काठमाडौँ, असोज ३१ । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताउनुभएको छ। उहाँले नागरिकको सुखद जीविका, देशको समृद्धि र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको छ।
बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव, उमङ्ग र खुसी ल्याओस् भन्ने कामना गर्नुभएको छ।
उहाँले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा व्याख्या गर्नुभएको छ। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कारलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ छ।
विभिन्न सङ्कटपूर्ण परिस्थितिमा पनि नेपालीले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी दिनुभएको छ।
प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा उल्लेख गर्नुभएको छ। उहाँले सबैलाई सत्यको मार्गमा अघि बढ्न र आफूभित्र रहेका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न दसैँले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।
काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय दुःखका कारणमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक रूपमा खराब प्रवृत्तिको अन्त्य र आत्मिक रूपमा सकारात्मक सोचको विकास हुनुपर्ने सन्देश दिनुभएको छ।
शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले रोजगारी तथा आर्थिक अवसरको अभावमा विदेशिन बाध्य नेपालीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ। चाडपर्वका बेला परिवारसँग भेटघाट गर्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको नियति बदल्न सबैको सहकार्य आवश्यक रहेको उहाँले बताउनुभएको छ।
आर्थिक अभावका कारण कसैले पनि दसैँ मनाउन कठिनाइ भोग्न नपरोस् भन्ने भाव व्यक्त गर्दै उहाँले देशको समृद्धि, नागरिकको सुखद जीविका र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभएको छ।
अन्त्यमा प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्ने कामना गर्दै सभ्य, भव्य र उल्लासमय रूपमा बडादसैँ मनाउन सम्पूर्ण नेपालीमा आग्रह गर्नुभएको छ।




जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक
रास्वपाका उम्मेदवार बन्न वैवाहिक अवस्था,
नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता