काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) का पछिल्ला दुई संस्करणमा गरिएको कामका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त गर्न सफल भएको बताउनुभएको छ।
शनिबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सञ्चारकर्मीसँग कुरा गर्दै एनपीएल गभर्निङ काउन्सिलका प्रमुखसमेत रहनुभएका खड्काले विगतमा गरिएको कामले आईसीसीलाई विश्वास दिलाउन सहयोग गरेको बताउनुभयो।
आईसीसीबाट प्राप्त स्वीकृति एक वर्षका लागि मात्र रहेको उल्लेख गर्दै उहाँले यसले क्यानको जिम्मेवारीसमेत बढाएको बताउनुभयो। आईसीसीको स्वीकृतिपछि फ्रेन्चाइज टोलीले टेस्ट खेल्ने राष्ट्रका चर्चित खेलाडीलाई एनपीएलमा ल्याउन सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।
खड्काका अनुसार आईसीसीको स्वीकृतिका लागि पेस गरिएको आवेदनमा प्रत्येक टोलीले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान समावेश गरिएको छ। यसअघिका दुई संस्करणमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था थियो। एसोसिएट राष्ट्रको क्रिकेट प्रवर्द्धनका लागि त्यस्ता राष्ट्रका एक खेलाडीलाई टोलीमा समावेश गर्न सकिने प्रावधान पनि रहेको उहाँले जानकारी दिनुभयो।
उहाँले प्रत्येक टोलीले ७ नेपाली खेलाडी र चार विदेशी खेलाडी मैदानमा उतार्न पाउने बताउनुभयो। भविष्यमा आईसीसीको स्वीकृति समयमै प्राप्त गर्न सके फ्रेन्चाइज टोलीलाई खेलाडी छनोट तथा अनुबन्धनमा सहज हुने उहाँको विश्वास छ।
खड्काका अनुसार प्रतियोगिता सकिएको ६० दिनभित्र आईसीसीलाई आवश्यक प्रतिवेदन बुझाउनुपर्ने र अर्को संस्करणका लागि पुनः आवेदन दिनुपर्ने व्यवस्था छ।
फ्रेन्चाइज टोलीको आर्थिक अवस्थाबारे चर्चा गर्दै उहाँले स्तरीय खेलाडी भित्र्याउन कम्तीमा दुई हजार अमेरिकी डलरसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। तर, अहिले फ्रेन्चाइज टोलीहरू आर्थिक रूपमा त्यस्तो खर्च गर्न सक्ने अवस्थामा नरहेको उहाँको भनाइ छ।
यद्यपि, सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई चर्चित खेलाडीलाई प्रतियोगितामा सहभागी गराउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो। एनपीएलमा आईसीसीको प्यानलका कमेन्टेटर ल्याउने तयारी भइरहेको पनि खड्काले बताउनुभयो।
डीआरएस र पूर्वाधार सुधारमा जोड
एनपीएलमा निर्णय समीक्षा प्रणाली (डीआरएस) राख्ने विषयमा अझै अन्तिम निर्णय भइनसकेको खड्काले बताउनुभयो। यद्यपि, त्यसको कार्यान्वयन प्रक्रिया नजिक पुगेको उहाँको भनाइ छ।
यसपटक पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो। यू–१९ महिला विश्वकपका लागि नेपालको तयारीको अवस्था निरीक्षण गर्न आईसीसीको टोली एक महिनाअघि मैदानमा आएको थियो। उक्त टोलीले दिएको निर्देशनअनुसार पूर्वाधार स्तरोन्नतिको काम गरिएको खड्काले बताउनुभयो।
मैदानमा दर्शकको क्षमता पनि केही बढाउन सकिने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो। सबै व्यवस्था मिलाउँदा मैदानमा करिब १२ हजार दर्शक अटाउन सक्ने उहाँको भनाइ छ।






रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान
न्यायाधीश बम हत्याका दोषी बाबु
बाढी प्रभावित बालबालिकाको संरक्षणका लागि
आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब