म्याग्दी । पश्चिम म्याग्दीका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख सडक बेनी-दरबाङ सडकखण्डको फापरखेतमा सुख्खा पहिरो खस्दा शनिबारदेखि यातायात अवरुद्ध भएको छ । दशैं नजिकिँदै गर्दा सडक बन्द भएपछि यात्रु तथा स्थानीयवासी थप सास्तीमा परेका छन् ।
बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा निरन्तर पहिरो खसिरहेको छ । पहिरो नरोकिएकाले तत्काल सडक मर्मत गरी यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । सडक आसपास पैदल हिँड्नसमेत जोखिम भएपछि स्थानीय प्रशासनले आवतजावत बन्द गराएको छ ।
सडक अवरुद्ध भएपछि पश्चिम म्याग्दी जाने सवारीसाधनले तातोपानी हुँदै बरंजाको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । सर्वसाधारणले भने पखेर हुँदै पुरानो झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरेका छन् । तर, पहिरोको जोखिमका कारण सडकको नियमित आवागमन सहज हुन नसककेको स्थानीयले बताएका छन् ।
तातोपानीका युवा सुदिप खत्रीका अनुसार पहिरो निरन्तर खसिरहेकाले तत्काल मर्मतको काम अघि बढाउन जोखिम छ । वैकल्पिक मार्गबारे यात्रुलाई जानकारी गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गर्दै पहिरोका कारण सडक तथा आसपासको क्षेत्र जोखिमपूर्ण रहेकाले आवतजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरी यातायात सञ्चालन गरिने बताउनुभएको छ ।
फापरखेतको पहिरो पश्चिम म्याग्दीका बासिन्दाका लागि नयाँ समस्या होइन । बेनी-दरबाङ सडकको मार्ग खोल्नुअघि नै रहेको पहिरो नियन्त्रणमा हालसम्म करोडौँ रुपैयाँ खर्च भइसकेको छ । तर, समस्या दोहोरिने क्रम रोकिएको छैन ।
वर्षायाममा सडक अवरुद्ध हुने समस्या झेल्दै आएका स्थानीयले हिउँदमा समेत सुख्खा पहिरोका कारण सास्ती बेहोर्नुपरेको छ । पहिरोको दीर्घकालीन समाधानका लागि पक्की पुल निर्माण गर्ने योजना अघि सारिए पनि प्रक्रिया सुस्त हुँदा त्यसले मूर्तरूप लिन सकेको छैन । संघीय तथा प्रदेश सरकारका मन्त्रीसहितको टोलीले स्थलगत अनुगमन गरे पनि निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
बेनी-दरबाङ सडक मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो । यही सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक आवागमनदेखि अत्यावश्यक सेवा तथा आर्थिक गतिविधिसम्म प्रभावित हुने जोखिम रहन्छ ।
दशैंको मुखमा फेरि सडक बन्द भएपछि फापरखेतको पहिरोले तत्कालीन आवागमन मात्र होइन, यसको दीर्घकालीन समाधानमाथि पनि प्रश्न उठाएको छ । वर्षौंदेखि करोडौँ खर्च हुँदा पनि नियन्त्रणमा आउन नसकेको पहिरोको स्थायी समाधान कहिले हुन्छ भन्ने प्रश्नको जवाफ भने अझै अनिश्चित छ ।







भारतीय युट्युबर ध्रुव राठी पक्राउ
काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र
रुसबाट ठूलो परिमाणमा डिजेल आयात
मतदाता नामावली अद्यावधिक : काभ्रेमा
खेतमा बेसार, किसानलाई बजारको चिन्ता
पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न