गरेको थियो। अर्को प्रदर्शनमा कारले टेस्लाका अन्य सवारीसाधनमाथिबाट छलाङ मारेको दृश्यसमेत देखाइएको थियो ।
प्रदर्शनपछि मस्कले भविष्यमा उड्ने कार वास्तविकतामा परिणत हुने बताउनुभयो । स्पेसएक्स र टेस्लाका इन्जिनियरहरूले संयुक्त रूपमा विकास गरेको प्रविधिले कारलाई रकेटजस्तै हावामा उफ्रिन र हावामै आफ्नो दिशा परिवर्तन गर्न सक्ने उहाँको भनाइ थियो ।
हावाको चापबाट उफ्रिने प्रविधि
टेस्लाका अनुसार नयाँ रोडस्टरमा अत्यधिक उच्च चापमा हावा भण्डारण गर्ने ट्याङ्की र १० वटा नोजल जडान गरिएको छ । ती नोजलबाट उच्च चापको हावा बाहिर निकालेर कारलाई हावामा उफार्न र हावामै घुमाउन सकिने प्रविधि विकास गरिएको छ ।
यसमा रकेट प्रविधिबाट प्रेरित प्रणाली प्रयोग गरिए पनि प्रदर्शनमा प्रयोग गरिएको प्रणालीले हावाको चापलाई उपयोग गर्छ । कारको तल्लो भागमा जडान गरिएको फ्यानमा आधारित सक्सन प्रणालीले कारलाई सतहमा बलियोसँग अड्याउनसमेत मद्दत गर्ने कम्पनीले जनाएको छ ।
टेस्लाका सवारीसाधन इन्जिनियरिङ प्रमुख लार्स मोराभीका अनुसार नयाँ कारले शून्यदेखि प्रतिघण्टा ६० माइल अर्थात् करिब ९७ किलोमिटरको गति एक सेकेन्डभन्दा कम समयमा हासिल गर्न सक्ने लक्ष्य राखिएको छ ।
तर, सडकमा उड्ने कार भने होइन
कारले हावामा छलाङ मार्नु र विमानजस्तै निरन्तर उडिरहनु फरक कुरा हुन् । सार्वजनिक गरिएको प्रदर्शनले कार छोटो समय हावामा उफ्रिएर विभिन्न चाल प्रदर्शन गर्न सक्ने देखाए पनि यसले विमानजस्तै निरन्तर उडान गर्न सक्ने प्रमाणित गर्दैन ।
मस्कले पनि यस्तो कार सबै क्षेत्रमा कानुनी रूपमा सञ्चालन गर्न मिल्नेमा निश्चित नरहेको बताउनुभएको छ। कारको सुरक्षा, व्यावहारिक प्रयोग र नियामकीय स्वीकृतिसम्बन्धी चुनौती अझै महत्त्वपूर्ण छन् ।
प्रदर्शनमा कारलाई टाढाबाट नियन्त्रण गरिएको थियो। यसले चालकलाई जोखिममा नराखी असामान्य चाल प्रदर्शन गर्न सहयोग गरेको कम्पनीको भनाइ छ ।
नौ वर्षदेखि प्रतीक्षामा रोडस्टर
टेस्लाले दोस्रो पुस्ताको रोडस्टरको अवधारणा सन् २०१७ मै सार्वजनिक गरेको थियो । तर, यसको उत्पादन योजनाले पटकपटक ढिलाइ बेहोर्दै आएको छ। पछिल्लो प्रदर्शनसँगै कम्पनीले सन् २०२८ मा उत्पादन सुरु गर्ने लक्ष्य पुनः अघि सारेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेस्लाले रोडस्टरका विभिन्न संस्करण ल्याउने योजना बनाएको छ । सामान्य सडकमा चलाउन मिल्ने संस्करणसँगै थप थ्रस्टर प्रविधि जडित संस्करण पनि प्रस्ताव गरिएको छ। पूर्ण उडान प्रणाली भएको विशेष संस्करण भने निमन्त्रणाका आधारमा उपलब्ध गराउने योजना छ ।
यस कारको सार्वजनिक प्रदर्शनले विद्युतीय सवारीसाधनको प्रविधिमा नयाँ सम्भावनाको चर्चा बढाएको छ। यद्यपि, उत्पादन सुरु हुने समय, वास्तविक कार्यक्षमता र सर्वसाधारणका लागि यसको उपलब्धता भने आगामी दिनमा स्पष्ट हुनेछ ।







भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न