ओमानको अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा नेपालका युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। करण केसीले अविजित १७ रन जोड्दै अन्तिमसम्म संघर्ष गरे पनि अन्य ब्याटरबाट पर्याप्त साथ नपाउँदा नेपालले हार बेहोर्नुपर्यो।
लिग–२ मा सुरुआती दुई खेल जितेर शीर्ष ६ मा पर्ने सम्भावना बलियो बनाएको नेपाल यो हारपछि अंकतालिकामा सातौँ स्थानमा झरेको छ। लिगका सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।
नेपालले अब शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ। लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता कायम राख्ने अवसर पाउने भएकाले नेपालका लागि अन्तिम खेल निर्णायक बनेको छ।
नेपाल यसअघि नै शीर्ष चारको दौडबाट बाहिरिसकेको छ। त्यसैले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल नेपालले अब विश्वकप छनोटमा पुग्न प्लेअफ क्वालिफायरको बाटो लिनुपर्नेछ।
टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २५६ रन बनाएको थियो। उसका ओपनर युबराज सम्राले शतकीय इनिङ्स खेले। उनले ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए।
अर्का ओपनर आरोन जोन्सले ३६ रन जोडे। पहिलो विकेटका लागि सम्रा र जोन्सबीच ७२ रनको साझेदारी भएको थियो। हर्ष थाकरले ३४ तथा कप्तान हम्जा तारिकले ३० रन बनाए। समित गोहेलले १७ र आदित्य बरदाराजनले १२ रनको योगदान दिए।
ठूलो स्कोरतर्फ अघि बढिरहेको क्यानडालाई नेपाली स्पिनरले दबाबमा राखेका थिए। क्यानडाका सबै १० विकेट नेपाली स्पिनरले लिए। नेपालका लागि ललित राजवंशीले १० ओभरमा एक मेडन राख्दै ३९ रन खर्चेर सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेलले एक विकेट हात पारे।
२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट प्रदर्शन गरे। उनले ११२ बलमा चार चौकासहित ८७ रन बनाए। ओडीआईमा पहिलो शतक बनाउनबाट १३ रनले चुकेका अर्जुनले ४१ ओभरसम्म क्रिजमा टिकेर नेपालको इनिङ्स सम्हालेका थिए।
तर उनलाई अन्य ब्याटरले लामो समय साथ दिन सकेनन्। अर्जुन आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदै लक्ष्यबाट टाढियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए। करण केसी १७ रनमा अविजित रहे।
अन्तिमतिर करणले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरे पनि नेपाल ४६औँ ओभरमै अलआउट भयो। क्यानडाका शिल पटेलले नन्दन यादव र ललित राजवंशीलाई आउट गरे भने सन्दीप लामिछाने रनआउट भए।
क्यानडाका लागि सुदजिन्दर सिंहले तीन तथा कलिम साना र शिल पटेलले समान दुई विकेट लिए।






दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,
देशका हिमाली र पहाडी भूभागमा
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर
कति छ आज विदेशी मुद्राको