आइतबार आयोजित ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गतका विजेता घोषणा सभामा बोल्दै निरौलाले प्रत्येक उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन आग्रह गर्नुभएको हो ।
कार्यक्रममा नियमित रूपमा खरिद बिल लिने उपभोक्तामध्येबाट १६ जना सामान्य विजेता र एक जना मुख्य बम्पर विजेता घोषणा गरिएको थियो । कार्यक्रममा एक उपभोक्ताले ३ हजार रुपैयाँ बराबरको खरिद बिलमार्फत १० लाख रुपैयाँको मुख्य पुरस्कार जित्नुभएको छ ।
कार्यक्रममा बोल्दै निरौलाले करदाता प्रोत्साहन प्रणालीमा कुनै पनि प्रकारको पक्षपात वा व्यक्तिगत पहुँचले काम नगर्ने बताउनुभयो । उहाँले प्रविधिमा आधारित पारदर्शी प्रणालीमार्फत विजेता छनोट हुने गरेको उल्लेख गर्नुभयो ।
‘घोषणा भएका १६ जना विजेता र एक जना अहिलेसम्मकै ठूलो विजेता, जसले ३ हजार रुपैयाँको बिलबाट १० लाख रुपैयाँ जित्नुभएको छ । कति राम्रो ! सायद हामी पनि यो प्रक्रियामा सहभागी भएको भए जित्न सक्ने रहेछौँ,’ उहाँले भन्नुभयो ।
विजेता छनोटमा व्यक्तिगत चिनजान वा पहुँचभन्दा पनि प्रणालीले काम गर्ने उल्लेख गर्दै निरौलाले यस्तो कार्यक्रममा सहभागी हुन खरिद बिल लिनु आवश्यक रहेको बताउनुभयो ।
‘यहाँ कसैलाई हेरेर यो मान्छे मेरो हो, त्यो मान्छे तेरो हो भनेर होइन, व्यवस्थित रूपमा सिस्टमले काम गरिरहेको रहेछ । यो सिस्टममा सहभागी हुनका लागि हामीले बिल लिने काम गर्नुपर्ने रहेछ,’ उहाँले भन्नुभयो ।
उहाँले आम नागरिकलाई आजैदेखि सचेत भएर खरिद बिल लिने बानी बसाल्न आग्रह गर्दै भन्नुभयो, ‘आज सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो आग्रह छ, आजैदेखि तपाईंहरू पनि सचेत हुनुहोस् । बिल लिनुहोस्, पैसा कमाउनुहोस् ।’
निरौलाले दैनिक उपभोग्य वस्तु तथा सेवा खरिद गर्दा बिल माग्ने सामान्य बानीले पनि उपभोक्तालाई पुरस्कार जित्ने अवसर प्रदान गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउन योगदान पुर्याउने बताउनुभयो ।
३ हजार रुपैयाँको सामान्य कारोबारबाटै १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने उदाहरणले उपभोक्तालाई बिल लिन प्रोत्साहित गर्ने उहाँको भनाइ छ । उहाँले आम नागरिकलाई खरिद बिल लिने संस्कार विकास गरी वित्तीय अनुशासन कायम गर्न र पारदर्शी कर प्रणाली निर्माणमा सहयोग पुर्याउन अपिल गर्नुभयो ।







दुर्गा पक्षको दोस्रो दिन :
कति छ आज विदेशी मुद्राको
प्राचार्य कुटपिटमा सङ्लग्न पक्राउ
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता